पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा शनिबार दिउँसो यात्रुबाहक सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।
उर्लाबारी नगरपालिका–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२६२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ८८३१ नम्बरको बस एकआपसमा ठोकिँदा भएको दुर्घटनामा परी झापा, मोरङ र सुनसरीका यात्रुहरु घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–३ का ५५ वर्षीय गंगाराम गुरुङ, रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय कृष्ण लिम्बू, रतुवामाई–६ की ४२ वर्षीया छविमाया तामाङ, रतुवामाई–९ का २६ वर्षीय रुपेश तामाङ, मिक्लाजुङ गाउँपालिका–८ का ३९ वर्षीय कूलबहादुर लिम्बू, उर्लाबारी नगरपालिका–९ की ६० वर्षीया मिकुमाया लिम्बू घाइते भएका छन् ।
त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–४ खनारका २० वर्षीय आशिष चौधरी, झापाको बिर्तामोड नगरपालिका–८ का ३४ का जितबहादुर राई, झापा गाउँपालिका–७ की ४० वर्षीया निशा लिम्बू, दमक–४ का ३२ वर्षीया कौशिला रिजाल, दमक–१ का २५ वर्षीय सुजन लिम्बू, दमक–२ का २५ वर्षीय प्रदीप लिम्बू र अर्जुनधारा नगरपालिका–१ का ३९ वर्षीय रनबहादुर तामाङ घाइते भएका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल नेतृत्वको टोलीले तत्कालै उपचारका लागि उर्लाबारीकै अरनिको अस्पतालमा लगेको थियो । अस्पतालमा केहीको उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन् । अस्पतालमा उपचार गराइरहेकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको बस र बस चालकहरु उर्लाबारी–२ का ३१ वर्षीय लेखबहादुर कटवाल र झापा मेचीनगर नगरपालिका–७ का ३० वर्षीय सन्देश सिवाकोटीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ७ चैत्र २०८२ १८:०२ शनिबार





