coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

'कर धेरै लिएर मात्र विकास हुँदैन'

ध्रुब कुमार श्रेष्ठ, उपाध्यक्ष, पञ्चकन्या ग्रुप
ध्रुब कुमार श्रेष्ठ पञ्चकन्या ग्रुपका उपाध्यक्ष हुन्। रड, स्टिल, पाइप, सिलिन्डर, पानी ट्यांकी, वायर उद्योग सञ्चालन गरिरहेको पञ्चकन्याले हाइड्रोलगायत अन्य क्षेत्रमा पनि लगानी गरेको छ। नेपालको पुरानो व्यावसायिक घराना पञ्चकन्या ग्रुपले विस २०३८ सालमा भैरहवामा रड उद्योग सञ्चालन गरेको थियो। २४ वर्षकै उमेरमा व्यवसायमा होमिएका श्रेष्ठ करिब चार दशकदेखि पञ्चकन्याको व्यवसाय विस्तारमा नेतृत्व गरिरहेका छन्। उनको औद्योगिक क्षेत्रमा लामो अनुभव छ। स्नातक तहसम्मको अध्ययनपछि ध्रुब बाबु प्रेमबहादुरले सुरु गरेका उद्योग विस्तारमा सक्रिय भए। कडा परिश्रमी श्रेष्ठ बजारको गहिरो अध्ययन गरेर मात्र नयाँ परियोजना सुरु गर्छन्।

उद्योग सञ्चालनमा धैर्यता चाहिने उनको विश्वास छ। श्रेष्ठ मुलुकमा औद्योगिक वातावरण तयार गर्न राज्यको महŒवपूर्ण भूमिका हुने बताउँछन्। श्रेष्ठ व्यवसायसँगसँगै नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसन, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ भैरहवा, रोटरी क्लब अफ लुम्बिनीलगायत सामाजिक संस्थामा अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन्। मुलुकको औद्योगिक वातावरणलाई नजिकबाट नियालिरहेका श्रेष्ठसँग पञ्चकन्याले सञ्चालन गरेका उद्योग, बजार, बिजनेस पोलिसी, मुुलुकको अर्थतन्त्र, लगानीको अवसरलगायत विषयमा नागरिकका लागि दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

पञ्चकन्या ग्रुपले कुन–कुन क्षेत्रमा लगानी गरेर उद्योग सञ्चालन गरिरहेको छ ?
स्टिल उद्योग, पिपिआर, पिभिसी, एचडिपिई पाइप, वायर उद्योग, हाइड्रो परियोजना, बिटुमिन, सिलिन्डिर उद्योग, पानी ट्यांकीलगायत उद्योगमा लगानी गरिरहेका छौं।  पाइप, स्टिलमा नयाँ प्रविधि जडान गरेका छौं। बजारको अवस्था हेरेर उत्पादन क्षमता पनि बढाइरहेका छौं।

स्टिल र पाइपको बजार कस्तो छ ?
खुल्ला बजारमा उद्योग आउनु राम्रो हो। यसले उपभोक्तालाई छनोटको अवसर प्रदान गर्छ। तर, यहाँ अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ। सरकारले नयाँ–नयाँ परियोजना ल्याए बजार विस्तार हुने हो। विकासका काम सरकारले नै अघि बढाउने हो। विगतमा जलविद्युत् परियोजना जुन रुपमा आएका थिए, अहिले शिथिलता आएको छ। सरकारले नीति बनाएर विकासका परियोजना अघि बढाउने र सँग–सँगै यहाँको उद्योग अगाडि बढाउनु पर्छ। विदेशबाट रेमिट्यान्स ल्याएर मात्र पुग्दैन। मुलुकको विकास गर्न उद्योगधन्दा स्थापना हुनुपर्छ। त्यसले अर्थतन्त्र पनि मजबुत हुन्छ। बेरोजगारी समस्या हल हुन्छ। युवा शक्ति कहिलेसम्म समय विदेश गइरहने ? चाहे सिमेन्ट होस् या स्टिल उद्योग सबैमा शिथिलता रहेको छ। पूर्वाधारका योजना अघि नबढ्दा बजार बढ्न नसकेको हो।

यहाँको बिजनेस पोलिसी के हो ?
गुणस्तर कामय गरेर उपभोक्तालाई कन्भिन्स गर्न सक्नुपर्छ। स्टिलमा नै उद्योगहरु थुप्रै आए। तर, हामीले अरुभन्दा ठूलो परिमाणमा बेच्छौं। किनकी पञ्चकन्याले विश्वास आर्जन गरेको छ। स्टिल छड त छड नै हो। अरुको भन्दा पञ्चकन्याको महंगो छ। उपभोक्ताले विश्वास गरेकाले बजारले खोजिरहेको छ। भूकम्प आएपछि घर निर्माण गर्न सबै कन्सियस भए। इन्जिनियरले पिलर निर्माण गर्दा १२ वटा छड लगाउनुभन्दा घरधनीले आठवटा लगाए भइहाल्यो किन खर्च गर्ने भन्थे। भूकम्पपछि मान्छे कन्सियस भएका छन्। अहिले घर बनाउँदा इन्जिनियरको सल्लाह अनुसार राम्रो गुणस्तरको छड प्रयोग गर्नुपर्छ भनेर प्रयोग गरिरहेका छन्।

पञ्चकन्याले कसरी सफलता प्राप्त गर्न सफल भयो ?
हामीले गुणस्तरमा सम्झौता गर्दैनौं। उपभोक्ताको विश्वासले अगाडि बढेका छौं। उद्योग दीर्घकालीन रणनीतिमा चल्नुपर्छ। आज खोल्ने भोलि बन्द गर्ने हुँदैन। उद्योगमा लगानी गर्दा धैर्य हुनुपर्छ। बजार रणनीति बनाएर अघि बढ्नुपर्छ। कुनै पनि उद्योग सुरु गर्दा बजारको सर्भे गर्नुपर्छ। उपभोक्तालाई राम्रो गुणस्तरीय सामान, डिलर र सञ्चार माध्यमको सहयोग पाएका छौं। हामीले स्टिल ट्यांकी उद्योग सुरु गर्दा बजारमा प्लास्टिकको ट्यांकी थियो। स्टिल महंगो हुने भएकाले शंका थियो। प्लास्टिकको भन्दा स्टिल ट्यांकीको पानी हाइजेनिक हुन्छ। घामले प्लास्टिक तात्छ, लेउ लाग्छ। स्टिलमा यो समस्या छैन। ४३ डिग्री तापक्रममा पनि खासै तातो हुँदैन। स्टिलले तातोपना नसोस्ने भएकाले केही समयमा चिसो हुन्छ। सुरुमा स्टिल ट्यांकीले बजार लेला कि नलेला भनेर सुरु गरे पनि अहिले राम्रो बजार लिएको छ। उद्योग सञ्चालनमा चुनौती छन्। तर, पनि बजारको माग अनुसार गुणस्तरीय सामान उत्पादन गरेकाले बजार विस्तार भएको छ। अहिले छिमेकी मुुलुक भारत पनि पञ्चकन्याका उत्पादन निर्यात गरिरहेका छौं। पिभिसी पाइप र ट्यांकी निर्यात गरेका छौं। हरेक क्षेत्रमा बाधा अवरोध आइरहन्छन्। त्यसलाई कसरी सुल्झाउँदै अघि बढ्ने भन्ने व्यवस्थापकीय क्षमता हुनुपर्छ। बाधा अड्चनलाई समाधान गर्न सक्नुपर्छ। कहिलै पछि हट्नु हुँदैन। सँधै अघि बढ्नुपर्छ।

उद्योगमा जनशक्तिको समस्या छ भन्ने सुनिन्छ। यहाँको अनुभव कस्तो छ ?
उद्योग सञ्चालनमा जनशक्तिको महŒवपूर्ण भूमिका हुन्छ। त्यसका लागि उद्योगभित्रको वातावरण सहज बनाउनु पर्छ। त्यसका लागि कर्मचारीलाई उत्तरदायी बनाएर आफ्नो भन्ने भावना जागृत गर्न सक्नुपर्छ। पञ्चकन्या समूहका उद्योगमा काम गर्ने कर्मचारीलाई मैले कहिल्यै कामदारको रुपमा हेर्दिन। हरेक उद्योगमा छिर्नासाथ कर्मचारीमा यो मेरो उद्योग हो भन्ने भावना जागृत गर्नुपर्छ। यहाँ काम गर्ने कर्मचारीलाई पञ्चकन्या परिवारको सदस्य भन्ने अनुभूति दिलाउनु पर्छ। पञ्चकन्याले राम्रो गर्यो भने कर्मचारीको प्रगति हुन्छ। धेरै उद्योगमा तल्लो तहका कर्मचारीले सञ्चालकलाई भेट्न कठिन छ। मेरोमा सबै तहका कर्मचारीलाई ढोका सँधै खुल्ला हुन्छ। मेनेजर, जिएमसँग कुरा गरेर चित्त बुझाएन भने मसँग सिधै समस्या राख्न सक्छ। उद्योग चलेको बेलामा उत्पादन भएन भने पहिला कामदारलाई नै भन्थें। पछि सोचें गलत काम गरिरहेको छु। आजकल कहिल्यै कामदारलाई भन्दिन। सुतेकै भए पनि आलोचना गर्दिन। अहिले त्यहाँ हेर्ने सुपरभाइजरलाई जिम्मेवार बनाउँछु। हरेक उद्योगमा जनशक्ति परिचालन गर्न सिस्टमको विकास गर्नुपर्छ। त्यसले सहजता आउँछ।

मुलुकको अर्थतन्त्रलाई कसरी हेर्नु भएको छ ?
मुलुकमा औद्योगिक विकास नहुँदासम्म आर्थिक समृद्धि हुँदैन। औद्योगिक वातावरण तयार गरेर लगानीकर्तालाई लगानीमा प्रोत्साहित गर्नका लागि सरकारले उपयुक्त नीति ल्याउनुपर्छ। उद्योगहरुले राजस्व तिरिरहेका छन्। यसले मुलुक सञ्चालनमा सजिलो भएको छ। युवा जनशक्ति विदेश पठाएर रेमिटेन्सको भरमा मुलुकको विकास हुन सक्दैन। स्वदेशमा रोजगारी सिर्जना गर्न उद्योगमैत्री वातावरण बनाउनुप¥यो। उदाहरणका लागि भैरहवा सेजलाई हेरौं। सेज सुरु गरेको वर्षौं भयो। सेजमा किन उद्योग स्थापना भएका छैनन्। सरकारले योजना बनाएपछि तुरुन्त एक्सनमा जानुपथ्र्यो। सेजमा उद्योग लगाउन मैले कम्पाउन्ड लगाएँ तर, त्यहाँ पानी, विद्युत् छैन। कसरी उद्योग लगाउने ? सुविधा दिनुपर्छ।


औद्योगिक वातावरणका लागि सरकारको भूमिका कस्तो छ ?
मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भएर स्थायी सरकार बनेको छ। सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा अघि सारेको छ। धेरै कानुन परिवर्तन गरेर लगानी गर्न आह्वान पनि गरिरहेको छ। त्यसका लागि सरकारले वातावरण तयार गर्नुपर्छ। सरकारले लगानी आह्वानका लागि लगानी सम्मेलन पनि ग¥यो। विदेशी लगानीकर्ताले लगानी गर्ने इच्छा जाहेर गरेर प्रतिबद्धता जनाए पनि लगानी गर्न खासै आएका छैनन्। किन ? सरकारले यसको कारण पत्ता लगाएर सहजीकरण गर्नुपर्छ।

मुलुकमा व्यापार घाटा चुलिएको छ। यसलाई कम गर्न सरकारले के गर्नुपर्छ ?
आयातमुखी अर्थतन्त्रले मुलुकको समृद्धि हुन सक्दैन। राम्रो नीति बनाएर लगानीकर्तालाई आकर्षित गरेर उद्योग खोलेर उत्पादन वृद्धि गर्नुपर्छ। बाहिरबाट आयात कहिलेसम्म गरिरहने ? स्वदेशमा नै उत्पादन गर्ने वातावरण तयार गर्नुपर्छ।

अहिले स्थिर सरकार बनेको छ। तर, उद्योगीले अपेक्षित रुपमा लगानी थपिरहेका छैनन्। किन ?
यसमा सरकार गम्भीर हुनुपर्छ। आज सेयर बजारको अवस्था के छ हेर्नुहोस्। बैंकबाट ऋण लिएर कारोबार गर्नेहरुको लगानी फस्यो। सेयरको भ्यालू डाउन भएको छ। दुई पैसा कमाउँछु भनेर लगानी गरेका त सबै डुबे। सवारीसाधनको बिक्री छैन। अन्य क्षेत्रको अवस्था पनि उस्तै छ। बैंकको नीतिमा कडाइ गरिरहेको छ। पहिला नसोची चाहिने भन्दा धेरै बैंक खोल्न दिइयो। अहिले मर्जरमा जान भनिरहेको छ। अस्थिर नीति छ। चर्को ब्याजले उद्योगका नयाँ प्लान्ट आउन सकेका छैनन्। सरकारको अस्थिर नीतिले उद्योगी व्यवसायी शसंकित छन्। नयाँ उद्योग आएनन् भने उत्पादन बढ्दैन। न व्यापार घाटा कम हुन्छ न राजस्व संकलनमा वृद्धि आउँछ। सरकारले गहिरो अनुसन्धान गरेर यो सरकारले धेरै काम गर्नुपर्छ। स्थिर सरकार नै असफल भयो भने मुलुकको अवस्था के हुन्छ ? यो विषयमा गम्भीर भएर सोच्नुपर्छ।

मुलुक संघीयतामा गएपछि करका विषयमा निजी क्षेत्रको गुनासो सुनिन्छ। वास्तविकता के हो ?
तीन तहका सरकारले आफ्नो ढंगले कर लिएका छन्। करका दर बढेका छन्। प्रदेश, स्थानीय तहले आफ्नो ढंगले कर निर्धारण गरेर लिएका छन्। कर धेरै लिएर मात्र मुलुकको विकास हुँदैन। नयाँ–नयाँ स्किम र परियोजना ल्याउनुपर्छ। उद्योगी व्यवसायीसँग धेरै कर लिनु भनेकोे त्यसको भार अन्ततः उपभोक्तामा थोपर्नु हो। धेरै उद्योग खोल्ने वातावरण भयो भने रोजगारी सिर्जना हुन्छ। कसरी कर लिने भन्नेमात्र ध्यान गएको देखिन्छ। पहिला गाउँपालिका भएका अहिले नगरपालिका भए। करको दर बढाए। सेवा नदिने करमात्र वृद्धि गर्ने ? कर बटुले पनि विकास निर्माणका काम हुन सकेका छैनन्। एउटा निर्माण व्यवसायीको अन्तवार्ता सुनिरहेको थिएँ। तलदेखि माथिसम्म पैसा बुझाउनु पर्छ भन्ने गुनासो गरे। अनि कसरी राम्रो काम हुन्छ ? हरेक क्षेत्रमा यस्तै समस्या देखिन्छ।

सरकारले विदेशी लगानी ल्याउने भनिरहेको छ। लगानीकर्तालाई आकर्षित गर्न के गर्नुपर्छ ?
सरकारले लगानी सम्मेलन गरेको छ। संघीय सरकार मात्र नभएर स्थानीय तहले पनि लगानीका लागि आह्वान गरेका छन्। बुटवलको तिलोत्तमा नगरपाकिालले पनि लगानी सम्मेलन आयोजना ग-यो। तर, लगानी र परिणाम आएजस्तो मलाई लागेको छैन। सरकारका मन्त्रीहरुले भाषण गर्दा राम्रो भाषण गर्छन्। आफ्ना नीतिहरु फेरिरहन्छ। अनि कसरी लगानी आउँछ।

नेपालमा लगानीकर्ताका लागि कुन–कुन क्षेत्रमा अवसर छ ?
पहिला हाइड्रो थियो। त्यो क्षेत्रमा लगानी भइसक्यो। सिमेन्ट उद्योगमा चाहिने भन्दा धेरै लगानीले अस्वस्थ प्रतिस्पर्धा बढ्यो। मुख्य पर्यटन, कृषि, विदेशबाट सामान आयात हुने वस्तुको अध्ययन गरेर ती क्षेत्रमा लगानी गर्न सकिन्छ।

पञ्चकन्या ग्रुपले आगामी दिनमा कुन क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको छ ?
सिमेन्ट उद्योगमा लगानी गर्ने योजना बनाएका थियौं। उद्योगहरु धेरै भए। लगानी ठूलो र प्रतिस्पर्धा धेरै छ। निर्णयमा पुगेका छैनौं। हस्पिटालिटी क्षेत्रमा पनि हुनसक्छ। अहिले हामी पर्ख र हेरको रणनीतिमा छौं। बजारको अध्ययन गरेर जुन क्षेत्रमा अवसर हुन्छ त्यही क्षेत्रमा लगानी गर्छौं।

प्रकाशित: २४ मंसिर २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App