माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र संघर्षमा फौजी आक्रमणमा बारम्बार सुनिएको नाम हो– पासाङ । रोल्पाका पासाङको वास्तविक नाम नन्दकिशोर पुन हो । सशस्त्र संघर्षमा जति उनको नाम सुनिन्थ्यो, शान्ति प्रक्रियापछि भने कम चर्चामा रहे । माओवादी लडाकाका कमान्डर पासाङ यसअघि सेना समायोजनको भूमिका निर्वाह गर्नुपर्ने भएकाले सार्वजनिक पद नलिएको बताउँछन् । बुलेटबाट सत्ता कब्जाका लागि कमान्डर बनेका पासाङ पछिल्लो पटक दोस्रो संविधान सभा चुनावका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा एकीकृत माओवादीबाट उमेदवार बनेका छन् । एकीकृत माओवादीमा युवा र पूर्व लडाकाको समेत कमान्ड गरिरहेका पासाङ बुलेटपछि ब्यालेटको लडाइँ कसरी लड्दैछन् ? यही सेरोफेरोमा रहेर पासाङसँग नागरिकका उजिर मगर र प्रशान्त लामिछानेले गरेका छोटो कुराकानी:
निर्वाचनमा तपाईँको तयारी कसरी अगाडि बढिरहेको छ ?तयारी भइरहेको छ । निर्वाचन परिचालन समिति बनाएका छौं । यस्तो समिति क्षेत्रीय र गाविस स्तरमै छ । क्षेत्र र बुथ स्तरमा पनि पार्टी कमिटी बनेका छन् । यिनै कमिटीमार्फत निर्वाचन प्रचार अभियान सुरु गरेका छौंं । दसैं सँगसँगै घरदैलो अभियान पनि सुरु गर्दैछौं ।
रोल्पाको मान्छे आएर काठमाडौंमा उठ्यो भन्ने पनि छन् नि ?
सामान्यतः विरोधीहरुले चलाउने हल्ला र आतंकित मानसिकता हो जस्तो लाग्छ । जनयुद्धको सुरुवात् रोल्पाबाट भएको हो । गणतन्त्र प्राप्तिका लागि जनयुद्ध भएकाले विचार विकासका दृष्टिले भन्दा हिजो एकदमै दुर्गम रोल्पाबाट जनयुद्धको विचार र नेतृत्व विकास भएको हो । जसले सिंगो नेपाललाई नै नेतृत्व गरेको थियो । अहिलको जल्दोबल्दो एजेन्डा गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता, समानुपातिक र पहिचानको मुद्दालाई नेतृत्व गरेकाले त्यो कहीँ न कहीँ रोल्पासँग जोडिएको छ । यसैले कसैका लागि रोल्पा आतंक बनेको हुन सक्छ । कतै हाम्रो पराजय हुने हो कि, रोल्पाले नै सिंगो देश लैजाने हो कि भन्ने आतंकित मनस्थितिका कारण त्रासले यो हल्ला चलाइएको हो । हो, रोल्पामा शोषित उत्पीडित जनता छन्, हिजोको केन्द्रीकृत राज्य व्यवस्थाद्वारा हेपिएको र फरकखालको व्यवहार गरिएको ठाउँ हो रोल्पा । त्यहीँबाट जनयुद्धको विकास भएर अहिले सिंगो नेपालको राजनीतिक एजेन्डाको नेतृत्व गरिराखेको हुनाले हामी राष्ट्र बनाउन चाहन्छौं । देशबासीलाई मुक्त गराउन र राष्ट्र बनाउन चाहने हुनाले, हाम्रो जहाँ कार्यक्षेत्र छ, त्यहीँ हाम्रो कर्मथलो हुन्छ । यसै क्रममा अहिले मेरो कार्यक्षेत्र र कर्मथलो दुवै काठमाडौं हो । यहाँका जनताको भावना, विकास निर्माण र जनताले चाहेको संविधान निर्माण अनि यहाँको नेतृत्व गर्नका लागि पार्टीले खटाएअनुसार म नेतृत्व गर्न तयार भएको हुँ ।
हिजो बुलेट चलाएको मान्छे आज ब्यालेटमा जाँदा कस्तो अनुभव भएको छ ?
इतिहासले त्यो जिम्मेवारी दियो भनौं । एक अर्थमा खुसी पनि लागेको छ र पार्टीप्रति आभार पनि व्यक्त गर्न चाहन्छु । हिजो इतिहास बदल्न बुलेटको राजनीति गर्ने ऐतिहासिक जिम्मेवारी मलाई पर्न आयो । जनसेना निर्माण तथा कमान्ड गर्ने जिम्मेवारी पाएँ । गणतन्त्र प्राप्तिको पहिलो जग भनेको जनमुक्ति सेना नै हो । अग्रीम भूमिका खेल्ने र अग्रीम मोर्चामा लड्ने पनि जनमुक्ति सेना नै भएको हुनाले जनमुक्ति सेनाले नै गणतन्त्र प्राप्तिमा ठूलो भूमिका खेलेको छ । त्यस अर्थमा देशमा गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी पहिचान अथवा यो संविधान सभाको मुद्दा स्थापित भइसकेपछि एक प्रकारको ऐतिहासिक बुलेटको भूमिका हाम्रो पार्टीले, जनमुक्ति सेनाले, मेलै पूरा गरेँ भन्ने लाग्छ । अब यो परिवर्तन संस्थागत गर्नका लागि ब्यालेट चाहिन्छ । संविधान बनाउनका लागि निर्वाचन चाहिन्छ । सौभाग्य भनौं, त्यो भूमिका मैले दोस्रो संविधान सभामा पाएँ । दोस्रो संविधान सभाको निर्वाचन नभएको भए त म त्यो भूमिकाबाट छुट्थे जस्तो लाग्छ । ब्यालेटको भूमिकाबाट यो परिवर्तनलाई संविधान बनाएर संस्थागत गर्नका लागि यी दुबै भूमिकामा अवसर पाएको हुनाले आफैँमा खुसी र गर्वित पनि छु । सँगै चुनौती पनि महसुस गरेको छु । जुन चुनौती म पूरा गर्छु । संविधान निर्माणसँगै विकास निर्माण र जनतालाई नेतृत्व गर्ने विषयमा पनि भूमिका रहन्छ ।
अघिल्लो संविधान सभामा तपाईँहरु जस्ता नेता बाहिर बस्नुभो । के जनमुक्ति सेना सम्हाल्नूस्, अरु हामी मिलाउँछौँ भन्ने आवश्वसन थियो तपाईँलाई ?
जनमुक्ति सेनाका कमान्डरहरुको सन्दर्भमा भन्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने महŒवपूर्ण जिम्मेवारी थियो । संविधान सभामा जानुभन्दा पनि यो देशको निकासका निम्ति सेना समायोजनको विषय धेरै महŒवपूर्ण थियो । त्यो जिम्मेवारी हाम्रो काँधमा थियो । त्यसैले मैले सेना समायोजनलगायत् शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयलाई सकारात्मक र सहयोगात्मक काम गर्नुपर्ने थियो । यो ठाउँमा म नभएको भए दुर्घटना पनि हुन सक्थ्यो । त्यसैले बडो संयमित, धैर्य भएर साथीहरुलाई कन्भिन्स गर्दै शान्ति प्रक्रिया टुंग्याउनु पहिलो जिम्मेवारी हो । राष्ट्रलाई निकास दिनु, द्वन्द्व अन्त्य गर्नु, परिवर्तन संस्थागत गर्नु जस्ता जिम्मेवारी पनि थिए । त्यसकारण सेना समायोजनलगायत् विषयमा मैले भूमिका खेल्न जरुरी थियो । त्यतिबेला पनि मलाई उमेदवार बन्ने प्रस्ताव आएको थियो । मेरो महŒवपूर्ण जिम्मेवारी अहिले यहाँ छ भने त्यसलाई नकारें । मैले बुलेटको भूमिका पनि पूरा गरेँ । शान्ति प्रक्रियाको भूमिकामा पनि रहेँ । अहिले ब्यालेटको भूमिका पनि पाएँ । जुन सशक्तरूपले पूरा गर्छु ।
तपाईँलाई जहिले पनि जोखिम स्थानमा पठाइन्छ र अहिले पनि त्यस्तै क्षेत्रमा पठाएको भनिन्छ नि ?
जिन्दगी नै संघर्ष भएकाले नेतृत्वले जोखिम मोल्नुपर्छ । जहाँ अप्ठेरा छन्, चुनौती छन्, त्यहाँ नेतृत्वले जोखिम मोल्न नसक्ने हो भने कम स्थापित लिडरले त्यस्ता मोर्चा जित्न कठिन हुने गर्छ । सजिलै जित्ने ठाउँमा स्थापित लिडरहरु जानु त्यति उपयुक्त हुँदैन । फेरि महिला, दलित र उत्पीडितलाई स्थान दिनु पनि राम्रो हो । जति पनि चुनौतीपूर्ण ठाउँ छन्, जहाँ हाम्रो एजेन्डा पुगेको छैन, नेतृत्व पुगेको छैन, त्यस्ता ठाउँमा जाने र नेतृत्व गर्ने समग्र कुराको मूल्यांकन गर्दै मलाई यो ठाउँमा पार्टीले पठाएको हो ।
चुनौती कत्तिको छ त ?
चुनौती अवश्य नै छ । पहिलो संविधान सभामा यहाँ हाम्रो पार्टीको तेस्रो स्थान हो । मैले त्यो स्थान पहिलोमा पु¥याउने आँट गरेको छु । अहिलेसम्म मलाई पार्टीले जति पनि जिम्मेवारी दिएको छ, जहाँ खटाएको छ, त्यहाँ खरो उत्रेको छु, हारेको छैन । विश्वास छ, यहाँ पनि सफल हुनेछु ।
पासाङले बुलेटको लडाइँमा हारेको छैन, ब्यालेटको लडाइँमा त कमजोर छ भन्छन् नि ?
यो पनि हार्छु भन्ने लागेको छैन । ब्यालेटमा उत्रेको यो पहिलो पटक हो । यहीँका जनताले नै मलाई प्रस्ताव गरेका हुन । म जबर्जस्ती यहाँ लड्छु भनेको होइन । मेरो इच्छाको कुरा गर्ने हो भने त रोल्पाबाट र साथीहरुको मागको कुरा गर्ने हो भने दाङबाट लड्ने भन्ने थियो । दाङको त मैले ब्यारेक नै उठाइदिएको पनि हुँ । म्याग्दीको ब्यारेक पनि मैले उठाइदिएको थिएँ । त्यहाँबाट पनि मेरो माग आएको थियो । जहाँजहाँ मैले फौजी आक्रमणमा सफलता प्राप्त गरेको छु ती स्थानमा जाँदा जित्ने निश्चित थियो तर पार्टीले यहाँ पठाएपछि र यहीँबाट माग पनि आएकाले उठेको हुँ ।
प्रतिस्पर्धी त कडा छन् नि गगन थापा र निर्मल कुइँकेल ?
मैले थापाजी र कुइँकेलजीलाई इंगित गरेर प्रतिस्पर्धी भनेको छैन । जति पनि उमेदवार हुनुहुन्छ, सबै प्रतिस्पर्धी हो । ठूलो संगठनको हिसावले हिजो हाम्रो पार्टीको स्थान यो क्षेत्रमा तेस्रो थियो । गगनजी, सुप्रभा र निर्मल जीसँग त प्रतिस्पर्धा हुने नै भयो । अरु पार्टीले पनि विकास गरेका हुन सक्छन् । एक एक हिसाव गरी नै राखेको छु ।
४ नम्बर क्षेत्रमा पासाङले जित्नैपर्ने एजेन्डा के छन् त ?
संविधान सभाबाट संघीयतासहितको संविधान र पहिचानसहितको संघीयता निर्माण नै पहिलो एजेन्डा हो । भ्रष्टाचारमुक्त र सामाजिक न्यायसहितको स्पष्ट बहुमतसहितको सरकार बनाउन हाम्रो उमेदवारी हो । विकास निर्माण गर्नु छ, ढलको समस्या छ, बाटो र पानीको समस्या छ । बजार व्यवस्थापनका समस्या छन्, महँगीका समस्या छन्, पार्किङ समस्या छन् । यी सबै समेटेर प्रतिबद्धतापत्र पनि बनाउँदै छु ।
प्रकाशित: २४ आश्विन २०७० २१:४८ बिहीबार





