७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

व्यवस्थित पार्टी बनाउँछुः प्रकाशमान सिंह,सभापतिको उम्मेदवार

सबैभन्दा पहिले त सभापतिको उम्मेदवार बन्नुभएकोमा बधाईं छ। १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार के का लागि?

१३औं महाधिवेशनको म्यान्डेड अनुसार जुन विधानमा टेकेर सभापति, पदाधिकारी नेतृत्वमा पुग्नुभयो। उहाँहरूले पार्टीको विधानमा टेकेर नेतृत्वमा आउने तर,पार्टीको विधानले निर्देशित गरेका कुनै काम नगर्ने। उदाहरणका लागि महाधिवेशन सकिएको दुई महिनाभित्र विभागहरू गठन हुुनुपथ्र्यो। तर, दुई महिना त के दुई वर्ष, चार वर्ष कार्यकाल सकिएपछि गर्न नसक्ने।

क्रियाशील सदस्यता वितरणदेखि लिएर पार्टीको गतिविधि अगाडि बढाउनुपर्ने समयमा केही नगरी यो अवधिमा विधानलाई मिचेर कामहरू भए। विधान मिचेर भएका कामको हामी विरोध गरेका थियौं। पार्टीको विधानलाई उल्लंघन गर्नेगरी काम भए। बहुदल पुनःस्थापनापछि आठौं महाधिवेशनदेखि फरक ढंगले हुँदै १२औं सम्ममा फरक भयो।

आफ्नो कार्यकालमा विधानले निर्देशित गरेका काम भए। नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा महाधिवेशन गर्ने लेखेको छ। ठूलो विपत्ति भएमा कोरोना जस्तो असामान्य परिस्थिति आइपरेमा एक वर्ष थप्न पाइन्छ।

तर,कोरोना नहुँदा पनि १ वर्ष थपियो। एक वर्ष असामान्य परिस्थिति खडा गरियो। संविधानलाई पनि उल्लंघन गरियो। संविधानअनुसार हरेक दलले हरेक ५ वर्ष प्रादेशिक र संघीय गरी महाधिवेशन गर्नुपर्नेछ। १३औं महाधिवेशन पछिको १४औं हेरियो भने ५ वर्ष ६ महिना कटिसकेको छ।

म्याद गुज्रेको औषधि खाएजस्तो काम भएको छ। नेपाली कांग्रेसको विगतमा महाधिवेशन समयमा हुन्थ्यो। यो भन्दा अघि नीति र कार्यक्रममाथि पनि छलफल हुन्थ्यो। अहिले त्यो पनि भएन। पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने ठाउँमा अस्तव्यस्त गराएको देखियो। पार्टी विधानअनुसार नचली ‘ए कांग्रेस’ र ‘बी कांग्रेस’ गरी गु्रपिजम बढाएको छ।

समग्रमा अहिलेको नेतृत्वले काम गर्न सकेन। परिवर्तन गर्नुपर्‍यो भन्ने हो?

१३ औं महाधिवेशनबाट निर्वाचित समितिले पार्टी चलाउन नसकेकाले परिवर्तन गर्नुपर्छ भन्ने विचारमा सहमति भएका सबै एकठाउँमा भएको वर्षौं भइसक्यो। जुन विचार समूहमा बसेर शेरबहादुरजीको विरुद्धमा संसद्मा बोल्दा जुन रूपमा समर्थन गर्नुपर्ने हो त्यो नगरिएको हो।

१३औं महाधिवशेनमा पनि सभापतिमा उठ्न अभियान थालिसकेको थिएँ। अन्तिममा सिनियरलाई छोड्नुपर्छ भनेर छोडेको थिएँ। धेरै महाधिवेशन प्रतिनिधिले प्रथम निर्वाचन महामन्त्री भनेर दर्ज भइसकेको र बिपीको छोरा शंशाकले इच्छा व्यक्त गरेको छ भनेपछि केन्द्रीय सदस्यमा गएको मान्छे हुँ।

फेरि म उठने भनेर लागिरहेँ। विचार समूहले मलाई न्याय नदिएको कारणले गर्दा म उठेको हुँ। लिड गर्ने सदस्यहरूले प्रकाशमान त सिनियर हो भनेर एकजनाले पनि उच्चारण गर्न सक्नुभएन।

एकथरिले सहमति भत्काउने प्रकाशमान हो भनको पनि सुनिन्छ। त्यो हो कि बिपीको नियम अनुसार एकता गर्नुपर्छ भनेर हिड्ने म हो सबैलाई थाहा छ। यो विचार समूहमा बसेर न्याय नपाउने भएकाले म आफैं नेतृत्वमा जान लागेको हुँ।

कांग्रेसलाई कस्तो बनाउनुहुन्छ?

ग्रासरुटबाट शुरु गरेर। नेपाली कांगेसको काठमाडौं जिल्ला सभापति पटकपटक भएको व्यक्ति हुँ। महाधिवेशनको तिथिमिति तोकिएपछि १६ जिल्ला कार्यसमिति भंग हुँदा अभियान चलाएँ।

विधि र नियम अनुसार पार्टी चल्नुपर्छ। त्यसलाई मैले नेतृत्व गरेको भएकाले। मैले अभियान चलाउँदा धेरैले खिल्ली उठाउँथे। तर, देशभरिका कांग्रेसजनहरूले मैले गरेको अडान,विधि र नियमअनुसार चलाउनुपर्छ भन्ने मुद्दामा पोखरामा तेस्रो ठूलो मत दिइएको हो। म कांग्रेसको उपसभापति पनि भइसकेको हो। गिरिजा, सुशील,रामचन्द्रको पालामा नेतृत्व लिएर काम गरेको मान्छे हुँ।

मसँग अनुभव छ,त्यसलाई सदुपयोग गरेर सबै साथीहरू मिलेर टिम बनाउँ भन्दा विचार समूहकाले मलाई फेरि १३औं मा जस्तै स्टेप डाउन गराउने आभास मिल्यो। न्याय दिन सक्नुहुन्न भनेर म अगाडि बढेको हो।

कस्तो माहोल पाउनुभएको छ?

माहोल त तपाईं हेरिरहनुभएको छ। राम्रो छ। ५० वर्ष लामो पार्टीमा बसेर काम गर्दाको अनुभव पार्टीभित्रको समस्या के छ सबै थाहा भैसक्यो। यो पार्टीलाई समयमै संस्थागत गर्न गर्नका लागि १४औं महाधिवेशनमा निर्वाचित हुन मेरो यो उम्मेदवारी हो।

प्रकाशित: २७ मंसिर २०७८ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App