२० मंसिर २०७८ सोमबार
अन्तर्वार्ता

बालकविताले बालबालिकाको सांगीतिक चेतना परिमार्जन गर्न सहयोग गर्छ

बालकविताको माध्यमबाट सयौं बालबालिका र अभिभावक बीच लोकप्रिय बनेका रमेशचन्द्र घिमिरे पेसाले शिक्षक हुन्।  बालबालिकाको रुचि, चाहना र उमेरलाई ध्यान दिई बालबोधगम्य कविता लेखेकै कारण उनी छिटै लोकप्रिय भएका हुन्। क्याम्पस प्रमुख जस्तो जिम्मेवार निकायमा समेत आबद्ध उनै बालसाहित्यकार  रमेशचन्द्र घिमिरेसित बालकवितामा केन्द्रित भई गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ–

१) तपाईं बालकविता लेखनका क्षेत्रमा कसरी लाग्नुभयो ?

     निजी विद्यालयको शिक्षक हुँदा नेपाली विषय शिक्षक भएको नाताले विद्यार्थीलाई कविता पढाउने र सिकाउने क्रममा उनीहरूले कस्ता कविता मन पराउँछन् भन्दै लेख्ने प्रयास गरियो। विद्यार्थीको बालमनोभावना बुझेर लेख्ने क्रममा नै केही बालकविता पनि रचना गर्न पुगें। यसरी विद्यार्थीलाई सिकाउँदा– सिकाउँदै म बालकविता लेखनका क्षेत्रमा लागेको हुँ। स्नातकोत्तर अध्ययनका क्रममा सिर्जना पत्र तयार पार्दा मैले बालकविता नै रोज्न पुगेँ। यिनै कारणले बालकविताका क्षेत्रमा लागेको हुँ।

२) तपाईंको बालसाहित्य क्षेत्रमा थप अनुभव के–के छ ?

   २०५८ सालमा बालसाहित्यका बारेमा स्नातकोत्तर अध्ययन गर्ने सिलिसलामा शोधकार्य गर्ने क्रममा ‘भुर्र चरी’ शीर्षकमा सिर्जनापत्र तयार पारेँ। त्यतिखेर मेरा आदरणीय गुरुहरू कृष्णप्रसाद पराजुली र दैवज्ञराज न्यौपानेको सामीप्यले मलाई यस क्षेत्रमा लाग्न हौस्यायो। म हाल सारंगी न्युज डट कम अनलाइन तथा सम्मोहन साहित्यिक पत्रिकामा बालसाहित्य संयोजकको भूमिकामा छु भने साहित्य पोस्ट डट कममा पनि नियमित रूपमा बालकविता लेखनका बारेमा अनुभव तथा बालकविताका सर्जक र उनीहरूका प्रतिनिधि बालकविताका बारेमा समीक्षा लेखनलाई निरन्तरता दिइरहेको छु। मैले बालकविताको विकासका लागि केही गर्न सकिन्छ कि भनेर नेपाली बालसाहित्य रचना सँगालो नामको फेसबुक समूह तथा पेजको समेत सञ्चालन गरेको छु र निजी साहित्यिक ब्लग (रचना चौतारी) को समेत सञ्चालनमा ल्याएर त्यसमा बालसाहित्य र बालकवितालाई धेरथोर परिचित गराउने प्रयासमा छु।

२) बालगीत, बालगजल र बालकवितामा के फरक पाइन्छ ?  कस्तो हुनुपर्छ, बालकविता ?  

    जसरी प्रौढ साहित्यमा गीत विधा कविताअन्तर्गतकै उपविधा मानिन्छ, त्यसरी नै बालसाहित्यमा पनि बालगीतलाई बालकविताकै उपविधा मान्नुपर्ने हुन्छ।सबै बालकविता बालगीत होइनन् किनभने यदि त्यसमा गीतिगुण छैन भने ती बालकविता मात्रै हुन्।यदि नेपाली लोक छन्दमा प्रचलित लोकलयको प्रयोग गर्दै गाउने उद्देश्यले रचियो भने ती बालगीत हुन्। शास्त्रीय छन्द वा स्वतन्त्र लयको प्रयोग गरेर लेखिने पद्यरचनाचाहिँ बालगीत होइनन् बालकविता हुन्। गजलको संरचनामा रहेर लेखिने तथा रदीफ र काफियाको प्रयोग गरेर लयात्मक वा स्वतन्त्र ढंगले लेखिने बालरचनालाई बालगजल भनिन्छ।

बाललकविता पद्यात्मक वा लयात्मक हिसाबले केटाकेटीको भाषामा लेखिएर उनीहरूले नै गाउने वा पढ्ने उद्देश्यले रचना गरिएको हुनुपर्छ। बालकवितामा हुनुपर्ने गुण वा विशेषतालाई यसरी हेर्न सकिन्छ–  

–बालकविता लामो आकारको हुनु हुँदैन। संक्षिप्त हुनुपर्छ।

– बालकविता पढ्दा आनन्द दिने खालको मनोरञ्जनात्मक वा रोचक हुनुपर्छ।  

– बालकविता भाका हालेर गाउन मिल्ने खालको लयात्मक वा गीतिगुणले युक्त हुनुपर्छ।

– बालकविता गति, यति र लयले युक्त भएको, पूर्ण अन्त्यानुप्रासको अनुशासनमा बाँधिएको, अक्षर संरचना चटक्क मिलेको, सर्र बगेको र पढ्दा दाँतमा ढुंगा नलाग्ने खालको हुनुपर्छ।  

–आधार वाक्य अर्थात् समस्यापूर्ति हरफ वा वाक्यांशमा भन्दा बाहेक अन्यत्र  पुनरुक्ति दोष हुनुबाट बचेर लेख्नुपर्छ।

–बालकवितामा बालबालिकालाई प्रत्यक्ष रूपमा नैतिक सन्देश दिनुको सट्टा अप्रत्यक्ष सन्देशको प्रस्तुति हुनुपर्छ।

–बालकवितामा कथयिता पात्रका रूपमा बालपात्रको उपस्थिति हुनुपर्छ। प्रौढ पात्र गुरु वा अभिभावक नबनी बालपात्र नै बन्नुपर्छ।

–बालकवितामा बालमनोविज्ञानको प्रयोग भएको हुनुपर्छ।

–बालकवितामा सरल, सहज र बोध्य–सम्प्रेष्य भाषाको प्रयोग गरिनुपर्छ।

–विषयवस्तु छनोटमा बालरुचि अनुकूलता हुनुपर्छ।

–राष्ट्रियता र जातीयताप्रतिको गौरवबोधलाई समेत बालकविताले समेट्न सक्नुपर्छ।

–पुस्तकाकार वा छापामा आउने बालकवितामा आकर्षक र रंगीन चित्र सज्जा हुनुपर्छ।  

– बालकविताले वर्तमान समयलाई बोल्नुका साथै पुराना संस्कृतिको संरक्षण र महत्त्वबोध जस्ता कुरालाई समेत छोएको हुनुपर्छ।

–बालकवितामा सकभर भाषा शैलीगत शुद्धता र मानक व्याकरणको प्रयोग हुनुपर्छ। आवश्यक पर्दा कथ्य वा आञ्चलिक भाषा प्रयोगमा रोक लगाउनै पर्छ भन्ने छैन तर त्यसको पुष्ट्याइँ कविताको अन्त्यमा शब्दार्थ वा अन्य तरीकाले खुल्नु अनिवार्य हुन्छ।

४) बालकविताका अंगहरू केके हुन् ?

   बालकविता रचनाका लागि आवश्यक पर्ने उपकरण वा तत्त्वहरूलाई बालकविताका अंग मान्न सकिन्छ। विषयवस्तु, लयविधान, कल्पना,अलङ्कारविधान, चित्रयोजना, भाषाशैली र उद्देश्य गरी ७ वटा तत्त्वलाई मैले बालकविताका अंग मानेको छु।

५) पाठ्यक्रममा बालकविताको अवस्था कस्तो छ ?  

    – सुरुसुरुका अवस्थामा विद्यार्थीहरूलाई खराब बाटाबाट जोगाउन नैतिक सन्देश दिनु जरुरी थियो र समयको मागअनुसार नैतिक सन्देश दिने खालका र उपदेशात्मक भावनाले ओतप्रोत बालकविताहरू लेखिन्थे।त्यो त्यतिखेर उपयुक्त पनि थियो भने अहिलेका बालबालिकाले मनोरञ्जन खोज्ने भएकाले उनीहरूको भावनाको कदर गर्दै वर्तमान पाठ्यक्रममा मनोरञ्जनात्मक र अप्रत्यक्ष नैतिक सन्देश दिने खालका  सामग्रीहरू समेटिएका पाइन्छन् अनि अर्को कुरा साहित्यका मुख्य चार विधा कथा, कविता, निबन्ध र नाटकमध्ये कविता एउटा महत्वपूर्ण रमाइलो र गेयात्मक विधा भएकाले तथा विद्यार्थीहरूको गायन प्रतिभा र वाचन कलाको विकासका लागि समेत बालकविताको सम्मानजनक स्थान रहेको छ।अहिलेका पाठ्यपुस्तकमा पाठ्यक्रमले निर्दिष्ट गरेअनुसार विद्यार्थीहरूको उमेर समूहलाई ख्याल गर्दै कक्षा र स्तरअनुसारका बालकविताहरू समेट्ने प्रयास गरिएको अवस्था छ।

६) बालकविताको महत्त्व के–कस्तो रहेको छ ?

    बालकविताले बालबालिकाहरूमा निहित सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउन मद्दत पुर्‍याएको हुन्छ। बालकथा घटनाप्रधान र आख्यानात्मक भएर रोचक भएजस्तै बालकविताचाहिँ लयात्मकताका कारण रोचक बन्न पुगेको हुन्छ। बालकविताले बालबालिकाको सांगीतिक चेतना परिमार्जन गर्न सहयोग गर्छ। रमाइलो बालकविताले त उनीहरूमा उत्सुकता र जिज्ञासाको समेत सञ्चार गराउँछ। शब्दभण्डारमा वृद्धि गर्नमा पनि बालकविताको आफ्नै भूमिका छ। यसरी बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने कार्यमा बालबालिका वा बालगीत एउटा सशक्त माध्यम भएकाले बालसाहित्यमा यस विधाको आफ्नै प्रकारको महत्त्व रहिआएको छ।

७) बालकविताको माध्यमबाट नानीहरूमा के–कस्तो परिवर्तन ल्याउन सकिन्छ ?

    बालबालिकाहरूले बालसाहित्यका विभिन्न विधाको किताबी अध्ययन गर्न नपाउँदै वर्तमान समयले डिजिटल युगमा फड्को मारिसकेको कारण उनीहरू पनि त्यसका शिकार हुन पुगेका छन्। विद्यार्थीहरूले मोबाइल फोनको उपयोग गर्दै श्रव्यदृश्य सामग्रीको अवलोकन गर्ने र गेम खेल्ने प्रवृत्ति घटाउन पनि अहिलेका बालबालिकालाई बालकविता वा बालसाहित्यका अन्य उपयोगी पुस्तकहरू दिन सकिन्छ। बालकविताका माध्यमबाट विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्न, अध्ययनशील बनाउन, उनीहरूलाई सिर्जनात्मक बनाउन, उनीहरूमा सांगीतिक क्षमता वा लयात्मकताको विकास गराउन, वाचन कलामा निपुण बनाउन तथा उनीहरूलाई नैतिकवान्, अनुशासनमुखी तथा सिर्जनात्मक कार्यमा लाग्ने खालको परिवर्तन ल्याउन सकिन्छ।

८) नेपाली साहित्यमा बालकविताको अवस्था कस्तो छ ?

   नेपाली साहित्यमा बालकथा विधाको तुलनामा बालकविता विधा उपेक्षित अवस्थामा छ।किनभने बालकविताका पुस्तकहरू प्रकाशकका आँखामा पुग्न सकेका छैनन् र बालकथाले जस्तै बालकविताले पनि मनोरञ्जन दिलाउन सक्छ भन्ने विश्वास पनि उनीहरूमा छैन।कतिपय अवस्थामा बालकविता लेख्ने लेखकले परम्परागत धारलाई छोड्न नसक्दा पनि यस्तो भएको हो किनभने बालकविता यस्तै मात्र हुँदो रहेछ भन्ने भ्रम उनीहरूमा परेको हुन्छ।यसरी हेर्दा नेपाली साहित्यमा बालकविताका किताब जति मात्रामा आउनुपर्ने हो त्यति आउन नसकेको अवस्था छ। तैपनि हिजोको अवस्थालाई हर्ने हो भने केही चित्त बुझाउने ठाउँ भने छ।

९) पुराना पुस्ता र नयाँ पुस्ताले लेखेको बालकवितामा के फरक छ ?  

    पुराना पुस्ताका लेखकमा प्रायः आग्रहीकरणको शैली पाइन्छ भने नयाँ पुस्ताका लेखकमा नाटकीकरणको शैली पाइन्छ। यसको मतलब प्रत्यक्ष रूपमा अर्ती–उपदेश दिने शैली पुराना पुस्ताका लेखकमा भेटिन्छ भने नयाँ पुस्ताका लेखकले मनोरञ्जन र कल्पनाशील पक्षलाई प्रत्यक्ष रूपमा र नैतिक सन्देश वा उपदेशलाई अप्रत्यक्ष रूपमा समावेश गरेको पाइन्छ। अहिलेका पुस्ताका लेखकमा ‘तिमी यस्तो गर’ होइन ‘हामी यस्तो गरौं’ भनेर बालबालिकालाई आफूतिर ध्यान तान्न सक्ने शैलीको उपयोग भएको देख्न सकिन्छ तर वर्तमानका कतिपय कवि– लेखकले त्यसमा अझ ध्यान पुर्‍याउनुपर्ने देखिन्छ।

१०) बजारमा आएका सबै बालकविताले आफ्नो धर्म निर्वाह गरेका छन् त ?

     बजारमा आएका कतिपय बालकविता प्रचारमुखी र परम्परा धान्ने खालका मात्रै छन्। सर्जकले संख्यात्मक रूपमा अरूका तुलनामा ‘म अगाडि छु’ भन्ने देखाउन खोजेको भान हुन्छ। केटाकेटीले पढ्ने साहित्यजस्तो भए पनि हुन्छ भनेर गुणात्मकतालाई पटक्कै विचार पुर्‍याउन  नसक्दा सबै बालकविताले आफ्नो धर्म निर्वाह गर्न नसकेको देखिन्छ।

११) प्रौढ कविताको तुलनामा बालकविता लेख्न कतिको सजिलो छ ?

    प्रौढ कविता सिर्जना गर्ने सर्जकले आफ्नो कवितालाई मीठो, स्तरीय र प्रतिस्पर्धी बनाउन बिम्ब, प्रतीक र अलंकारको प्रयोग गरेको पाइन्छ तर बालकविता लेख्नुपर्दा भने केटाकेटीले पढ्ने कविता जस्तो लेखे पनि हुन्छ भन्ने सोच राखेको देखिन्छ। बालकविता लेख्ने सर्जकले बालमनोभावना बुझेर लेख्ने हो भने बालकविता लेख्न गाह्रो छ। कतिपय बालकविता पढ्दा निबन्धलाई टुक्य्राएर लेखेको जस्तो, सतही गफ गरेको जस्तो अनि गथासाहरूमा अलमलिएर लेखिएझैं लाग्ने बालकविताका सर्जक पनि छन्। रोचकता, कल्पनाशीलता, आख्यानात्मकता, कलात्मकता जस्ता कुरालाई जबसम्म महत्त्व दिइँदैन र हतारमा सिर्जना गरेर संख्या थप्न मात्र खोजिन्छ तबसम्म गतिला बालकविताहरू सिर्जना हुन गाह्रो छ। तसर्थ यी सबै कुराहरूलाई ध्यान दिएर लेख्न खोज्ने हो भने बालकविता लेख्न पक्कै पनि सजिलो छैन।

१२) बालकविता लेख्नेहरूलाई तपाईको केही सुझाव छ कि ?

     बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।

त्यो प्रयोगशालीय परीक्षण भनेको बालबालिकासँगको संगत, साहचर्य, सहकार्य र संसर्ग हो। हामी आफ्नो कविताबाहेक अरूको कविता पढ्दै पढ्दैनौं। कसैबाट सुन्दर प्रतिक्रियाको मात्रै अपेक्षा राख्छौं। नकारात्मक प्रतिक्रिया आएजस्तो लाग्यो भने रिसाउन पनि पछि पर्दैनौं। यसरी आफ्नो सिर्जनालाई कसैले राम्रो भनिदेओस् अनि मक्ख पर्न पाइयोस् भन्ने सोच कतिपय सर्जकहरूमा छ। सुरुसुरुमा त मलाई पनि त्यस्तै हुन्थ्यो। श्रोता वा पाठकको व्यवहारबाट नै प्रतिक्रिया पढ्न पाएँ र आफूलाई सच्याउँदै लैजान सकेँ। कसैले मेरो कमजोरी देखाइदिँदा मलाई पनि झनक्क रिस उठ्थ्यो। हामीमा एउटा कमजोरी के छ भने अरूको प्रतिक्रिया स्वीकार गर्ने वा सहने बानी हामीमा छैन। भर्खर–भर्खर बालकविता लेख्न थालेका वा पहिलेदेखि नै लेखेका भए पनि सुधारको खाँचो रहेका सर्जकलाई मैले केही कुरा भन्नै पर्ने हुन्छ– पहिलो कुरा के हो भने अरू केही गर्नै पर्दैन कम्तीमा अन्त्यानुप्रास मात्र मिलाउनुहोस् अनि दोस्रो कुरा के भने गाउँदै लेख्नुस्। तेस्रो कुरा गाउँदा जहाँ बग्दैन वा अड्किन्छ त्यस ठाउँमा सुरुको शब्द विस्थापन गरेर नयाँ शब्द प्रतिस्थापन गर्नुहोस्।

यसका लागि पर्याप्त शब्दभण्डार हुनु जरुरी छ भन्ने कुरा पनि ख्याल राख्नुस्। ‘मैले यसो भन्न खोजेको हुँ’ भन्ने कुरा लेखकले मात्र बुझेर पुग्दैन, सामान्य पाठकले पनि बुझ्न सक्नुपर्दछ। बालबालिकासँग ‘मेरो कविता तिमीहरूलाई कस्तो लाग्यो?’ भनेर सोध्ने नै होइन। यसरी सोध्दा उनीहरूले ठूला मान्छेलाई खुसी बनाउन वाडरले पनि कविता ‘राम्रो छ’ भनिदिन्छन् अनि हामी पनि त्यसैमा मक्ख पर्छौं।उनीहरूका व्यवहार हेरेर नै हामीले प्रतिक्रिया पाउन सक्छौँ। बालकविताका सर्जक यदि शिक्षक हुन् भने उनीहरूले कविता पढ्ने बेलामा विद्यार्थीले हाई गरे भने, तिर्खा वा शौचको बहानामा बाहिर जान खोजे भने वा साथीसँग अरू नै कुरामा व्यस्त हुन खोजे भने मैले लेखेको कविता बालबालिकाको स्तरअनुरूपको भएन वा बालबालिकाका लागि रुचिकर हुन सकेनछ भनेर बुझ्नुपर्दछ।

यदि शिक्षकले बालकविता सुनाउँदा ध्यान दिएर सुने भने वा रमाइलो माने भने र्सजकले आफूलाई सफल भएको ठान्नुपर्दछ। ‘हल्ला नगर त !’, ‘चुप लागेर सुन!’ जस्ता आदेशात्मक वाक्य भन्ने पर्दैन। कविता सशक्त र प्रभावकारी छ भने उनीहरू यसै पनि चुप लाग्छन् भन्ने कुरा बिर्सनु हुँदैन। यसरी बालबालिकाको संगत गरेर लेख्न सकियो, बालबालिकाकै सल्लाह मान्न खोजियो अथवा अग्रजको प्रतिक्रिया वा सुझावलाई ग्रहण गर्न जानियो भने स्तरीय बालकविता लेख्न सकिन्छ भन्ने मेरो सुझाव छअनि मलाई लागेको अर्को एउटा कुरा बालकविताका सर्जकले मलाई ‘मेरो कविता कस्तो लाग्यो?’ भनेर पटकपटक सोध्नुहुन्छ तर मलाई नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ किनभने त्यसरी सोध्दा मैले राम्रो छैन, सुधार गर्नुस्’ भनेर भन्दा रिसाउनुहुन्छ कि भनेर ‘राम्रो छ’ भनेर भन्नुपर्ने बाध्यता हुन्छ। कुनै पनि प्रतिक्रिया नआएपछि त्यो आफैले बुझ्ने कुरा हो जस्तो लाग्छ।

१३) बालकवितामा अर्ती–उपदेश र नैतिक शिक्षाको अवस्था कस्तो छ ?

  – कतिपय सर्जकले बालकविता भनेको बालबालिकालाई दिइने नैतिक सन्देश र उपदेशको लयात्मक प्रस्तुति हो भन्ने मात्र बुझेका छन्। अबको जमानामा बालबालिकालाई खरो, खस्रो र ठाडो भाषामा अर्ती–उपदेश दिनुको साटो मिलाएर अर्ती–उपदेश दिने खालको  

साहित्य लेख्नु जरुरी छ। बालबालिकाले प्रभुसम्मत उपदेश होइन मित्रसम्मत उपदेशको खोजी गरेका हुन्छन्। बालबालिकालाई घरमा बाबुआमाले र विद्यालयमा गुरुगुरुआमाले नैतिक सन्देश र उपदेशको पाठ पढाउँदा–पढाउँदा उनीहरू अत्तालिएका हुन्छन्। यस्तो बेलामा साहित्य पढेर मनोरञ्जन लिन खोज्दा त्यसमा पनि सन्देश र उपदेशको बोझ बोकाइएको पाउँदा उनीहरूमा वितृष्णा पैदा हुन सक्छ।कम्तीमा बालसाहित्यिक कृतिमा यस्ता अर्ती – उपदेशका भाषा त पढ्न पर्दैन भनेर उनीहरू बालसाहित्य वा बालकविताका किताब पढ्न उत्प्रेरित हुन्छन्। बालसाहित्यका किताबमा रमाइला–रमाइला कथा वा कविता पढ्न पाउँदा उनीहरू बालसाहित्यप्रति आकर्षित हुन पुग्छन्। यसको मतलब बालबालिकालाई मनोरञ्जन मात्र दिनै पर्छ, अर्तीउपदेश दिनै हुन्न भन्न खोजिएको पनि होइन। कुशल बालसाहित्यकारले बालबालिकालाई नैतिक सन्देश र उपदेशका कुरा थाहै नदिई दिइरहेको हुन्छ। फेरि अर्को कुरा बालबालिकालाई नैतिक सन्देश दिनु जरुरी पनि छ। तसर्थ वर्तमान परिप्रेक्ष्यमा बालबालिकालाई मनोरञ्जन कल्पना र कलात्मकताको साँचोमा ढालेर नैतिक सन्देश र अर्ती–उपदेश दिइएको अवस्था छ।

१४) तपाईलाई ट्वाक्कसँग बालकविता मिलाउन कसरी आउँछ ?

     – म आफूले कविता मात्र लेख्दिनँ। अन्य सर्जकका रचनाको पनि अध्ययन गर्दछु। अझ म त दोहोरी गीत सुन्न त झन् रमाइलो मान्छु। मलाई के लाग्छ भने दोहोरी गीत गाउने गायकहरूले उतिखेरको उतिखेरै कति राम्रा–राम्रा टुक्का रच्न जानेका होलान्। सोधेको प्रश्नको उत्तर दिएर पनि प्रतिप्रश्न गर्न भ्याउने अनि अन्त्यानुप्रास कत्ति नखल्बलने गरेर गति–यति–लयको अनुशासन समेत भंग नगरी उनीहरू गीत रच्न सक्छन् भने हामी त कोठामा बसेर मजाले सोच्दै कविता रच्न पाउँछौं। यसरी हेर्दा अग्रज, समवयी तथा अनुजहरूका रचनाको अध्ययन गर्नु, गीतसंगीत सुन्नु र सकेसम्म हतार नगरेरै मैलै बालकविता लेख्न सकेको हुँ तर हजुरले भनेजस्तै राम्रोचाहिँ अझै लेख्न सकेको छैन। यसका लागि म शिक्षक भएको नाताले विद्यार्थीलाई सुनाएर आफ्ना रचना वा कविताको समेत परीक्षा लिन्छु। विद्यार्थीहरू खासै नरमाएका कविताहरूलाई उनीहरूसँगै सोधेर के गर्दा कविता राम्रो हुन्छ वा के कस्ता कुरा थप्नुपर्छ भनेर सुझाव समेत माग्छु र उनीहरूलाई नै चित्त बुझाएर लेख्ने प्रयास गर्छु। त्यसो हुँदा हजुरले भनेझैं ट्वाक्क मिल्न गएको होला तर यतिमा मात्रै म सन्तुष्टचाहिँ अवश्य छैन।

१५) अन्त्यमा केही भन्नु छ कि ?

     – यस लोकप्रिय नागरिक दैनिकमा मलाई आफ्ना विचार राख्ने यो अवसरका लागि हजुर र पत्रिका परिवारप्रति हार्दिक आभार प्रकट गर्दै म अझै पनि सिकारु लेखक नै भएको अवगत गराउँदछु। जानेका कुरा सिकाउन र नजानेका कुरा अझै सिक्न पाइयोस् भन्ने अपेक्षा राख्दै र पुनः धन्यवाद टक्रयाउँदै आफ्ना विचारहरू हाललाई यहीं समापन गर्न चाहन्छु। जय बालसाहित्य!

प्रकाशित: १६ भाद्र २०७८ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App