१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

‘लकडाउन खुलेमा पर्यटक आउन तयार छन्’

खुम बहादुर सुवेदी, अध्यक्ष, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल

पर्वतीय पर्यटनका दृष्टिले नेपाल अब्बल गन्तव्य हो। नेपालमा बर्सेनी हजारौं पर्यटकहरू पदयात्रा र पर्वतारोहण गर्छन्। कोभिड–१९ का कारण लकडाउन भएसँगै नेपाली पर्यटन क्षेत्र पनि सुनसान छ। पर्यटनकर्मीहरू मारमा परेका छन्। त्यसैले उनीहरू लकडाउन खोलिहाल्नु पर्ने पक्षमा छन्। यसै विषयमा ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीसँग नागरिककर्मी अमृत भादगाउँलेले गरेको कुराकानी:  

कोरोना भाइरसले पर्वतीय पर्यटनमा कत्तिको असर पु-याएको छ?  

हामीले वसन्त ऋतुमा पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा मात्र करिब १५ अरब रुपैयाँ गुमायौं। साथै साढे ३ लाख भन्दा बढी जनशक्तिको रोजगारी गुमिसकेको अबस्था छ। अहिलेसम्म हामी व्यवसायमा टिकिरहेका छौं। हामी पर्ख र हेरको अबस्थामा छौं। आउने सिजन (शरद ऋतु)मा पनि पर्यटकलाई सेवा दिन पाइएन भने हामी पर्यटनकर्मीहरू पेशाबाट बिस्थापित हुने अबस्था आउँछ। त्यसैले पर्यटकीय चहलपहल बढाउन सरकारले आन्तरिक र वाह्य उडान खोलिहाल्नु पर्छ।  

लकडाउन खोलेर हवाई उडान हुनेवित्तिकै पर्यटक आउलान् त?  

कोरोनाको समस्या संसारभर छ। विदेशीहरू कोरोनासँग अभ्यस्त भैसकेका छन्। हामी निरन्तर विदेशीहरूसँग सम्पर्कमा छौं। उनीहरू नेपाल आउन लालायित छन्। लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।

लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।  

पर्यटन सुरक्षा निर्देशिका अनुसार सामाजिक दूरी कायम गरेर पर्यटन व्यवसाय चलाउन कत्तिको व्यवहारिक होला ?  

पर्यटन सुरक्षा निर्देशिका हाम्रै सहभागितामा बनेको हो। कोरोना तुरुन्तै निर्मुल नहुने भएकाले समाजिक दूरी कायम गरेर हामीले होसियारीपूर्वक पर्यटकीय सेवासत्कार दिनुपर्छ। यसको अनुगमनमा जोड दिनुपर्छ।  

व्यवसायबाट पर्यटन मजदूरहरू बिस्थापित हुने सम्भावना छ, यो समस्यालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ?  

यसमा हामी नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न खोजिरहेका छौं। मजदूर साथीहरूलाई हिमाली भेकका रुट एक्सप्लोर गर्न, प्रोडक्टरूको प्याकेजिङ गर्न र पदमार्ग सरसफाईमा लगाउने योजना छ। लकडाउन खुलेपछि हामी रोजगारी सृजना गर्ने कामतिर लाग्नेछौं। मजदूरका लागि टान र माछापुच्छे« बैंक बीचको सहकार्यमा क्रेडिट कार्ड मार्फत ऋण सुविधा दिने व्यवस्था मिलाइसकेका छौं।  

क्रेडिट कार्डको सुविधा कतिले पाउँछन् ?  

सरकारबाट लाइसेन्स प्राप्त ट्रेकिङ गाइडहरूले क्रेडिट कार्ड मार्फत ऋण सुविधा पाउनेछन्। नेपालमा करिब १७ हजारले लाइसेन्स लिएका छन्। उनीहरू सबैले  ट्रेकिङ कम्पनीको सिफारिसका आधारमा वर्ष दिनका लागि कार्डबाट १ लाख ८० हजार रुपैयाँ झिक्न पाउनेछन्। अढाई वर्षमा ऋण तिरि सक्नु पर्नेछ। ब्याज चाहिँ दुई प्रतिशत मात्र तिरे पुग्छ। पर्यटन व्यवसायीका लागि पनि यस्तै सुविधा दिलाउने प्रयासमा छौं। 

पर्यटन मजदूरका लागि टान र माछापुच्छे« बैंक बीचको सहकार्यमा क्रेडिट कार्ड मार्फत ऋण सुविधा दिने व्यवस्था मिलाइसकेका छौं। कार्डबाट १ लाख ८० हजार रुपैयाँसम्म झिक्न पाइनेछ। पर्यटन व्यवसायीका लागि पनि यस्तै सुविधा दिलाउने प्रयासमा छौं।   

तपाइँहरू कुन्कुन् नयाँ पदमार्ग एक्सप्लोर गर्दै हुनुहुन्छ?  

लकडाउनपछि हामी नयाँनयाँ गन्तव्यहरू एक्सप्लोर गर्नेछौ। धेरैतिरको कुरा आइरहेको छ। अहिले हामी छलफलकै चरणमा छौं। लकडाउन लगत्तै पदमार्ग सुधारका कामहरू भने थालिहाल्ने छौं। मुख्यगरि अन्नपूर्ण, लाङटाङ, सगरमाथा, मकालु, मनास्लु र अपिशैपाल लगायतमा हामी काम गर्नेछौं। साथै हामी हाम्रा प्रोडक्टहरूको डिजिटल मार्केटिङमा जोड दिँदैछौं।  

पर्यटन सुरक्षा निर्देशिका सम्बन्धी तालिम कत्तिको प्रभावकारी हुँदैछ ?  

अनलाइन तालिममा व्यवसायीहरू त्यति उत्साहित देखिएका छैनन्। व्यवसाय शून्यमा झरेको पिरलोले होला उहाँहरूले यसमा चासो नदिएको। कति व्यवसायी गाउँमा भएकाले इन्टरनेट शुलभ नहुँदा तालिममा जोडिन नसक्नु भएको होला। तर, यो तालिम हामीलाई आबश्यक छ।  

आन्तरिक पदयात्रीले पनि ट्रेकिङ कम्पनी मार्फत जानु पर्ने व्यवस्था गरियो भने यात्रा सुरक्षित हुनुका साथै रोजगारी पनि सृजना हुनेछ। यसबाट राज्यले पनि राजस्व पाउन सक्थ्यो।

आन्तरिक पदयात्रीलाई आकर्षण गर्न टानसँग कुनै कार्यक्रम छ कि?  

प्रायः नेपाली प्याकेजमा होइन, आफ्नै ढंगमा पदयात्रामा जान्छन्। त्यसबाट हामी टे«किङ कम्पनीहरूलाई खासै फाइदा हुँदैन। त्यसैले यसमा टानको विशेष कार्यक्रम छैन। नेपाली पदयात्रीले पनि ट्रेकिङ कम्पनी मार्फत जानु पर्ने व्यवस्था गरियो भने यात्रा सुरक्षित हुनुका साथै रोजगारी पनि सृजना हुनेछ। यसबाट राज्यले पनि राजस्व पाउन सक्थ्यो। नेपालीले पनि कम्तिमा अनुभवी गाइड लिएर यात्रा गर्दा सजिलो हुन्छ।  

पर्यटनलाई पुनःजीवन दिन सरकारसँग तपाइँहरूका माग केके छन्?  

सबैभन्दा पहिला अन्तर्राष्ट्रिय उडानहरू खोल्नु पर्छ। व्यवसायीले दर्ता भएको कागजपत्र र ट्याक्स क्लियरेन्सका आधारमा सजिलै ढंगले सहुलियतपूर्ण ऋण पाउनु पर्छ। अन्यथा हामी बिस्थापित हुने अबस्था आउँछ।  

अन्त्यमा, नेपालको पर्यटनले कहिलेसम्ममा आफ्नो लय समात्ला ?  

कोरोना विरुद्धको खोप र ओखती जति छिटो बन्छ, त्यति छिटो पर्यटन नर्मल अबस्थामा फर्कन्छ। विदेशी कम्पनीहरूले पर्यटकलाई दिने विमा सुविधा र नेपालको सुरक्षा अबस्थाले पनि यसमा प्रभाव पार्छ। हाम्रो अनुमानमा सन् २०२२ सम्ममा हामी नर्मल अबस्थामा फर्किन सक्छौं कि!  

प्रकाशित: ३० असार २०७७ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App