१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

उपकुलपति भण्डारीकाे प्रश्नः अक्सिजन छैन, बेड मात्रै भएर के काम ?

जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिजन प्लान्ट छैन । फलतः कोरोना संक्रमितहरुको उपचारमा असहज भैरहेको छ । गत वर्ष नै अक्सिजन प्लान्टको माग गरेको प्रतिष्ठानलाई सरकारले सहयोग गरेन । प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना भैदेको भए बिरामीको स्वास्थ्योपचारमा धेरै सहज हुने थियो । हाल बिरामीको उपचारकै लागि बिराटनगर, पोखरा लगाएतका स्थानबाट अक्सिजन जेनतेन गरेको प्रतिष्ठानले आफ्नै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिरहेको पनि छ । यसै विषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीसंग कुराकानी गरेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीहरुको उपचार ब्यवस्थापन कसरी गरिरहेको छ ?  

हामीकहाँ अस्पतालमा पुरै बेड भनेको १२३ हो । प्रतिष्ठान बेलझुण्डिमा रहेको कोरोना बिशेष अस्पताल जस्तो पनि हैन । बेलझुण्डिमा त कोरोनका बिरामी मात्रै हेर्छ नि त । हामी कहाँ त  कोरोना बाहेकका अन्य बिरामीहरु पनि आउँछन् । यि बिरामीहरुलाई पनि हेर्नै पर्यो । उनिहरुलाई पनि बचाउनु पर्यो नि । कोभिड संक्रमितहरुको उपचारका नाममा अन्य रोगका बिरामीहरुलाई बहिस्कार गर्न पनि त भएन नि । कोरोना बाहेकका बिरामीहरुले प्रति दिन ३० वटा जति बेड लिईरहेका छन् । 

प्राईभेट क्लिनिकहरु बन्द हुँदा प्रतिष्ठानमा कोभिड बाहेकका अन्य बिरामीहरुको चाप बढिरहेको पनि छ । अब यहाँनेर हाम्रो चुनौती के हो त भन्दा उनिहरुको उपचार संगसंगै उनिहरुलाई त्यहि अस्पतालमा रहेका कोभिड संक्रमित बिरामीहरुबाट पनि बचाउनु छ । संक्रमण नभएका अन्य बिरामीहरुलाई संक्रमणको जोखिममा पाुर्न पनि भएन । यसतर्फ हामी सचेत रहेर उपचार गर्न तल्लिन भैरहेका छौँ । अनि कोरोना संक्रमण नभएका बिरामीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्नुका साथै कोरोना संक्रमितहरुलाई उपचार गर्नु पर्ने चुनौती हामीहरुलाई छ ।

नर्सिङ कलेजका लागि भनेर भवन बन्दै गरेको छ, त्यसमा हामीहरुले अहिले आइसाेलेसन सञ्चालन गरेका छौँ । त्यतिले पनि पुगेन । हामीहरुले ओपिडि बन्द गरेर पनि बेडहरु थपेका छौँ । बेडहरु थपेर मात्रै भएन । अर्को मुख्य चुनौती भनेको देशब्यापी समस्याका रुपमा रहेको अक्सिजन अभावनै हो । अक्सिजनको सहज व्यवस्थापन हुन नसक्दा बिरामीहरुलाई कसरी बचाउने भन्न चुनौती हाम्रा सामु निकै जटिल बनेको छ ।

अहिले अक्सिजनको ब्यवस्थापन कसरी भैरहेको छ ?  

अहिले हामीहरुसंग कोरोनाका ४१ जना बिरामी छन् , तर अक्सिजन जम्मा ४० सिलिण्डर मात्रै छ । एकजना बिरामीलाई अक्सिजन दिन पनि सकिएको छैन । उहाँलाई अप्रेशन थिएटरबाट तानेर दिनु पर्ने अवस्था पनि आयो । नेपालगन्जमा सिलिण्डर भर्नका लागि पठाउँछौँ , त्यो भरेर आयो भने हामीहरुलाई केहि सहज हुन्छ । अनि अर्को कुरा के छ भने पहिलेको भन्दा अक्सिजनको मात्रा धेरै चाहिने बिरामीहरु धेरै छन् ।

यसले गर्दा पनि अक्सिजन ब्यवस्थापनको समस्या धेरै छ । मुख्यतः भेन्टिलेटर चाहिने बिरामीहरुको उपचारमा अलि गाह्रो भैरहेको छ । हामीसंग ७५ वटा सिलिण्डर खाली छ , त्यो ति सिलिण्डरमा अक्सिजन भर्ने कहाँ ? जिल्लामा भएको समस्या यो हो । हामीहरुले अक्सिजन भर्नका लागि सिलिण्डरहरु सुनसरी र बिराटनगर पठाएका छौँ, केहि अक्सिजन पोखराबाट आएको छ । अहिले हाम्रो प्रतिष्ठानको अस्पतालको कुरा गर्नुहुन्छ भने बेड भन्दा पनि मेन समस्या भनेको अक्सिजन नै हो । बेड अभाव हाम्रोमा छैन । अहिलेको बिरामीहरुको उपचारका लागि बेडको ब्यवस्थापन हाम्रो अस्पतालमा राम्रो भैरहेको छ ।  

दाङमा अक्सिजन प्लान्टको तयारी पहिले नभएको हो ? फलतः अहिले यो समस्या निम्तीयो ?  

हामीहरुले जिल्लामा अक्सिजन प्लान्ट अनिवार्य छ त्यसको ब्यवस्थापन हुनुपर्छ भनेर पोहोर देखि भन्दै आयौँ । किनकी पहिलो लहरको कोरोनाले अक्सिजन प्लान्टको आवश्यक्ता बोध गराईदिएको थियो । फेरी अक्सिजन त कोरोना नभएका बेला पनि चाहिने चिज हो नि । तर पनि कोरोनाको महामारी सुरु भएपछि अक्सिजन प्लान्टको आवश्यक्ता टड्कारो रुपमा देखियो । पोहोर हामीहरुले अक्सिजन प्लान्टको माग गर्दा सरकारले रेस्पोन्सनै गरेन । यहाँनेर सरकारको अदूरदर्शिता छ । 

दोस्रो लहरको कोरोना संक्रमण युरोपमा फैलिईसकेको थियो, त्यो संक्रमण नेपालमा आउने खतरा बढेको थियो नै । अनि तीन महिना अगाडी भारतमा महामारीकै रुपमा कोरोना फैलिईसक्दा पनि यसतर्फ ध्यान दिईएन । भारतमा महामारी फैलिएपछि त नेपालमा दोस्रो लहरको कोरोना आउँछ भन्ने त कुनै शंका थिएन नि । तीन महिना अगाडी भारतमा ब्यापक रुपमा फैलिईसक्दा पनि जिल्लामा अक्सिजनको प्लान्ट राख्न सरकारले किन चासो दिएन त ? चासो दिनुपथ्र्यो नि । त्यो बेला चासो दिएको भएपनि हामीहरुले अहिले सम्म अक्सिजन पलान्ट जडान गरिसकेको हुन्थिम् । 

प्रतिष्ठानलाई नै अक्सिजन प्लान्ट चाहिन्छ भनेको हैन नि । तुलसपुर, या बेलझुण्डि अस्पताल जहाँ भएपनि प्लान्ट राखेको भए जिल्लामा अक्सिजनको सहजता हुने थियो नि । हामीहरुसंग आईसियु छ । नर्मल बिरामीहरुका लागि समस्या छैन । तर कोभिडका बिरामीहरुलाई आईसियुमा राखेर उपचार गर्न सकेका छैनौँ । यसको प्रमुख कारण भनेकै अक्सिजनको अभाव  हो । नर्मल केसका बिरामीहरुलाई तीन लिटर अक्सिजनले धान्छ, तर कोभिडका बिरामीहरुलाई त बीस पच्चिस लिटर अक्सिजन आवश्यक भैरहेको छ । दुई घण्टामै अक्सिजन भ्याईसक्छ । 

दाङमा अक्सिजन प्लान्ट भएको भए त हामीहरुले अक्सिजन आपूर्ति सहजतासंगै आईसियु पनि सञ्चान गर्न सक्ने थियौँ । अहिलेको यो महामारीको बेला एक स्थानमा मात्रै हैन, कम्तिमा तीन स्थानमा अक्सिजन प्लान्ट हुनुपर्ने देख्छु म त ।  

गत चैतमा अक्सिजन  प्लान्टको सम्झौता भएको छ, अबको दुई हप्ता भित्रमा यहाँ अक्सिजन प्लान्ट सुरु हुनेगरि काम अगाडी बढाएका छौँ । तर यो गत बर्षनै गरिनुपथ्र्यो, ढिला भयो । गत बर्षनै अक्सिजन प्लान्टका लागि काम गरिदिएको भए अहिले अक्सिजनको यो जटिलता आउने थिएन ।  

प्रतिष्ठानमा आउने बिरामीहरु सबै गम्भिर अवस्थाका मात्रै हुन् ?  

अहिले अस्पतालमा आउने बिरामीहरुको अवस्था सबैको क्रिटिकल नै हो । सबै बिरामीहरुको अवस्था हेर्ने हो भने त कुन चाहिँ सबै भन्दा बढि सिरियस भन्ने अवस्था आईसक्यो । यति सिरियस बिरामीहरु हुनुहुन्छ, घरमा पठाउनै नसकिने खालका छन् । बेड छन् तर बेड मात्रै भएर पनि त भएन नि त्यस्ता बिरामीहरुको उपचारका लागि त अक्सिजनसहितको बेड चाहियो नि । यसतर्फ सरकारले ध्यान दिनु पर्छ । कोडिभका मात्रै हैन, अन्य रोगका बिरामीहरुको ज्यान पनि अक्सिजन  अभावमा जोखिममा परिरहेको छ । अक्सिजन मात्रै एकदमै कम भएका तर कोभिडको रिपोर्ट आईनसकेका बिरामीहरुलाई कसरी अक्सिजन दिने ? यस्ता बिरामीहरुलाई पनि हामीहरुले म्यानेज गरेर उपचार गरिरहनु परेको छ ।  

यो भयावहलाई टार्न के गर्न सकिएला ?  

स्थिती अँझै भयावह बन्ने देखिएको छ । तर पनि हामी अँझै सचेत बन्न सक्यौँ भने समय छ । साउन भदौ सम्म यो महामारी अँझ उच्च भएर जाने अवस्था छ । हामीकहाँ त अहिले सुरु भएको छ । मले फेरी पनि भन्छु , अहिलेको समस्या भनेको मुख्यगरि अक्सिजननै हो । भारतमा तीन महिना अगाडी फैलिईसक्दा हामीहरु किन तयार भएनौँ ? हामीहरु त्यहि बेला सचेत हुनुपर्दैनथ्यो ? तैपनि बिगत के भयो ? भन्ने तिर भन्दा पनि अब के गर्न सकिन्छ ? भन्ने तर्फ सबैको ध्यान जानु जरुरी देख्छु म । त्यति धेरै ढिलो भैसकेको पनि छैन । आज बनाएकोले भोली काम लाग्छ, फलतः अक्सिजन प्लान्ट स्थापनालाई सरकारले जोड दिनै पर्छ । यसैपनि यहाँ पूर्वाधार बनाउनै छ भने अहिले नै किन नबनाउने ? अक्सिजन, स्वास्थ्य उपकरण सहितको पूर्वाधार सम्पन्न अस्पताल सञ्चालनमा ध्यान दिन सके अँझै पनि महामारीलाई क मगर्न सकिन्छ जस्तो लाग्छ मलाई ।  

दाङमै केही दिन अघि एउटा प्लान्ट सञ्चालनमा आयो, त्यसले कति सहज भएको छ ? 

यो प्लान्टले केहि सहज बनाएको छ । तर पर्याप्त भने हुने कुरै भएन । हामीहरुले प्लान्टबाट १०/१२ वटा सिलिण्डर आयात गरिरहेका छौँ । तर प्रतिष्ठानमा उपचाररत बिरामीहरुको संख्यालाई हेर्ने हो भने त यसले पर्याप्त हुने कुरै भएन । नत्र भने हामीहरुले नेपालगन्ज, बिराटननगरको आश किन गर्नुपथ्र्यो र ? तैपनि केही सहज भएको चाहिँछ । यो प्लान्टले पनि तुलसीपुर, बेझुण्डिमा पनि उपलब्ध गराउनु परिरहेको छ । फलतः प्रतिष्ठानलाई मात्रै यो प्लान्टबाट उपलब्ध हुने कुरा पनि भएन ।    

अक्सिजन अभावका कारण नै बिरामीहरुको अवस्था जटिल बन्ने गरेको हो ?

हैन, बिरामीहरुको स्वास्थ्य जटिल बन्नुको एक मात्रै कारण अक्सिजन मात्रै हैन । अहिलेको कोरोना भाईरसको संक्रमण पहिलेको तुलनामा बढि जटिल प्रकारको छ । अहिले यो संक्रमणले छोएका बिरामीहरुको स्वास्थ्य जटिल बन्ने गरेको छ । अतः सर्वसाधारणहरु यो जोखिमबाट जोगिनका लागि आँफै संवेदनशिल बन्नु पर्ने हुन्छ । घरमा बसिरहेका नागरिकहरुलाई संक्रमणको जोखिम त कम छ नि । अतः हाम्रो सचेतता यो संक्रमणबाट जोगिने पहिलो कारण हो । र संक्रमण भएका बिरामीहरुलाई निमोनियाँले आक्रमण गरिरहेको हुन्छ । यस्तो बेलामा अक्सिजन ज्यादै अपरिहार्य हो । तर त्यहि अक्सिजन नहुँदा बिरामीहरुलाई थप असहज बन्दै जान्छ ।    

अब अन्त्यमा , कोरोना संक्रमणको उपचारका लागि प्रतिष्ठानको जनशक्ति ब्यवस्थापनको पाटो कस्तो छ ?

हामीहरुले हाम्रो स्रोत साधनले भ्याए सम्मको जनशक्ति कोभिड संक्रमितको उपचारमा खटाएका छौँ । हाम्रा स्वास्थ्यकर्मीहरु दिनरात नभनि संक्रमितको उपचारमा खटिईरहनु भएको छ ।  र हामीहरुले कोभिडको उपचारकै लागि भनेर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि जनशक्ति पाएका छौँ । उहाँहरुले हामीहरुलाई जनशक्ति पठाईदिएर सहयोग गर्नुभएको छ । यो अर्को सकारात्मक पाटो पनि हो । र समग्रमा भन्दा अहिले कोभिडको उपचारका लागि हामीसंग जनशक्ति फुलफिल नै छ । जनशक्तिको अभावमै बिरामीको उपचार प्रभावित भएको छैन । कोरोना संक्रमण नभएका बिरामीहरुका लागि पनि हामीहरुले जनशक्ति उत्तिकै खटाएका छौँ । समग्रमा भन्दा अहिले कोरोना संक्रमण भएका वा नभएका बिरामीहरुको उपचारमा जनशक्ति अभावले प्रभावित पारेको छैन ।

प्रकाशित: ३१ वैशाख २०७८ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App