७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

एमसीसीको भ्रम चिर्न घरघरमै पुग्छौँ: कांग्रेस केन्द्रीय सदस्य केसी

चुनाव लक्षित कार्यक्रम अन्तर्गत कांग्रेसले घरघरमा पुग्ने अभियान सुरू गरेको छ। मुलतः कांग्रेस प्रतिको माहोल सृजना गर्न र एमसीसीका बारेमा फैलाईएको ‘भ्रम’ चिर्नका लागि कांग्रेसले यो अभियानको थालनी गरेको हो। यही अभियानका कांग्रेसले प्रत्यक जिल्लामा अभियन्ताहरु खटाएको छ। यसै शिलशिलामा दाङमा आएका यो केन्द्रीय सदस्य चन्द्र केसीसंग नागरिककर्मी देवेन्द्र बस्नेतले कुराकानी गरेका छन्।  

के हो यो अभियान?  

स्थानीय तहको निर्वाचन, त्यसपछिका निर्वाचन संग यो अभियान सम्बन्धीत छ। त्यसैका लागि अहिले कांग्रेसका साथीहरु कार्यकर्ता, नेतृत्व तहका नेताहरुलाई समष्टीगत रुपमा जम्मा गरेर राय लिने दिने, कांग्रेसलाई थप कृयाशिल बनाउने, थप शाहसी बनाउने, अरु भन्दा बढि स्वाबलम्बी बनाउने र आगामी निर्वाचनमार्फत स्थानीय तहको सत्ता कांग्रेसलाई दिलाउने अभियान हो।  

के गर्नु हुन्छ तपाईहरु ?  

हामीहरुले यहाँको बस्तु स्थिती यहाँको ब्यवहारिक पक्षका कुराहरु सबै कुराहरुलाई गहन अध्ययन,समिक्षा, र निष्कर्ष निकालेर प्रतिवेदन केन्द्रलाई बुझाउने हो। दाङ जिल्ला कार्य समितिको बैठकमा अन्तरकृया भयो, केन्द्रबाट दिईएको निर्देशन अन्तर्गत रहेर खुला बैठकमा, बन्द सत्रमा बिचार राख्यौँ, केन्द्रले एउटा दस्तावेज दिएको छ। त्यो जिल्लामा बुझाएका छौँ। यो दस्तावेजको जिस्ट कुरा के हो भने आगामी स्थानीय तहको निर्वाचन अर्थात वैशाख ३० संग नै बढि सम्बन्धित छ। वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका सम्मका चुनावहरुमार्फत कांग्रेसलाई सत्ता दिलाउने, र यसका लागि सबैलाई सकृय बनाउने, सबै कांग्रेसीहरुलाई उर्जा दिने अभियान अन्तर्गत हामीहरु जिल्लाका आम कार्यकर्ता सम्मको घर सम्म खटिन्छौँ।  

उर्जा कसरी ल्याउने? दस्तावेज के बोल्छ?  

हरेक कार्यकर्ता अनि नेताहरु , शुभचिन्तकहरुलाइ त्यो उर्जा जिल्ला नेतृत्वले दिलाउनु पर्छ। र कांग्रेसलाई जिताउनु पर्छ। उर्जाशिल आफै बनेर चुनावलाई कांग्रेसमय , कांग्रेसमैत्री बनाउने, तन मन धनका साथ कांग्रेसलाई जिताउनु पर्छ भन्ने हो। 

अहिले कांग्रेसको डिमान्ड छ। आमजनताको त्यो मागलाई परिपूर्ती गर्ने भनेको नेता कार्यकर्ताहरु, शुभचिन्तकहरुले खेल्ने भुमिकाले हो। अहिले कांग्रेसलाई त करिब करिब चिट्ठै परेको हो नि। अहिले संघीय सरकारको नेतृत्व पाएको छ। कम्युनिष्टहरुको द्धन्द र कम्युनिष्ट फूट्नु, यसले पनि मौका मिलेको छ र यो अवसर कांग्रेसले पाउँछ।  

कम्युनिष्ट बिभाजन मात्रै कांग्रेसका लागि जीत्ने आधार हो त ?  

कम्युनिष्टहरुले प्रजातन्त्रलाई मान्दैनन्। कम्युनिष्टहरको घर भित्र प्रजातन्त्र हुँदैन। उनिहरुले कम्युनिष्ट फूट्नु, सत्ता टुट्नु उनीहरुको ठूलो कमजोरी या असफलता हो। म जहाँ जति ठाउँमा पुगे, एमाले वा माओवादी छोडेर कांग्रेसमा आउने लहर चलेको छ। यो कांग्रेसका लागि उर्जा हो। पुरानो सांगठनिक अवस्था त छँदै छ। अझ अहिले कांग्रेस प्रति आकर्षण बढदो छ, कांग्रेसको माग पनि अत्यधिक छ। कांग्रेसको यही माग भए बमोजिम हामीहरु यो अभियानका लागि प्रत्यक घरघरमा पुग्ने योजनाका साथ हिँडेका हौँ । यो नै कांग्रेसको ठूलो सम्पत्ति हो र आगामी निर्वाचनमा जित्ने कांग्रेसका लागि यो नै ठूलो अवसर पनि हो। यसर्थ कांग्रेस बुद्धि पुर्याएर अघि बढ्नु पर्छ। मेरो र तेरो भन्दा पनि हाम्रो कांग्रेस निर्माणमा सबै एक भएर लाग्नु पर्छ। नेतृत्व प्रति यो आग्रह आम कार्यकर्ताको छ। र नेताहरुमा पनि यो अवधारणाको बिकास भएको छ।

एमसीसी प्रतिको नकारात्मक धारणालाई कसरी चिर्ने?

एमसीसीका बारेमा कांग्रेसले एउटा दस्तावेज तयार पारेको छ। यो निकै लामो पनि छ। मैले जिल्ला कार्य समितिलाई बुझाएको पनि छु। नेपालको सन्दर्भमा एमसीसी निकै जायज छ। फेरी एमसीसी पास गरेको कांग्रेस एक्लैले पनि हैन। हिँजोसम्म एमसीसी प्रति सबै दलका सकारात्मक धारणा बनेका थिए र त्यही धारणाकै कारण सबैको मतका आधारमा यो पास भएको हो। तर अहिले माओवादी, एमालेका कार्यकर्ताहरुले ठाउँ ठाउँमा एमसीसी गलत हो। अमेरिकी सेना आउँछ भनेर आमजनमानसमा गलत प्रचारबाजी गरिरहेका छन्। तर सारमा कांग्रेसले बुझाउन खोजेको सत्यताको पाटो के हो भने यो नेपालको बिकाससंग जोडिएको परियोजना हो। यो बिद्युत, सञ्चार, यातायातसंग जोडिएको परियोजना हो। यती महत्वको परियोजनालाई गलत भनेर अफवाह फैलाईएको छ। एमसीसी लागू भएका अन्य थुप्रै मुलुकहरु छन्, के त्यहाँ अमेरिकी सेना आएर देश कब्जा गरेको छ? कम्युनिष्टहरुले एमसीसीका बारेमा नकारात्मक कुराहरु गर्नुको एउटै मात्रै स्वार्थ हो? कांग्रेस सत्तामा नआओस्। कांग्रेस सत्तामा आउँछ भनेर डराएर जनतामा भ्रम छर्ने काम गर्ने? यसर्थ मैले त के भन्छु भने यो देशका कम्युनिष्टहरुलाई भगवानले सत्बुद्धि देउन्।  

कांग्रेसले तयार पारेको चुनावी रणनीतिक दस्ताबेजमा एमसीसीलाई कसरी जायज देखाईएको छ?  

एमसीसि गलत हैन, एमसीसी बिकास परियोजना हो। यो संसारका बिकासोन्मुख देशहरुको बिकासका लागि पास गरेको अमेरिकी परियोजना बाहेक यो अरु केही पनि हैन। यो ५ वर्षे परियोजना हो र यो अवधिमा भएका कामकारवाहीहरुलाई हेरेर मात्रै पछिका कामकारबाही हुने नहुने भन्ने कुरा हो। अमेरिकी सेना यो परियोजनाका नाममा नेपालमा बिल्कुल आउँदैन। यसमा आमनागरिकलाई कांग्रेसले बिश्वस्त पार्छ। 

अनि अर्को कुरा एमालेका केही नेताहरुले भनेजस्तो एमसीसीका कारण नेपालको सार्वभौमिक सिद्धिने भए किन एमालेकै अध्यक्ष केपी ओलीले यसलाई सदनमा लगे? अनि अहिले सरकारमा रहेको माओवादीले यसलाई अनुमोदनका लागि मत जाहेर गर्यो, अनि माओवादीका नेता कार्यकर्ताहरुले कसरी भन्न सकेका छन्? एमसीसीले नेपाल सकिन्छ भनेर? हाम्रो पार्टीको दस्ताबेजमा सारमा यीनै बिषयहरु उल्लेख गरिएका छन्।  

पत्याउलान् त आमनागरिकले ?

पत्याउँछन्, एउटा कुरा के हो भने कांग्रेसले झूठको खेती गर्दैन, झूठो सपना बाँड्दैन , सत्य जे हो त्यही सत्यतालाई जनताका माझमा लैजान्छ। यो बुझाई समग्र मुलुकले बुझेको कुरा हो। यसर्थ कांग्रेसले बोलेको कुराहरु सत्य मात्रै हुन्छन् भन्ने मनोबृत्तिलाई आमनागरिकहरुले नबुझ्ने कुरा हुँदैन। यसर्थ एमसीसीका बारेमा कांग्रेस झूठ बोल्यो भन्ने भान कसैलाई पनि पर्ने छैन, एमसीसी सही हो भन्ने आमनागरिकमा छाप बस्नेमा कुनै शंका छैन। आमनागरिकले एमसीसीका बारेमा फैलाईएको गलत अफवाहलाई राम्रोसंग बुझ्ने छन्। यसका लागि हामीहरु घरघरमै पुगछौँ , र एमसीसीको भ्रमलाई हामी चिर्छौँ। 

प्रकाशित: २९ फाल्गुन २०७८ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App