३ जेष्ठ २०७८ सोमबार
अन्तर्वार्ता

'क्षमता भन्दा बढी बिरामी राखे अक्सिजन सिस्टमले धान्नै सक्दैन'

बाँकेमा कोरोना भाईरसको संक्रमण दिनहुँ बढिरहेको छ । संक्रमितको चापले गर्दा भेरी अस्पतालका बेड भरिभराउ मात्र छैनन्, अस्पतालले थेग्नै गाह्रो भइरहेको छ । अस्पतालमा प्रायः गम्भिर अवस्थाका संक्रमित भर्ना भएका छन् । उनीहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक(एनेस्थेसियोलोजिष्ट) को अहिले पनि अभाव छ । कोभिड वार्डमा अहिले चौबिसै घण्टा खटिरहने एक मात्र एनेस्थेसियोलोजिष्ट हुन्, डा. पारश पाण्डे । विगत दुई वर्षदेखि भेरी अस्पतालमा कार्यरत उनी नवौ तहका विशेषज्ञ चिकित्सक हुन् । भेन्टिलेटर, आईसियु कक्षमा खटिएर जटिल खालका बिरामीको विगत दुई वर्षदेखि सेवारत छन् । अस्पतालमा कोरोना संक्रमितको उपचार लगायत विविध विषयमा डा. पाण्डेसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको कुराकानी :  

अस्पतालमा तपाई एक मात्र एनेस्थेसियोलोजिष्ट हुनुहुन्छ, अरु जनशक्ति थप्ने योजना कहाँ पुग्यो ?

भेरी अस्पतालमा अहिले म बाहेक अरु कोही छैन । एनेस्थेसियोलोजिष्टको जनशक्ति नै छैन बजारमा । कतिपय जनशक्ति भएपनि थोरै समयका लागि आफ्नो काम छाडेर आउँदैनन् । मुख्य कुरा भनेको छोटो समयका लागि कोहीपनि आउन चाहदैनन् । भेरी अस्पतालले केहीदिन अघि तीन जनाको लागि सूचना निकालेको थियो, कोहीपनि आएनन् । हाम्रो सरकारी संयन्त्र त्यस्तै छ । महामारी २÷३ महिना मात्र चल्छ भन्ने बुझाई छ । मैले त पोहोर साल नै सुझाव दिएको हुँ, मेरो सुझाव लागु नै भएन ।

कोभिड वार्डमा तपाई एक्लै खटिनु भएको छ, कसरी सम्भव भएको छ ?

अहिलेसम्म म एक्लै छु । म बाहेक अरु एक जना पनि छैन एनेस्थेसियोलोजिष्ट । मैले अहिलेसम्म सक्दो हिसाबले काम गरिरहेको छु । भ्याएसम्म काम गरिरहेको छु ।  

भेरीमा अहिले भेन्टिलेटर कति वटा चलिरहेको छ ?

हामीसँग भएको जति लगभग सबै चल्ने बेला भइसक्यो । अक्सिजनले नधानेर मात्रै हो । अहिले ९ वटा जति भेन्टिलेटर चलिरहेको छ । अस्पतालसँग २० वटा जति भेन्टिलेटर छ । २० मध्ये ३/४ वटा जडान भएको छैन । कुनै सामान भर्खरै आएको छ । कम्पनीको मान्छे नआउँदासम्म खोल्न मिल्दैन ।

तपाई पटक–पटक कोभिड वार्डमा पुग्नुपर्छ, धेरै स्वास्थ्यकर्मी संक्रमित भईसक्नु भयो, अहिलेसम्म तपाई कसरी जोगिनु भएको छ ?

अहिलेसम्म धेरै जना चिकित्सक, स्टाफ नर्ससहित अन्य कर्मचारी संक्रमित भईसक्नु भएको छ । तर, मैले अहिलेसम्म कोभिड चेक गराएको छैन । चेक गराएको भए पोजेटिभ आउथ्यो होला । संक्रमित स्वास्थ्यकर्मीहरु अस्पतालभित्रै बसेका छन् । यदी परीक्षण गर्ने हो भने अस्पतालका शत प्रतिशत कर्मचारीलाई कोरोना पोजेटिभ देखिन्छ । तर लक्षण नदेखिदै परीक्षण गर्ने कुरा पनि भएन । अस्पताल नै बन्द हुन सक्छ । सबैले परिक्षण गराएर बिदा बस्न थाले भने त सबै बिग्रिन्छ ।

अस्पतालमा अहिले खास समस्या के देख्नुहुन्छ ?  

महामारीको लागि यो अस्पतालको क्षमता नै सानो हो । खासमा अक्सिजन सुबिधासहित अस्पतालको क्षमता एक सय ४० बेड मात्र हो । अहिले अस्पतालमा २ सय ७० भन्दा बढी संक्रमित भर्ना छन् । क्षमताभन्दा बढी बिरामी राखेपछि हाम्रो अक्सिजनको सिस्टमले धान्नै सक्दैन । सरकारी अस्पताल भएको हुँदा बिरामी फर्काउन पाइदैन । त्यसकारण जति बिरामी आएपनि राखेर उपचार गर्नुपर्ने अवस्था छ । हामीले अस्पतालभित्रै बेड थप्ने योजना बनायौ भने अक्सिजन सिस्टम नै बन्द हुन्छ । कुन दिन यस्तो अवस्था आउँछ, अक्सिजनको सिस्टम बिग्रिन्छ, त्यसपछि सबै डामाडोल हुन्छ ।

संक्रमितको सहज उपचार गर्नका लागि के गर्नुपर्ला ?

अस्पतालमा जनशक्ति थपेर मात्र केही हुदैन । हाम्रो सिस्टम नै सानो छ । एक हजार बेडको अस्पताल बनाउनुपर्छ भन्छन् मान्छेले । तर, एक हजार बेडको अस्पताल बनाउनका लागि ब्यवस्थापन प्रणाली नै छैन । बरु गाउँपालिका/नगरपालिका स्तरमा २०/२५ बेडको आइसोलेसन स्थापना गरियो भने त्यो नै उत्तम हुन्छ । नागरिकले आफ्नो ठाउँमा सहज रुपमा उपचार पनि पाउँछन् ।

अन्य अस्पतालमा पनि संक्रमितको उपचार गर्ने ब्यवस्था मिलाउनुपर्ने माग नागरिक स्तरबाट भइरहेको छ नि ?

हो, नेपाली सेना र प्रहरी अस्पतालमा कोभिडका बिरामीको उपचार गर्नुपर्ने चर्चा चलिरहेको छ । तर, ति अस्पतालमा १५/२० जति बेड होलान् । त्यहाँ आइसोलेशन बनाएर कति धान्ला ? ति अस्पताललाई स्वास्थ्य सामाग्री कस्ले दिने ? पिपिई कस्ले दिने ? त्यहाँ थोरै तयारी गरेर बसेका छन् । प्रहरी र सेनाको अस्पतालमा आफ्नै स्टाफ संक्रमित भएपछि भर्ना गर्न सक्ने स्थितीमा छैनन् । कसरी कोभिड अस्पताल चलाउन सक्छन् । बरु खजुरामा चलाउन सम्भावना छ । त्यहाँ पनि क्यान्सरका बिरामी छन् । तर, त्यहाँ चलाइयो भने त्यहाँ जनशक्ति छ, पुग्छ होला ।  

आईसोलेसनमा गुणस्तरिय स्वास्थ्य जनशक्ति पुर्‍याउन सम्भव होला ?

गाउँपालिका र नगरपालिका स्तरमा स्वास्थ्य जनशक्ति पर्याप्त नै छन् । अहिलेसम्म प्रयोग नगरेर मात्र हो । पछिल्लो समयमा पालिका स्तरमा पनि आईसोलेसन बनिरहेका छन् । यो सकारात्मक कुरा हो ।

अस्पतालमा पुगे पनि संक्रमितको मृत्यु किन भइरहेको छ ?

अहिले नयाँ भेरियन्टको भाईरसले छिटो आक्रमण गरिरहेको छ । पोहोरको जस्तो छैन अहिले । पोहोर साल बिरामी सिरियस हुन एक/दुई हप्ता लाग्थ्यो, अहिले त २४ घण्टाभित्रै सिरियस हुन्छ । सिरियस हुने बिरामी ठिक हुन्छ कि हुन्न, बाँच्छ कि बाँच्दैन भन्ने कुरा २४ घण्टाभित्रै थाहा पाईन्छ । चाहे २० वर्षको होस्, चाहे ५० वर्षको होस् । लक्षण आउन थालेको २४ घण्टा अथवा एक/दुई दिनभित्रमा पुरै निमोनिया डेभलप भयो भने त्यो कसैको हातमा छैन । तर सामान्य शरिर दुख्ने भयो र थोरै अक्सिजन लगाउने भयो भने सुधार हुने सम्भावना हुन्छ । थोरै भएपनि अक्सिजनको सुबिधा पाउने हो भने मान्छे धेरै बाँच्छन् । त्यसका लागि संक्रमितलाई पहिल्यै अक्सिजनको ब्यवस्था हुनुपर्यो ।

अक्सिजन लेभल कति पुगेपसिछ संक्रमित बाँच्ने सम्भावना रहन्छ ?

हामीले पहिले अक्सिजन लेभल ९४ भन्थ्येऔं । अहिले ९४ पुर्‍याउन पनि मुस्किल छ । ९० भन्दा कम भयो भने मात्र अस्पताल आउने हो, अहिलेको अवस्थामा । अहिले त ९४ भन्दा कम अक्सिजन मात्रा भएका १ हजार भन्दा बढी संक्रमित होलान् । तिनीहरु सबैलाई अस्पतालमा ल्याएर राख्न त सकिदैन । सामान्य मान्छेमा अक्सिजन लेभल ९५ देखि एक सय हुन्छ । बुढो मान्छे अथवा दमको बिरामीमा ८५ देखि ९० पनि नर्मल मान्नुपर्छ । तर कोभिडमा ९४ भन्दा कम भयो सामान्य मानिदैन । अक्सिजन लेभल ६०–७० भएका संक्रमित अस्पतालमा आउने गरेका छन् । तर, समुदाय स्तरको आइसोलेशनमा पहिल्यै अक्सिजन पाए भने बिरामी चाडो निको हुन्छ । यो महामारी हो, अब त चउरमा टेन्ट टाँगेर उपचार गर्ने बेला आईसक्यो । मान्छेले अझैपनि आईसियु सुबिधा चाहियो भनिरहेका छन् । आईसियु सुबिधा अस्पतालका बिरामीलाई त दिन पाइएको छैन ।

प्रकाशित: २१ वैशाख २०७८ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?