१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

निवृत्त भनेपछि वैधानिकता सकियो

प्रकाशचन्द्र लोहनी राप्रपाका चौथो वरियताका नेता मानिन्छन्। त्यसैले उनैले बताएको सहमतिअनुसार महाधिवेशनको चौथो वर्षमा उनी यो दलको अध्यक्ष हुनेछन्। यस अर्थमा लोहनी अध्यक्षको चौथो नम्बरका वैकल्पिक उमेदवार हुन्। तर अध्यक्ष सूर्यबहादुर थापाले यस्तो सहमति नै नभएको बताएपछि दलमा विवाद बढ्दै गएर अन्ततः थापा हटाइएका छन्। लोकेन्द्रबहादुर चन्द अध्यक्ष बनाइएका छन्। के हो त चुरो कुरो? यही प्रश्नमा केन्द्रित रही नागरिकका मणि दाहाल र उनै लोहनीबीच भएको कुराकानी:राप्रपा र राजपाबीच एकताको महाधिवेशन भएको एक वर्षमै विवाद देखियो। के कारणले समस्या उत्पन्न भएको हो? 
अहिले देखिएको समस्या सहमति कार्यान्वयन नभएर भएको हो। एक वर्षअघि भएको हाम्रो अधिवेशनमा सबैको राय के हो भने चुनाव नगरौं, चुनाव गर्दा यो पक्ष र त्यो पक्ष हुन्छ, पार्टीमा धार देखिन्छ, नमिलेको जस्तो देखिन्छ। त्यसैले सहमतिमा जाउँ भन्ने नै थियो। चार जना नेताको एउटा अध्यक्ष मण्डल बनाउने सहमति भयो। त्यसैका आधारमा सूर्यबहादुरजी, लोकेन्द्रजी, पशुपतिजी र मैले चुनावमा भाग लिएनौँ। हाउसले सबैलाई सर्वसम्मत नेता बनाउने घोषणा गर्योी। सूर्यबहादुरजी, लोकेन्द्रजी, पशुपतिजी र प्रकाशचन्द्र लोहनी चारै जनाले पालोपालो अध्यक्षता ग्रहण गर्नेमा सहमति जनायो। चारमध्ये सुरुमा सूर्यबहादुरजी, त्यसपछि लोकेन्द्रजी, तेस्रोमा पशुपतिजी र चौथो वर्ष प्रकाशचन्द्र लोहनी भन्ने कुरा आयो। २०७० जेठ ५ गते सूर्यबहादुरजीको घर प्राङ्गणमा भएको भेलाले सहमति गरेको थियो। त्यस समयमा ७० वटा जिल्लाका सभापति थिए। सभापतिहरुको अघि हामी चुनाव नलड्ने र पार्टी एकताका लागि यो एउटा नौलो प्रयोग गरौं भनेर भन्यौं। यो कति सफल हुन्छ हेरौँ। सफल भयो भने अघि पनि लैजाउँला भन्ने सहमति भयो। सबैले यो ठीक हो भने। यो विषयमा सबैभन्दा पहिले हामी सहमतिसाथ जाने हो भनेर सूर्यबहादुरजीले, त्यसपछि लोकेन्द्रबहादुरजीले, त्यसपछि पशुपतिशमशेर र त्यसपछि मैले भाषण गरेको हो। त्यहाँ त्यो परित भयो। त्यसैको आधारमा भोलिपल्ट अधिवेशनले पारित गरेको हो। त्यही मान्यता र संरचनाका आधारमा जाने सहमति भएको हो। 

यस विषयमा सूर्यबहादुरसँग छलफल भएन? 
सूर्यबहादुरजीको कार्यकाल ६ गते सकियो। ७ गते उहाँले म निवृत्त हुन्छु भन्नुभयो। म र लोकेन्द्रजी जेठ २ गते भेट्न गएका थियौं। त्यस समयमा उहाँले ५–६ महिना बिरामी परे पनि मेरो स्वास्थ्य ठीक छ तर म छाडुँला भन्नुभयो। हामीले सहमतिअनुसार गर्नुपर्योस नि भन्यौं। तर उहाँले त्यसमा केही बोल्नुभएन। यसबारे विचार गरेको छैन भन्नुभयो। राजनीतिमा सबै कुरा लिखितम् भनेर गरिँदैन। म पनि सत्तरी वर्ष पुगेँ, सूर्यबहादुरजी ८७ वर्ष पुग्नुभएछ। यतिको उमेर पुगिसकेका मानिसले आफूले गरेको प्रतिबद्धता लिखित खोइ भनेर सोध्नु भन्दा गलत केही हुन सक्दैन। अनि निवृत्त भन्ने शब्द प्रयोग गर्नुभएको छ। बृहत् नेपाली शब्दकोशमा ४ सय २१ नम्बर पेज हेर्दा पनि हुन्छ। त्यसको अर्थ उहाँ रिटायर हुनुभएको। जुन दिन रिटायर हुनुभयो त्यस दिनदेखि सूर्यबहादुरको वैधानिकता गयो। एउटा कर्मचारी सोमबारको दिन ३० वर्ष पुगेर रिटायर भयो भने मंगलबार सचिवको हैसियसले म निर्णय गर्छु भन्न पाउँदैन। 

राजीनामा दिने र नयाँ छानिने पनि प्रक्रिया हुन्छ। नेतृत्व हस्तान्तरणका लागि बैठकसमेत बोलाइसकेको अवस्था थियो। सडकमा गएर राजीनामा हुँदैन भन्ने धारणा थापाको छ। यस विषयमा के भन्नुहुन्छ? 
निवृत्त हुने भनेपछि राजीनामाको प्रश्न नै आउँदैन। कुनै कर्मचारी निवृत्त हुनका लागि राजीनामा दिनुपर्दैन। कुनै पनि पदका बसेको मानिसलाई एक वर्षपछि तिम्रो कन्ट्याक्ट सकिन्छ भनेपछि राजीनामा दिनुपर्दैन। एक वर्षको अवधि अध्यक्ष हुने भन्ने समक्षदारी हो। निवृत्त हुनुभयो भनेको मेरो एक वर्ष पूरा भयो भनेर छाड्नुभयो। राजीनामाको प्रश्नै आउँदैन। अब सूर्यबहादुरजीले 'म निवृत्त भएँ हाम्रो समझदारी यस्तो हो, त्यसैअनुसार जाउँ' भन्नुपर्थ्याे।' तर उहाँले कहिले पनि भन्नुभएन। तीन करोड नेपालीका अघि दिनुभएको विज्ञप्तिका आधारमा जेठ १८ गतेपछि थापा अध्यक्ष हुनुभएन। त्यसैले हामीले एक वर्षअघि उहाँकै घर प्रांगणमा भएको सहमतिअनुसार वरिष्ठ नेताको हैसियतले लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउनुपर्ने बाध्यता आयो। 
हामीले चुनावपछि चुनावको समीक्षा गर्न बैठक बोलाउनूस् भन्यौँ, तपाईँ अध्यक्ष भएपछिको सफलता के हो, असफलता के हो? त्यसको मूल्याकंन हुनुपर्छ कि पर्दैन भन्यौँ। धेरै पटक अनुरोध गर्दा पनि बैठक बोलाउनुभएन। जब हामीले लोकबहादुरजीलाई अध्यक्ष घोषणा गर्यौँह अनिमात्रै बैठक बोलाउनुभयो। अहिलेको विवादका कारण चुनावको समीक्षा आवश्यक परेन। जुन तरिकाबाट पार्टी चलाइएको छ यो पार्टीबाट धेरैलाई अन्याय भएको छ। इमानदारीपूर्वक भन्दा सूर्यबहादुरजीले एक वर्षे कार्यकालमा पार्टीलाई न्याय गर्न सक्नुभएन। उहाँ सहमतिबाट पछि हट्न खोज्नुभयो। त्यसले पार्टी संगठनप्रति न्याय गर्न सक्नुभएन। आफैँले बोलेको कुरालाई सूर्यबहादुरको हाइटको मानिसले जुन तरिकाले तिरस्कार गर्नुभएको छ, त्यसबाट पार्टीका सिनियर नेताहरु कुमालेको माटो जस्तो मैले चाहेँ भने गाग्रो पनि हुन्छ, चाहिनँ भने गिलास पनि हुँदैन भन्ने मनस्थितिमा देखियो। यसले संस्थागतरूपमा पार्टी चल्न सक्दैन। सूर्यबहादुरजीप्रति आदर रहँदारहँदै पनि बाध्य भएर यस्तो गर्नुपरेको हो। 

सहमति कार्यान्वयन गराउन नदिने तत्वचाहिँ को हो त? 
मैले निरन्तररूपमा केन्द्रीय कमिटीको बैठक बोलाउँ भन्दै आएको छु। संविधान सभा निर्वाचनमा पार्टीले साढे २ प्रतिशतमात्रै मत प्राप्त गर्यो । गत संविधान सभामा एक्लाएक्लै लड्दाको भन्दा पनि घटेको छ। हामीले समीक्षा गरौँ भन्यौ तर सुन्नुभएन। संविधान सभा निर्वाचनमा हाम्रा उमेदवार निर्दलीय उमेदवार जस्तो गरी उत्रिए। पार्टीका सिनियर लिडर्सलाई पनि महाधिवेशन र संविधान सभा निर्वाचनमा कति खर्च भयो, कसरी भयो, कहाँबाट कति उठ्यो थाहा छैन। हिसाबकिताब पारदर्शी छैन। के कारणले उहाँले यी कुरा मान्न तयार हुनुभएन, मैलै बुझेको छैन। 

२०४७ सालदेखि नै पार्टी एकता र विभाजन भोग्दै आएको छ। त्यसैको निरन्तरता हो यो पनि? 
अर्थ लगाउनेका लागि ठाउँ छ त्यो पनि। वास्तवमा यो दुर्भाग्यपूर्ण हो। पार्टी जुन उद्देश्यसाथ जुन उत्साहका साथ एक वर्षअघि स्थापना गरिएको थियो। पार्टीको दृष्टिकोण, दस्तावेज निकाल्नका लागि मैले धेरै मेहनत गरेको थिएँ। एउटा समावेशी राष्ट्रवादी पार्टीका रूपमा, जनपक्षीय उदारवाद भनेर बहुलवादमा विश्वास गर्ने समावेशी उदारवादी पार्टीका रूपमा यसलाई उभ्याउनु र त्यस्तो पार्टी देशमा खाँचो छ भनेर मेहनत गरेर हामी सबै लागेका थियौं। सबैमा उत्साह थियो। तर न कुनै कार्यक्रम आयो न कुनै प्रशिक्षण भयो। न त संगठितरूपमा चुनावमै जान सकियो। केन्द्रीय कमिटी बैठकसम्म बस्न सकेन। उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठक महिनामा एक पटक डाक्नुपर्छ भनेको, त्यो पनि हुन सकेन। पार्टी नै फङ्सन भएन। त्यसैले हाम्रा सम्मानीय अध्यक्षले पार्टीभित्र न्याय गर्न सक्नुभएन्। यस्तो अवस्थामा हामीले सत्यका लागि यो अभियान सुरु गरेका हौँ। 

पञ्चायतकालदेखि नै थापा र चन्द दुई धु्रवमा हुनुहुन्थ्यो। दुवैको व्यक्तित्वको टकरावको कारण यस्तो समस्या उत्पन्न हुन मद्दत गरेको हो? 
मलाई त्यस्तो लाग्दैन। सूर्यबहादुरजीलाई जनशक्ति पार्टी स्थापना हुँदा उहाँका आफ्नै भन्ने मानिसले पनि साथ दिएनन्। त्यो समयमा मैले उहाँलाई साथमात्रै दिएको होइन सात वर्ष काँधमै हालेर दौडिएको हो। व्यक्तित्व वा पुरानो कुरालाई सम्भि्कएर कसैलाई साथ दिएको वा नदिएको होइन। जनशक्तिमा हुँदा कतिपय विषयमा मलाई चित्त बुझ्थ्यो वा बुझ्दैनथ्यो होला तर एउटा सम्मान राखेर संसदको विषयमा पनि कस्तो लाइन लिने भनेर उहाँसँग सल्लाह गथेँ। कहिले पनि मत फरक भएन। सधैँ मिलेरै काम गरेको हो। फरक भने अहिले भयो किनभने एक वर्षअघि गरेको समझदारीलाई कुल्चने काम भयो। त्यसले समस्या ल्यायो। 

थापाले अहिले चन्दलाई अध्यक्ष बनाउन नचाहनुभएर समस्या आएको हो? अरु कसलाई अध्यक्ष बनाउनु चाहनुभएको थियो? 
यो विषयमा म केही बताउन सक्दिनँ। हुनुपर्ने को हो मात्रै भन्छु भने समझदारीअनुसार चन्द हो। तेस्रो वर्ष पशुपतिशमशेरकै हो। तेस्रो वर्ष पशुपतिजीलाई अध्यक्ष बनाउन एक दिनमात्रै ढिलो भने भने उहाँको पछि उभिने म नै हुनेछु किनभने सहमति त्यस्तै हो। 

पार्टीमा सहमति हुने सम्भावना अझै बाँकी छ वा एउटै पार्टीका रूपमा रहन्छ यो?
सूर्यबहादुरजीले एक वर्षअघिको सहमति सम्झनुभयो भने ५ मिनेटमा सहमति हुन्छ। मलगायत धेरै साथी कुनै पनि हालतमा पार्टीलाई एकै बनाएर लैजानुपर्छ भन्ने पक्षमा छौं। २०–२२ वर्षअघि राष्ट्रवादी धारका रूपमा अघि बढाउन खोजेको हो। त्यो धारको अहिले खाँचो पनि छ। त्यसलाई लिएर हिँड्ने शक्ति नेपालमा छैन। त्यो लिएर हिँड्यौ भने धेरै माथि जाने सम्भावना छ। त्यसैले टुटफुटमा जानुहुँदैन भन्नेमा मलगायत धेरै साथी हुनुहुन्छ। अहिले सूर्यबहादुरजी र पशुपतिजीतर्फ रहेका नेता पनि कुनै पनि हालतमा पार्टी फुट्नुहुँदैन भन्ने पक्षमा छन्। यो धारणा ३०–५० वर्ष उमेर समूहका तथा दोस्रो पिँढीका नेतामा बढी छ। जसले १५–२० वर्ष यसमा बिताएका छन् र आफ्नो भविष्यलाई यो पार्टीसँग गाँसेका छन् उनीहरुमा ठूलो चिन्ता र पीडा छ। पार्टीलाई जोगाएर लैजानुपर्छ तर जोगाउने नाममा कसैको आत्मसम्मान र कसैलाई सत्यानास गरेर, आफूलाई सत्यानास गरेर, हिजो भनेको कुरालाई ठाडै उल्लंघन गर्दा पनि त्यसलाई स्वीकार गरेर निरीह भएर बस्नुचाहिँ हुँदैन। 

थापा त चक्रीय प्रणालीको पक्षमा देखिनुभएको छैन। यसलाई कसरी लिनुभएको छ? 
चक्रीय प्रणालीको पक्षमा नभएको भए विधानमा चार नेता भनेर किन लेख्नुभयो त? चक्रीय प्रणालीको पक्षमा नभएको भए महाधिवेशनमा चुनावमा किन नउठ्नुभएको? महाधिवेशनमा अध्यक्षमा उठ्नुभएको भए हुन्थ्यो नि। मलाई पनि राप्रपाको अध्यक्षमा उठ्ने इच्छा थियो किनभने पार्टीको एकताका लागि अहिले यो काम नगरौं भने पछि मैले पनि हुन्छ भनेको हुँ। चार नेता भन्दा हात उठाउँदै किन कार्यकर्ताको अघि आएको? सत्तरी जिल्ला सभापतिको अघि हामी चक्रीय प्रणालीमा जान लाग्यौँ हरेक वर्ष यसरी जाने भनेर प्रतिबद्धता जनाएर उनीहरुको समर्थन किन लिएको? हामी जतिसुकै बूढो भए पनि एक वर्षको कुरा त बिर्सिहाल्दैनौँ नि!

प्रकाशित: २२ जेष्ठ २०७१ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App