१७ फाल्गुन २०८० बिहीबार
अन्तर्वार्ता

संघ र प्रदेशको निकै माया पाएका छौं : कार्की

तपाईं निर्वाचित भएको डेढ वर्ष पूरा भयो, यस अवधिमा केके गर्नुभयो त?

शपथ ग्रहणपश्चात् हामीले नगर क्षेत्रका स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा नवीन कार्य गर्नुपर्छ भन्ने अठोट लियौं। ज्येष्ठ नागरिकका लागि घरदैलो सेवा कार्यक्रम सुरुवात ग¥यौं। महिला शिक्षक सुत्केरी भएको अवस्थामा सट्टा शिक्षक भर्ना गरेर शिक्षालाई निरन्तरता दिने व्यवस्था ग¥यौं। धार्मिक पर्यटनलाई जोडेर नयाँ कामको सुरुवात गरिएको छ। इतिहासमै पहिलोपटक सबैभन्दा बढी तीन करोड रुपैयाँ पालिकामा भित्र्याएका छौँ। धार्मिक पर्यटनलाई सबल र सक्षम बनाउनुपर्छ भन्ने मूल मर्म आत्मसात गरेर चतराधामका लागि मात्रै एक करोड बजेट भित्र्याएका छौँ। सहरी सडक योजना भित्र्याएका छौँ। विकासका कामभन्दा जनअपेक्षाअनुरूपका दिगो विकासका योजना अघि सारेका छौँ।

शिक्षामा वराहक्षेत्र अब्बल छ भन्ने सुनिन्छ। यसतर्फ तपाईंले केकस्ता कदम चाल्नुएको छ?

कुनै पनि ठाउँको दिगो विकासको मूल रूप शिक्षा र स्वास्थ्य हो भन्ने महसुस गरी त्यसैअनुसार यस नगरपालिकामा रहेका ५७ वटा विद्यालयको अध्ययन र अनुगमन ग¥यौं। ‘कोभिड १९’ ले शिक्षामा ठूलो प्रभाव पारेको पाएँ। कतिपय विद्यार्थीले गणितका सामान्य हिसाब गर्न र नेपालीसमेत राम्रोसँग पढ्न नसक्ने अवस्था हटाउन विद्यालयहरूमा शिक्षण सिकाइको असल अभ्यासको सुरुवात गरिएको छ। नगरभित्रका विद्यालयहरूका लागि अतिरिक्त रकम विनियोजन गरेर उपचारात्मक कक्षाहरूको व्यवस्था गरिएको छ। विद्यालयमा अतिरिक्त क्रियाकलापमा जोड दिँदै साहित्य, हिज्जे, अन्तरक्रियालाई जोड दिने व्यवस्था गरिएको छ।

स्वास्थ्य क्षेत्रमा पनि केके काम भए?

स्वास्थ्य सबालमा चतरा अस्पताल, नगर अस्पताललगायत विभिन्न स्वास्थ्य एकाइको अनुगमन गर्दा सुनसरीमा डेंगीले निकै प्रभाव पारेको भेटियो। सोहीअनुरूप उपचारलाई प्रभावकारी तुल्याइयो। त्यसैको परिणाम बराह क्षेत्र नगरपालिकामा स्वास्थ्योपचार राम्रो रहेको छ। नगरका मधुवन पिएसजी, चतरा अस्पताल र नगर अस्पतालले सरलरूपमा उपचार प्रदान गर्दै आएका छन्। अहिले कुनै पनि बिरामीले उपचार नपाएको गुनासो आएको छैन। उपचारमा खटिएका स्वास्थ्यकर्मीका व्यवहार र उपचारले नगरवासी खुसी हुनुभएको छ। सामान्य उपचार र शल्यक्रियाका लागि नगरबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो उद्देश्य रहेको छ।

कृषिमा केके काम भएका छन्?

मैले भन्दै आएको छु– यहाँको माटो छोयो भने अन्न प्राप्त हुन्छ। विगतमा मल, बिउ नपाएर यहाँका किसान छटपटाएको अवस्था थियो, जुन अवस्था अन्त्य भएको छ। मैले मल पाइनँ, कृषि उत्पादन बढाउन सकिएन जस्ता गुनासा आउन छाडेको छ। किसानलाई कृषि औजार वितरण, ट्यांकी र सिँचाइको व्यवस्था गरेका छौँ। सिँचाइ नपुगेका केही स्थानका लागि पनि प्रयासरत छौँ। खेत बाँझो राख्ने प्रवृत्ति अन्त्य गर्ने नगरको योजना छ।

तपाईंका कार्यकालमा प्राथमिकतामा परेका विषय के–के रहेका छन् ?

पर्यटन, कृषि, सिँचाइ, स्वास्थ्य, शिक्षा र योजनाबद्ध विकास र लगानी वृद्धिलाई प्राथमिकतामा राखेका छौं। बजेट भित्र्याउने कार्यमा जुटेको छौं। कृषि तथा अन्य उत्पादन बढाएर निर्यात गरी आर्थिक अवस्था सुधृढ गर्ने प्रयास जारी छ। मन्दिरहरूको भेटी र सिँचाइ व्यवस्थापनमा लागेको छु। स्वास्थ्य, शिक्षा र अन्य भौतिक विकासमा लगानी बढाउने योजना छ। यी क्षेत्रलाई अब्बल बनाउनेतिर नगरपालिका लागिपरेको छ।

भनिन्छ– बराहक्षेत्र धार्मिक नगरी हो। धार्मिक पर्यटनको विकासबारेमा केकस्ता योजना बनाउनुभएको छ ?

धार्मिक पर्यटनका लागि ‘बराह क्षेत्र’ नामै काफी छ। बराहक्षेत्र मन्दिरमा दर्शन गर्न दैनिक एक हजारको संख्यामा तीर्थालु आउने गर्छन्। यहाँ लाग्ने हरिबोधनी र माघे संक्रान्ति मेलामा लाखौंको संख्यामा भारत, बंगलादेश र भुटानबाट समेत भक्तजन आउँछन्। यसैगरी चतरा धाम, बोलबम मेलामा पनि हजारौ भक्तजन आउँछन्। कुम्भ मेला चतराधाममा आयोजना हुने भएकाले बराहक्षेत्रको महिमा अन्तर्राष्ट्रिय रूपमा समेत फैलिएको छ। रामधुनीको रामधुनी मन्दिर, चतरा, बराहक्षेत्र र धरानको पिडेश्वर, दन्तकाली क्षेत्र मिलाएर धार्मिक सर्किट बनाउने नगरपालिकाको योजना छ। यसका लागि बराह क्षेत्र मन्दिरको प्रवद्र्धन, भेटी व्यवस्थापन, सडक स्तरोन्नति, सरसफाइमा नगरपालिका लागिपरेको छ। यही वर्षको चैत महिनामा कुम्भ मेला लाग्दै छ, यसको तयारी भइरहेको छ।

आगामी चैत २६ देखि महाकुम्भ मेला सुरु हुँदै छ, यसनिम्ति नगरपालिकाले केकस्तो समन्वय र सहकार्य गर्दै छ?

महाकुम्भ मेला बराहक्षेत्रको मात्रै नभएर नेपालकै गौरवको विषय हो। हिन्दु धर्मावलम्बीका लागि त थप गौरवको विषय हो। तसर्थ पालिकाले संघीय सरकार, प्रदेश सरकार र धर्मगुरूहरूसँग समन्वय बढाइरहेका छ। पण्डाल निर्माण भइरहेको छ। यसमा संघीय र प्रदेश सरकारले सहयोग गरिरहेको अवस्था छ। केही दिनभित्र विभिन्न समिति निर्माण गरेर मूल समारोह समिति बन्दै छ। त्यसले थप काम अघि बढाउने छ।

लामो समयदेखि सप्तकोशी बाढीपीडित समस्या समाधान हुन सकेको छैन, यसनिम्ति केकस्तो पहल गरिरहनुभएको छ?

यो राष्ट्रिय मुद्दा हो। पालिकाले पहल मात्रै गर्न सक्छ। उहाँहरूको व्यवस्थापनमा नगरपालिका सजग छ। भूमि आयोगसँग समन्वय गरेर भूमिहीन, सुकुम्बासी, कोशी पीडितलाई पुर्जा वितरणका लागि सहजीकरण गर्न अग्रसर छौँ।

दुई वडामा विभाजित श्रीलंका टापुको जग्गा भाडा विवाद भएको थियो, खास के भएको हो?

मैले पनि समाचार हेरेँ, यसमा मलाई दुःख लाग्यो। स्पेन सरकारको लुम्बिनी गार्मेन्ट संस्थालाई ९९ वर्षका लागि जग्गा लिजमा दिएको भन्ने समाचार कपोलकल्पित हो। कोशीपारि धार्मिक र पर्यटकीय स्थलका रूपमा अब्बल बनाउन सहयोग गर्ने भन्ने उहाँहरूको प्रस्तावमा लुम्बिनी गार्मेन्ट संस्थासँग हाम्रो छलफल भएको हो। जग्गा लिजमा दिने कुरा कहीँकतै पनि भएकै छैन। जग्गा लिजमा दिने अधिकार स्थानीय तहलाई छैन।

सुशासनका निम्ति केकस्ता काम गरिरहनुभएको छ?

जति विकास गरे पनि, जति ठूला काम गरे पनि सुशासन भएन भने सबल र सक्षम हुन सकिन्न। अस्तव्यस्त आयो भने, छाडापन बढ्यो भने बराह क्षेत्र समृद्ध बन्न सक्दैन। शान्तिसुरक्षा कायम राख्नका लागि आवश्यक निर्देशन दिँदै आएका छौँ। जनतालाई सरल रूपमा सेवा प्रदान गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएका छौँ। सबै जनप्रतिनिधि यसप्रति सचेत छौँ।

काम गर्नका लागि कर्मचारी सयंत्रबाट कत्तिको सहयोग पाइरहनुरहेको छ?

सहयोग पाइरहेको छु। सुरुमा केही अफ्ठ्यारो भएको हो, समस्या आएको होइन। कुनै उपभोक्ता समितिमा नरहेको मान्छे नगर प्रमुख भएर आउँदा अफ्ठ्यारो महसुस हुनु स्वाभाविकै हो । कर्मचारीहरूको सहयोग, सल्लाह र सुझाव निरन्तर पाएकाले काममा सहज भएकाे छ।

संघीय र प्रदेश सरकारसँग कत्तिको समन्वय भइरहेको छ?

बराहक्षेत्रको विकासका लागि दुवै सरकारबाट निकै माया पाएका छौं । संघीय सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहोरात्र खटिरहनुभएको छ। हामीले चाहेको, खोजेको उहाँजस्तो जनप्रतिनिधि प्राप्त गरेका छौँ। यहाँबाट निर्वाचित संघीय संसद् र प्रदेशका माननीयहरूबाट निकै सहयोग र योगदान प्राप्त भइरहेको छ। उहाँहरू आफैं फोन गरेर आवश्यकताका विषयमा सोध्नुहुन्छ र सुझाव र सल्लाह प्रदान गर्नुहुन्छ। यस आधारमा बराह क्षेत्रको विकासमा निकै सहज भएको छ भन्नेमा हामी आशावादी छौं।

अन्त्यमा बराहक्षेत्रका नागरिकलाई के भन्नुहुन्छ?

उहाँहरूले पाँच वर्ष काम गर्ने अवसर दिनुभएकाले बराहक्षेत्रलाई समृद्ध बनाउने सवालमा सकारात्मक र इमानदारपूर्वक लागिपरेका छौं। उहाँहरूलाई बराहक्षेत्रका नागरिक हौँ भने गर्व गर्नलायक बनाउने छौं। यसका लागि सकारात्मक सहयोग आवश्यक पर्छ। हाम्रो आग्रह छ– हामीलाई काम गर्न अवसर, सहयोग र साथ दिनुहोस्, हामी बराहक्षेत्रलाई स्वर्णिम अक्षरले लेख्ने बनाउँछौं।

प्रकाशित: २४ माघ २०८० १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App