१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

'सबैलाई भाइरल हुने भूत सवार छ'

नेपाली चलचित्र उद्योगकी सुन्दर अभिनेत्री मध्येकी एक हुन्, वर्षा शिवाकोटी। नाइँ नभन्नु ल–२ बाट चलचित्र नगरीमा पाइला टेकेकी वर्षाले पशुपतिप्रसाद, बाजागाजा, वीरविक्रम–२  लप्पनछप्पन, पुरानो बुलेट, जय शम्भो, भैरे, लगायतका चलचित्रमा अभिनय गरेकी छिन्। पछिल्लो समय वर्षाको परदेशी–२, मनसँग मन  र लक्का जवान फिल्महरु प्रदर्शन हुन बाँकी छन्।  

उनी केही समयअघि मात्र भैँसेपाटीस्थित मेडिसिटी हस्पिटलको स्किन केयर डिपार्टमेन्टको सीईओ पदमा नियुक्ति भएकी छिन्। उनै अभिनेत्री वर्षासँग नेपाली चलचित्र क्षेत्रको विगत, वर्तमान, भविष्य लगायत केन्द्रित रहेर नागरिककर्मी पवन बराइलीले कुरकानी गरेका छन्ः

कोभिड–१९ ले चलचित्र क्षेत्र महिनौंदेखि ठप्प जस्तै छ। तपाईको व्यक्तिगत जीवन र ‘करिअर’मा कत्तिको असर गर्यो?  

लकडाउनमा त्यति धेरै काम गरिन। लकडाउनमा केही योजनाहरु बने। योजनाअनुसार काम पनि गरेँ। मैले केही पुस्तकहरु पनि अध्ययन गरेँ। यो बीचको समय आफूलाई सकारात्मक बाटोतिर डोर्याउन अझ मदत गर्यो। पुस्तकले अझ जीवन जगत बुझ्ने अवसर पनि मिल्यो। मेरो मात्रै होइन सबैको ‘करिअर’मा केही हदसम्म असर गर्यो।  

पछिल्लो समय अधिकाशं कलाकारहरु कलाकारिताबाट व्यवसायतिर उन्मुख भएका छन्। तपाई पनि त्यतै लाग्नु भयो। फिल्ममा मात्रै काम गरेर जीवन चलाउन मुस्किल भएको हो?  

अहिले आम्दानी कम, खर्च धेरै हुन थालेको छ। हरेक कुरा महंगिएको छ। आफैंले कमाएर आफ्नै लागि खर्च नपुग्ने अवस्था छ। जुन हामीले काम गरिहेको छौं, त्यहाँबाट आर्जन गरेको पैसाले खर्च व्यवस्थापन गर्न मुस्किल छ। काठमाडौंमा बसेर परिवार र आफूलाई ‘मेन्टेन’ गर्न सकिँदैन। एउटा फिल्ममा काम गरेर एक वर्ष बसेर खाना सक्ने अवस्था छैन। हाम्रो चलचित्र उद्योग त्यो चरणमा पुगेको छैन। त्यसैले अधिकांश कलाकाहरुले ‘करिअर अप्सन’ रोज्नु भएको छ। फिल्ममा मात्रै काम गर्छु भिडियोमा काम गर्दिन भन्ने कलाकारहरुले पनि अन्य पेशा वा व्यासाय सुरु गर्नु भएको छ। आफ्नो जीवन पनि चल्नुपर्यो। मेरो हकमा पनि यही लागू भएको छ। मैले पनि विकल्प रोजेकी हुँ। मेरो अध्यनन पनि व्यवस्थापन हो। आफ्नो पढाइ सम्बन्धित केही काम गरौं भन्ने पनि सोचेकी थिएँ।  

भनेपछि कोरोनाले आर्थिक संकट परेर नै विकल्प रोज्नुभएको हो?

जब लकडाउन सुरु भयो। त्यसपछि फिल्म क्षेत्र पनि ठप्प भयो। महिनौंसम्म घरमा बाँधिएर बस्नुपर्यो। म मात्रै होइन फिल्मसँग सम्बन्धित सबै कलाकारहरुमा अन्योल सिर्जना भयो। भोलि योभन्दा अर्को महामारी पनि नआउला भन्न सकिँदैन नि। त्यसकारण पनि हामी जस्तोसुकै परिस्थितिलाई सामाना गर्न तयार रहनुपर्छ। योभन्दा ठूलो आर्थिक संकट पनि आउन सक्छ। त्यसकारण पनि अहिले सबैले ‘करिअर अप्सन’ सोच्नु पनि भएको छ। र, सोच्नु पनि पर्छ जस्तो लाग्छ। ‘पब्लिक फिगर’ भएपछि सबै कुरामा ‘मेन्टेन’ गर्नुपर्यो। त्यसैले पनि व्यवासायतिर उन्मुख भएकी हुँ। यो कोरोना महामारीले सिकाएको पाठ पनि हो।

जीवनमा कोरोनाले नयाँ पाठ सिकायो तपाईंलाई ?  

मलाई मात्रै होइन धेरैलाई नयाँ पाठ सिकायो। कोरोनाले सिर्जना गरेकोजस्तो अर्को परिस्थितलाई पनि सामना गर्न तयार हुनु, त्यो पाठ सिकायो। आज जीवन चलेकै छ, भनेर बस्न चाहिँ नहुने रहेछ। भोलिको परिस्थितिलाई पनि सामना गर्न तयार हुनुपर्छ। भविष्यमा यस्ता समयस्याहरु आउँछन् है भनेर तयार भएर बस्नुपर्छ। हामी धेरै कलाकाहरु यो ‘फिल्ड’ मा मात्रै निर्भर थियौं। यो कामले मेरो जीवन चलेकै छ भन्ने थियो। महामारीले धेरैलाई अन्य काम गर्न बाध्य बनायो। त्यसैले अन्य काम पनि गर्नुपर्छ।    

यतिबेला कोरोना महामारीले चलचित्र क्षेत्रलाई थला पारेको छ। अब पुरानै लयमा फर्काउन निर्देशक, निर्माता र कलाकारको कस्तो भूमिका हुनुपर्ला ?  

कोरोनाले चलचित्र मात्रै होइन सबै क्षेत्रलाई नै असर गरेको छ। अहिले मुख्य चुनौति भनेको दर्शकलाई हलसम्म फर्काउनु नै हो। दर्शकलाई हलमा फर्काउन ‘कन्भिन्स्’ गराउनुपर्छ। फिल्म हेर्नको लागि दर्शकलाई हलसम्मै पुग्न बाध्य पार्ने खालका गुणस्तरीय फिल्म बनाउने काम गर्नुपर्छ। ट्रेलर हेर्दा राम्रो छ तर हलमा फिल्म हेर्दा राम्रो हुँदैन, हामी त्यही परिपाटीबाट गुज्रिँदै आइरहेका छौं। ट्रेलर राम्रो बन्छ  तर फिल्म राम्रो हुँदैन। अब यस्तो गल्ती गर्नुभएन। आफ्नो कामलाई कलाकार निर्देशक निर्माताले आफ्नो ‘बेस्ट’ दिनुपर्छ। हामी कन्टेन्टलाई हल्का रुपमा लिन्छौं। कन्टेन्टमा पनि मिहिनेत गर्नुपर्यो। अहिले दर्शक धेरै चलाख भइसकेका छन्। लकडाउनले विभिन्न विदेशी फिल्म/सिरिज हेरेर स्मार्ट भइसक्नुभएको छ। सानो गल्ती कमजोरी पनि सजिलै पत्ता लगाउन सक्ने भएका छन्। अब झन चुनौती थपिएको छ।  

तपाईले अहिले नेपाली चलचित्र क्षेत्रमा देखेको नराम्रो पक्ष चाहिँ के हो ?  

हाम्रोमा ‘डिसिप्लिन मेन्टेन’ छैन्। चलचित्र क्षेत्र खुल्ला मञ्च जस्तो भएको छ। जो पनि आउन सक्ने, धेरै मिहिनेत गर्न नपर्ने। अहिले झन् भाइरल हुनुपर्छ भन्ने सबैलाई लागेको हुन्छ। हामी त्यो ‘फेज’बाट आएको होइन। भाइरलले केहि दिन राम्रो गर्ला तर त्यसको ‘रिजल्ट’ राम्रो आउँदैन। भाइरले दर्शकको बजारलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेको छ। एउटा कलाकारको ‘भ्यालु’ नै छैन। सबैलाई भाइरल हुने भूत सवार भएको छ। यसलाई निराकरण गर्न जरुरी छ। कलाकार, निर्माता निर्देशक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। एक/दुई दिनमा भाइरल भएको भरमा काम गर्नुभएन, सिकेर आउनु पर्यो। अहिले सजिलो बाटो बनेको छ। कसैले दुःख गर्नै पर्दैन। चलचित्र उद्योग सबैको लागि ‘इजि एक्सेस्’ भएको छ। यो काम बन्द हुनुपर्छ।  

तपाईंहरुले गुणस्तरीय ‘कन्टेन्ट’ दिन नसकेर पो हो कि?

केही हदसम्म तपाईंले भनेको ठिक हो। आफू चर्चामा आउन यस्ता विधिहरु पनि अपनाएका त छन्। कामले चर्चामा आउनुपर्यो। अहिले केही काम गर्यो भने चर्चामा आउनुपर्छ भन्ने ट्रेण्ड नै बसेको छ। उसको कला भन्दा पनि कसरी भाइरल भइरहेको छ भन्नेतिर सबैको ध्यान गएको छ। यसले प्रतिभा भएका कलाकारलाई पनि असर गरिरहेको छ। कलाकार र दर्शकबीचको ‘डिस्टेन्ट मेन्टेन’ नभएको अवस्था छ। यो परिपरिपाटी बन्द हुन आवश्यक छ।  

अलिकति फरक प्रसंग, तपाईं ‘स्क्रिप्ट’ छनोट कसरी गर्नुहुन्छ ?  

दर्शकसँग मेरो ‘क्यारेक्टर’ले कसरी ‘कनेक्ट’ गर्न सक्छ त्यो कुरा हेर्छु। मेरो ‘क्यारेक्टर’ले कतिको न्याय गर्न सक्छ, त्यसलाई प्राथमिकतामा राख्छु। त्यसमा ‘मेकर’हरुले कथालाई कतिको प्रस्तुत गर्न सक्छन् त्यो पनि मुख्य हो। यसरी नै ‘स्क्रिप्ट’ छनोट गर्छु।  

तर, तपाईंले कतिपय फिल्महरु सम्झौता गरेर पनि छोड्ने गर्नुभएको छ नि, किन ?  

कुनै कुनै फिल्ममा ‘स्क्रिप्ट’ एउटा हुन्छ र प्रस्तुति अर्कै हुन्छ। हामी कलाकारले एउटा सोच बनाएका हुन्छौं। तर, सुटिङ गर्ने बेलासम्म पुरै ‘चेन्ज’ हुन्छ। यस्तो, कसैलाई पनि चित्त बुझ्दैन। काम गर्न प्रस्ताव गरिएअनुसार नभएपछि त्यो चित्त बुझ्दैन। अन्तिममा ‘स्क्रिप्ट’ अर्कै भयो भने चित्त नबुझेपछि मलाई काम गर्न मन लाग्दैन। त्यसको कुनै ‘अप्सन’ नै हुँदैन। मलाई छाडेको फिल्मको कुनै पश्चाताप छैन।      

देशको राजनीतिक तथा समसामयिक घटनाक्रमबारे कत्तिको जानकारी राख्नुहुन्छ ?  

प्रायः फुर्सदमा फेसबुक चलाउँछु। राजनीतिक विषयवस्तुलाई नजिकबाट नियाल्छु। मेरो कुनैपनि राजनीतिक दलका नेतासँग नजिकको चिनजान छैन। कलाकार भएको नाताले देशको समसामयिक घटनाक्रम बुझ्नुपर्छ भन्ने लाग्छ। देशको अवस्थाबारे चाहिँ ‘अपडेट’ राख्छु। त्यो राख्नु पनि पर्छ। समय हुँदासम्म समाचारहरु पढ्ने, हेर्ने चाहिँ गर्छु। आफूलाई केही महत्वपूर्ण लाग्ने ‘आर्टिकल’हरु पनि पढ्छु।  

अर्को प्रसंग पनि जोडौं न, तपाईंको प्रेमको विषयलाई लिएर ‘गसिप’ पनि बन्छ। केही समयअघि तपाईंले आफ्नो प्रेमी सार्वजनिक गरेको भन्ने पनि हल्ला चल्यो। वास्तवमा के हो ?  

इन्डस्ट्री भन्दा बाहिरको मान्छेसँग फोटो देख्दा अनुमान लगाउनु स्वभाविक हो। त्यो अनुमान गर्न पाइन्छ। यो मेरो निजी मामला हो।  आजसम्म म प्रेममा छु भनेर कसैलाई पनि भनेकी छैन्। बाहिर भन्दै हिँड्न मन लाग्दैन। फोटो हेरेको भरमा ‘गसिप’ बन्छ। कसैले वर्षा प्रेममा छिन्, उनको प्रेमी फलानो हुन् भन्ने कुरा फगत हो। यस्तो फगत विषयलाई लिएर कसैलाई ‘क्लेरीफाई’ गर्दै हिँड्न मन लाग्दैन। यो सबै हल्ला मात्रै हो।

तर, घरमा त कुरा उठ्छ होला नि है विवाहको ?  

कुरा उठ्न स्वभाविक हो। तर, त्यसको लागि पनि समय आउनुपर्छ जस्तो लाग्छ। विवाह भन्ने कुरा कसैले भनेर हुने कुरा पनि होइन। त्यता मैले अहिले सोचेकी छैन्। अहिले ‘करिअर फोकस’ छु।  

अहिलेको समसामयिक घटनाक्रमहरुलाई कसरी नियाल्नुभएको छ?

मैले अघि पनि भनेँ, मेरो कुनैपनि राजनीति दलका नेतासँग चिनजान छैन्। तर, देशमा के भइरहेको छ भन्ने कुराको जानकारी चाहिँ राख्छु। जानकारी राख्न जरुरी पनि छ। एउटा कलाकार भएकाले नाताले ‘अपडेट’ चाहिँ हुन्छु। अहिलेको संसद विघटनबारे पनि नेताका भाषणहरु सुनिरहेको हुन्छ। किन यस्तो भएको होला भन्ने लाग्छ। आफ्नो विचार राख्न सडकमै जानुपर्छ भन्ने छैन्। ज्ञान राख्नुपर्छ। तर, राजनीतिमा त्यो समयपनि आउला कुनै दिन। सकेसम्म आफूलाई जानकारी चाहिँ राखेको हुन्छु।  

आफ्नो करिअरलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?  

यो फिल्डमा अझै धेरै राम्रो काम गर्नु छ। म बल्ल करिअरको ‘सेकेण्ड’ फेजमा छु। आजसम्म सिकेको कुराहरुलाई ‘इम्प्लिमेन्ट’  गर्ने समय भएको छ। आफूलाई धेरै निखार्नु छ। हामी कलाकारहरुलाई आफ्नो कामबाट कहिल्यै चित्त बुझ्दैन। अझ धेरै राम्रो गर्दै जान मन लाग्छ। कामको भोक हुन्छ। एउटामा काम गर्यो अब फेरि अर्कोमा काम गर्न मन लाग्छ। मलाई पुग्यो भन्ने नै हुँदैन। त्यसैले धेरै राम्रो कामहरु गर्न बाँकी छ।  

तस्बिर : रोमन मानन्धर

 

 

 

प्रकाशित: ६ फाल्गुन २०७७ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App