१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

'एमालेले मधेसी जनतालाई भुलभुलैयामा पार्न खोज्दैछ'

स्थानीय तहको चुनावको मिति जतिजति नजिकिँदै छ। मधेस प्रदेशमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको दौडाहा त्यति नै बाक्लिदैं छ। जनता समाजवादी पार्टीको तागतको रूपमा रहेको मधेस प्रदेश जनसंख्या र मतदाताको हिसाबले ठूलो छ। त्यही भएर यहाँको मत राष्ट्रिय राजनीतिमा निर्णायक बन्दै आएको छ। यो प्रदेशमा सबै प्रमुख दलका शीर्ष नेताले मत मन्थनलाई तेज पारेका छन्। स्वभाविक रूपमा मधेस प्रदेशमा ठूलो दल जनता समाजवादी पार्टी आफ्नो साख कायम राख्न सम्पूर्ण तागत लगाइरहेको छ। चुनावी रणनीति बनाउन मधेस प्रदेशको राजधानी जनकपुरधाम आइपुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिककर्मी मिथिलेश यादवले गरेको कुराकानीः

मधेसको राजधानी जनकपुरधाममा तपाइँको दौडाहा बाक्लिएको छ नि?

जनकपुरधामको ऐतिहासिक पृष्ठभूमि छ। हजारौं वर्षको इतिहास बोकेको मिथिला सभ्यताको केन्द्र मात्र होइन, विद्वान्हरूको केन्द्र पनि हो। जनकपुरधाम देशको ऐतिहासिक सहर र मधेस प्रदेशको केन्द्र हो र, सांस्कृतिक धार्मिक सहर पनि हो। राजनीतिक रूपले मधेसको केन्द्र पनि हो। त्यसकारण मिथिलाको जुन गरिमा र महत्व छ त्यसलाई अलग गरेर हेर्न सकिँदैन। त्यसकारण यहाँ आउने जाने बस्ने क्रम स्वभाविक हो।

स्थानीय चुनाव नजिकिएसँगै तपाइँको मधेस दौडाहा बाक्लिएको छ नि?

चुनाव घोषणा भइसकेको छ। चुनावी प्रक्रियाहरू सुरु भैसकेका छन्। यस्तो अवस्थामा विभिन्न पार्टीका नेताहरू जनताबीचमा जानु स्वभाविकै कुरा हो। हामी पनि जनताका बीचमा गइरहेका छौं। हाम्रा लागि मधेस प्रदेश र यो मिथिला नगरी जनकपुरधाम अत्यन्त महत्वपूर्ण छ। प्राचिन सभ्यता एवं संस्कृति बोकेको मिथिला र मधेसलाई हामीले महत्वका साथ हेरिरहेका छौं। र, सोही अनुसार आफ्ना राजनीतिक गतिबिधि अगाडि बढाएका छौं।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँगै चुनावमा जान्छन्?

मुलकमा लोकतन्त्र र गणतन्त्र रक्षका लागि गठबन्धन बनाइएको हो। यो गठबन्धनले लोकतन्त्रलाई संस्थागत गर्ने कार्यमा अगाडि बढेको छ। विगतमा सम्पन्न भएको राष्ट्रिय सभामा पनि गठबन्धनले राम्रो परिणाम ल्याएको छ। हालै सम्पन्न बार एसोसिएसनको निर्वाचनमा गठबन्धनले अत्यन्तै राम्रो परिणाम ल्यायो। आसन्न स्थानीय तह निर्वाचनमा सम्भव भएसम्म गठबन्धन गरेर अघि बढ्ने हाम्रो पनि सोच छ। यद्यपी हामी एक्लै चुनाव लड्न तयार पनि छौं, सक्षम पनि छौं। गठबन्धनको मर्यादालाई कायम राख्दै सम्भव भएका ठाउँहरूमा तालमेल गरेरै चुनाव लड्नु उचित ठानेका छौं। सबै ठाउँमा सम्भव नहोला तर भएसम्मको हकमा हामी गठबन्धन गरेरै जाने पक्षमा छौं।

यो गठबन्धनको औचित्य नै सकिसक्यो भनेर प्रमुख प्रतिपक्षि दलका नेताको टिप्पणी छ नि?

मान्छेको सोच आफ्नो आफ्नो हो। तर यही ठठबन्धन हो जसले लोकतन्त्रको रक्षा गर्यो र प्रतिगमनलाई परास्त गर्‍यो। गठबन्धनकै कारण आज मुलुक सहज अवस्थामा आइपुगेको छ। प्रतिपक्षि वा प्रतिगमनका पक्षधर वा लोकतन्त्र विरोधि शक्तिहरूलाई त यो गठबन्धन पच्ने कुरै भएन।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जसपाका निर्वाचित जनप्रतिनिधिलाई धमाधम पार्टी प्रवेश गराउँदैछन्। मधेस नेकपा एमालेमय भैसक्यो भन्दैछन् नि?  

त्यस्ता निर्वाचित गैरनिर्वाचित कति हो कति हामीकहाँ प्रवेश भइरहेका छन्, सधैं। त्यो कुनैले अर्थ राख्दैन। अर्थपूर्ण कुरा के हो भने मधेसप्रतिको उहाँको दृष्टिकोण के? उहाँ नै हो स्वायत प्रदेशको विरोध गर्ने व्यक्ति। के उहाँले मधेसी जनतालाई बराबरको अधिकार दिलाउन सक्नुहुन्छ? मधेसी जनताको स्वायतता र स्वसाशनलाई प्रत्याभूति गराउन सक्नुहुन्छ?  

के उहाँले मधेसीहरूको सभ्यता र संस्कृतिलाई सम्मान गर्दै राष्ट्रिय पहिचान सहितको समावेशी समानुपातिक सहभागीताका लागि तयार हुनुहुन्छ? मधेसीहरूलाई संसद्, सरकार, कर्मचारीतन्त्र, शैन्यतन्त्रलगायतका सरकारी सेवामा हैसियत मुताबिक प्रतिनिधित्व गराउन सक्नुहुन्छ, नीति छ? छैन नि! सब बकवास मात्र हो। मधेसीलाई भुलभुलैमा पार्ने कुरा मात्रै हो। उहाँ सत्ताच्युत भएपछि र प्रतिगामी कदम बिफल भएपछि कहिलेकाहीँ बरबराउने गर्नुहुन्छ। त्यो बरबराहट मात्रै हो, अरू केही होइन।

मधेसका जनताले खोजेका चाहिँ के हुन जो एमालेले दिन सक्दैन नि?

मधेसका जनताले स्वायतशासन खोजेका छन्। सामानुपातिक भागेदारी खोजेका छन्। आफ्नो छुट्टै राष्ट्रिय पहिचान खोजेका छन्। यी कुरा एमालेको नीतिभित्र पर्दैन। यसका विरुद्धमा एमाले छ। त्यसैले उहाँहरू मधेसीलाई चाहिएको अधिकार दिन सक्नुहुन्न।

गठबन्धनले जसपालाई कति बलियो बनाएको छ?

गठबन्धनले सबैलाई बलियै बनाएको छ। हामी त्यो भन्दा अगाडि हेर्छौ। गठबन्धनले संघीय लोकतान्त्रिक गठबन्धनलाई र परिवर्तनलाई जोगाएको छ। यो ठूलो कुरा हो। स्थानीय तहको निर्वाचनले जसपालाई अझ मजबुत बनाउँछ। स्थानीय तहको निर्वाचनपछि अझ निर्णयक, बलियो र जनताको भरपूर भरोसाको शक्तिको रूपमा जनता समाजवादी पार्टी स्थापित हुनेछ।  

जसपामा गुट हाबी हुँदै गएको छ, पार्टी फुट्ने कुरा आइरहेको छ के हो?

यो जीवन्त पार्टी हो। यहाँ बहस र छलफल चलिरहन्छ। यसैलाई नबुझ्ने शक्तिले ल अब त पार्टी फुट्ने भयो सकिने भयो भनेर तर्क टिप्पणी गर्ने गर्छन्। वैचारिक बहसले पार्टीभित्र उर्जा पैदा गर्छ र अझ मजबुत बनाउँछ। जुन पार्टीभित्र वैचारिक बहस हुँदैन त्यो पार्टीमा जीवन पनि हुँदैन। र, त्यो पार्टीले मुलुकलाई केहि दिन पनि सक्दैन्। बहस, छलफल र वैचारिक संघर्ष हुनुले पार्टीलाई गतिशील बनाउँछ, यसलाई हामीले बडो सकारात्मक रूपमा लिँदै अगाडि बढ्दै गएका छौं। जसले गुटफुटको हल्ला चलाइए उनीहरू आज निरास बनेका छन्।

तपाईंहरूसँगै रहेर अहिले लोकतान्त्रिक समाजवादी पार्टी बनाएर अलग्गिनु भएका महन्थ ठाकुरसँग चुनावी तालमेलको सम्भावना छ, छैन?

त्यो त हेर्नुस् नेपालीमा एउटा उखान छ नि, किन रुन्छ मंगले आफ्नै ढंगले। दुःख पाइस मंगले आफ्नै ढंगले भन्या जस्तै भएको छ। हामीले त महन्थजीलाई प्रधानमन्त्री बनाउने भनेका थियौं। त्यसतर्फ प्रयासहरू पनि सुरु भैसकेका थिए। उहाँ प्रधानमन्त्री बन्नुहुन्थ्यो पनि। तर उहाँ अर्कैको भनाइमा अर्काका लागि पार्टी चोइटाएर जानुभयो र आज दुःख पाइराख्नुभएको छ। यसो हेर्दा दया पनि लाग्छ।

उहाँहरूलाई फेरि एकपटक भन्न चाहन्छु, आउनुस्। अर्काको कुरामा नलाग्नुस्, अर्काका हितमा नलाग्नुस्, अर्काका लागि काम नगर्नुस्। आफ्नै विचारले आफ्नै सोचले आफ्नै मुलुकको जनताका हितमा काम गरौं। हामीले पटकपटक भनिरहेकै हौं। तर उहाँहरूको भनाइ सुन्दा अर्कै शक्ति जसलाई हिजोसम्म प्रतिगामी भन्दै हुनुहुन्थ्यो त्यही शक्तिसँग सती जालान कि भन्ने चिन्ता भयो।

प्राचीन मिथिला एवं मधेस प्रदेशको राजधानी जनकपुरधामबाट राजनीतिज्ञहरूले के पाठ सिक्नुपर्ने जस्तो लाग्छ?

राजनीतिज्ञले प्राचीन मिथिलाको राजधानीसमेत रहेको जनकपुरधामबाट धेरै सिक्नुपर्नेछ। राजा जनकको ऋषि मनले गरेको शासन प्रणाली, याज्ञवल्क्य, अष्टाबक्र र गार्गीको दर्शनबाट धेरै कुराहरू राजनीतिज्ञहरूले सिक्ने र जीवनमा अपनाउन सक्यो भने निश्चित रूपमा जनहितमा निकै नै योगदान पुर्‍याउन सक्छन्।

प्रकाशित: २९ चैत्र २०७८ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App