coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

हामीसँग संक्रमणको चक्र तोड्नुको बिकल्प छैनः मन्त्री यादव

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाइरहेका बेला टाँसिएकै प्रदेश २ मा पनि जोखिम पुनः बढेको छ । भारतसँग खुला सिमाना भएको प्रदेश २ मा अहिलेको परिस्थितिमा के कस्ता चुनौती छन् ? यसै विषयमा प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसँग गरिएको कुराकानीः

यस प्रदेशमा कोरोना संक्रमण अवस्था र चुनाैती कस्तो छ ?

जनसंख्या धेरै भएको प्रदेश हो यो । बसोबास पनि सघन छ । भारतसँग सीमा जोडिएको प्रदेश हो । यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा छन् । उता संक्रमण फैलिएपछि उनीहरू घर फर्किनु स्वभाविक हो । अहिले फर्किनेहरूको भीड त छैन । तर नहोला भन्न सकिने अवस्था छैन । उनीहरूको व्यवस्थापन नै पहिलो चुनौती हो । यस प्रदेशमा भारतबाट संक्रमण बोकेर फर्किनेहरूको व्यवस्थापन नै प्रमुख चुनौती हो ।

यस प्रदेशको पर्सा जिल्लामा संक्रमण दर उच्च देखिएको छ । संक्रमणको चक्रलाई तोड्न बिहीबारबाट पर्सामा बन्दाबन्दी गरिएको छ । संक्रमितको पहिचान, परीक्षण र उपचारको व्यवस्थालाई भरपर्दो बनाउने प्रयास थालिएको छ ।  

संक्रमणको जोखिम बढेसँगै भारतबाट कति नेपाली नागरिक फर्किने अनुमान गर्नुभएको छ ?

भारतमा तीव्र गतिमा संक्रमण फैलिरहेको छ । धेरै प्रान्त र सहरहरुमा बन्दाबन्दी छ । मानिसहरूले आफूलाई कुन हदसम्म असुरक्षित ठान्छन् त्यसमा निर्भर पर्छ । संक्रमणको चक्र लम्बियो भने यस प्रदेशका विभिन्न जिल्लामा दैनिक सयौं नेपाली नागरिक फर्किन्छन् । अवस्था असमान्य भयो भने कामका लागि भारतको विभिन्न प्रान्तमा गएका नागरिकहरु फर्किन्छन् । यो संख्या हजारौमा हुन सक्छन् ।

यति धेरै मानिस घर फर्किए भने कसरी सम्हाल्नुहुन्छ ?

आफ्नो नागरिकलाई जसरी पनि सम्हाल्नै पर्यो नि । गाह्रो पर्छ तर सम्हाल्छौं । भारतको विभिन्न प्रान्तमा रोजगार गरिरहेकाहरू रोजगार गुमाउने अवस्था आयो भने सम्हाल्न गाह्रो पर्छ । रोजगार रोकिएपछि उनीहरू त्यहाँ रोकिने सवालै हुँदैन । सबै फर्किन्छन् ।  

भारतबाट फर्किने मानिसलाई कहाँ कसरी व्यवस्थापन गर्ने योजना बनाउनुभएको छ ?

प्रदेश सरकारले पोहोर त सहजै सम्हालेकै थियो । तर यसपाली त्यती सहज नहोला । प्रदेश सरकारको पहलकदमी, गम्भीरता र सक्रियतामा कुनै कमी छैन, हुँदैन । पालिकाहरुमा क्वारेन्टिनको व्यवास्थापन गर्न स्थानीय तहसँग समन्वय भैरहेको छ । सीमामा होल्डिङ स्टेसन बनाउन सुरु गरिएको छ । यस प्रदेशको ११ वटा नाकाबाट आउजाउ खुल्ला गरिएको छ । सो नाकाहरुमा होल्डिङ स्टेसन स्थापना गरेर जो जुन पालिकाका छन् त्यो पालिकाको जिम्मा लगाएर क्वोरन्टिनमा पठाउँछौं । त्यहाँ परीक्षण गरेर संक्रमित पहिचानको काम हुन्छ । संक्रमित देखिएकालाई आइसोलेसनमा पठाउँने व्यवस्था मिलाइएको छ ।

संक्रमितहरूको उपचारका लागि कस्तो बन्दोबस्त छ ?

यो रोगको यकिन औषधि अझै छैन । आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गर्ने हो । त्यही भएर जिल्ला अस्पतालहरूमा आइसोलेसनको आयतन बढाउने तयारीमा छौं । आठवटै जिल्ला अस्पतालमा आइसोलेसनको बन्दोबस्त छ । पिसिआर परीक्षणको व्यवस्था पनि आठवटै जिल्लामा छ । जनकपुरधाममै कोरोनाका विरामीका लागि अस्पताल तयार हुँदैछ । अहिले प्रादेशिक अस्पतालमा आइसोलेसनको व्यवस्था छ । संक्रमितको संख्या बढ्दै गएपछि सकेजति आइसोलेसनको व्यवस्थापन गर्छौं । हामीले सकेजति गर्छौ ।  

भारतमा अक्सिजन सिलिन्डरको हाहाकार देखिएको छ । सीमा जोडिएको यस प्रदेशबाट सिलिन्डर पारि तस्करी भैरहेको सूचना तपाइसँग आएको छ  ?

हो, आएको छ । यस प्रदेशको आठ वटै जिल्लाको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । केही व्यक्तिहरुले यहाँबाट अक्सिजन सिलिन्डर पारि पुर्‍याइरहेको सूचना आएपछि सुरक्षा बैठक बोलाएर यस प्रदेशका सुरक्षा प्रमुखहरुलाई कडाई गर्न निर्देशन दिएको छु । यस प्रदेशमा संक्रमणको दर तीव्र रुपमा बढिरहेकोले अक्सिजनको मौज्दात र सिलिन्डरको बन्दोबस्त चुनौती बन्न सक्छ । अक्सिजन भएपनि सिलिन्डर नहुँदा अवस्था विग्रिन सक्छ भनेर सीमामा पूर्ण कडाई अपनाउन भनिसकेको छु ।

सीमा टाँसिएकोले पारिका मानिस खेती गर्ने, नाता मान्ने बहानामा बेरोक वारि आउने क्रम रोकिएको छैन नि ?

हो, यो बडो चुनौतीपूर्ण छ । खुल्ला सीमानाका कारण उत्ताबाट मानिसहरु यता आउने यताका मासि किनमेल गर्न उता जाने क्रमलाई रोक्न चुनौती थपिएको छ । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, एसपीहरु र प्रदेशका सुरक्षा प्रमुखलाई खुल्ला सिमानाको फाइदा उठाउँदै भैरहेको सघन आउजाउ रोक्न निर्देशन दिएको छुँ । तोकिएको नाकाबाहेकका नाकाबाट आउनलेलाई कडाइ गर्न भनेको छु ।

यही रफ्तारमा संक्रमण फैलिरहे यस प्रदेशमा कति जति मानिस संक्रमित हुन सक्छ, प्रक्षेपण गर्नुभएको छ ?

हो, यो महत्वपूर्ण कुरा हो । हामीले स्वास्थ्य विज्ञहरुलाई यसबारे गृहकार्य गर्न भनिसकेका छौं । शुक्रबार बस्ने प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकमा विज्ञहरुले यसबारे गरेको अध्यन साझा गर्नुहुने छ । सोही आधारमा हामीले थप सतर्कता, सावधानी र नियन्त्रणकारी उपायहरु अबलम्बन गर्ने गराउने छौं ।  

यही रफ्तारमा संक्रमण फैलिरहने हो भने यस प्रदेशले संक्रमीतको उपचार धान्न सक्छ ?

कसरी सक्छ । सम्भव नै छैन नि । त्यही भयावह अवस्था नआओस भनेर हामीले सारा ध्यान स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनमा केन्द्रित गरेका छौं । मापदण्ड पालना गरे मात्र नियन्त्रण सम्भव छ । उपचारमा त शक्तिशाली राष्ट्रहरुको बेहाल अवस्था छ भने हाम्रो प्रदेश हरेक हिसावले कमजोर छ । पूर्वाधार, जनशक्ति, उपकरण सबैमा हामी कमजोर छौं । त्यही भएर संक्रमणको चक्रलाई फैलिनबाट रोक्नुमै सबैको हित सुरक्षित छ । लापरबाही, हेल्चक्र्याइँ गरे सम्हाल्न नसक्ने अवस्था आउँछ । फेरि पनि म सम्पूर्ण प्रदेशवासीलाई आग्रह गर्छु, स्वास्थ्य मापदण्ड पालना गरेर आफू, आफ्नो परिवार र प्रदेशवासीको ज्यान सुरक्षा गरिदिनुहोस् ।

प्रकाशित: १७ वैशाख २०७८ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App