१७ फाल्गुन २०८० बिहीबार
अन्तर्वार्ता

द्वन्द्वको मनोवैज्ञानिक असर कम गर्न सफल भएका छौँ : डिआइजी ढकाल

कर्णाली प्रदेश प्रहरी कार्यालयले वैशाख १ गतेदेखि सुरक्षित कर्णाली विशेष अभियानको सुरुवात गरेको छ। १४ वटा कार्यक्षेत्र र ७८ वटा क्रियाकलाप समेटिएको यो अभियान अन्तर्गत घर–घरमा प्रहरीको फोन नम्वरसहितको स्टिकर टाँस अभियान, पीडित सहायता कक्ष, लागू औषधविरुद्ध लालटिन अभियान, नागरिकमैत्री प्रहरी लगायत छन्। यीनै अभियान सञ्चालन गरेर सुरक्षित कर्णाली बनाउन विशेष भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कारबाट सम्मान गरेको छ। कर्णालीमा प्रहरीले सञ्चालन गरिरहेको अभियान, यसको प्रभावकारिता लगायतका विषयमा रहेर नागरिकर्मी नगेन्द्र उपाध्याय र गोविन्द केसीले डिआइजी ढकालसँग गरेको कुराकानी:

के प्रहरीले ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ सञ्चालन गरिरहेको छ ? यो अभियान अन्तर्गत के–कस्ता कार्यक्रमहरु भइरहेका छन् ?

‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ वैशाख १ गतेदेखि सुरु गरिएको हो। यो अभियानमा १४ कार्यक्षेत्र र ७८ वटा क्रियाकलापहरू समावेश छन्। सामान्यतया: नेपाल प्रहरीले गर्ने सुरक्षाका कामहरू भइराखेकै हुन्छन्। तर, अहिलेको सन्दर्भमा कर्णालीको भूगोल अनुसार कस्तो सुरक्षा चाहिन्छ रु सुरक्षा चुनौती के–के छन् रु जोखिम के–कस्ता छन् रु नागरिकको अपेक्षा र आवश्यकता के छ रु कुन–कुन ठाउँमा कस्ता सुरक्षा चुनौतीहरू छन् रु के काम ग¥यो भने नागरिकहरूमा सुरक्षाको अनुभूति हुन्छ रु भन्ने अध्ययन गरेर अभियान सञ्चालन गरेका हौँ।

हामीले दुई महिनासम्म नागरिकस्तरमा बृहत् छलफल चलायौँ। जिल्ला तहदेखि वडा र टोल तहसम्म छलफल ग¥यौं। नागरिकका सुझाव संकलन गर्‍यौं। त्यसपछि योजना बनाएर कार्यान्वयनमा ल्याएका हौँ। नेपाल प्रहरी कार्य योजना–२०८०, प्रहरी महानिरीक्षकसँग गरेको कार्य सम्झौताभित्र रहेर सुरक्षित कर्णाली विशेष अभियानको सुरुवात गरेका हौँ। 

१४ वटा कार्यक्षेत्रहरू के–के हुन् ?

कर्णालीलाई सुरक्षित बनाउनका लागि नागरिकस्तरबाट आएका सुझावका आधारमा १४ वटा कार्यक्षेत्र निर्धारण गरेका छौँ। अधिकांश कार्यक्षेत्रहरू नागरिकहरूसँग सम्बन्धीत छन्। यस अन्तर्गत नागरिकमैत्री प्रहरी व्यवहार, पीडित सहायता कार्यक्रम, नागरिकमैत्री प्रहरी कार्यालय व्यवस्थापन, शान्ति सुरक्षा र अमन चयन, अपराध रोकथाम र नियन्त्रणमा प्रविधिमैत्री नयाँ तरिका, अपराध अनुसन्धानलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउने, आत्महत्या रोकथाम तथा नियन्त्रण, लागू औषध नियन्त्रणका लागि लालटिन अभियान, विद्यालय–कलेज सुरक्षा सचेतना कार्यक्रम, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दलित समुदाय लक्षित कार्यक्रम, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन र लुम्बिनी प्रदेशमा रहेका प्रहरीका कार्यालयहरू कर्णालीमा स्थानान्तरण आदि छन्।

अहिले सञ्चालनका रहेका कार्यक्रमहरूको प्रभावकारिता कस्तो पाउनु भएको छ ?

नागरिकमैत्री प्रहरी व्यवहार अन्तर्गत रहेका चार हजार ५१२ प्रहरी कर्मचारीलाई प्रशिक्षण दियौँ। नागरिकलाई कस्तो व्यवहार गर्ने रु कसरी बोल्ने रु लगायतका विषय राखेर अनुशिक्षण गरेका छौँ । २० पटक नागरिक सुनुवाइ सम्पन्न गरेका छौँ। नागरिक सुनुवाइका क्रममा नागरिकहरूले प्रहरीप्रतिको गुनासो कम हुँदै गएको बताउनु भएको छ। कर्णालीमा रहेका ३०८ वटै प्रहरी कार्यालयमा नागरिक सहजकर्ता राखेका छौँ। गेटबाटै प्रहरीले सेवाग्राहीलाई स्वागत गर्ने, कहाँ के काम हो त्यसको सहजीकरण गर्ने यसको उद्देश्य हो। यसले गर्दा नागरिक सोझै प्रहरी कार्यालयमा गएर आफ्नो कामहरू गर्न सक्ने अवस्था सृजना भएको छ। बिचौलियाको भूमिका शून्य बनाएका छौँ। नागरिकहरू निर्धक्कसँग प्रहरी कार्यालयमा आउन थाल्नु भएको छ। ३७ हजार ११४ जनालाई हामीले सहजीकरण गरेका छौँ। यसको रेकर्ड राखेका छौँ।

असार ३१ गतेबाट घर–घरमा स्टिकर टाँस अभियानको शुभारम्भ गरेका थियौं। यो अभियानले कर्णालीमा ठूलो परिवर्तन ल्याएको पाएका छौँ। फोनमार्फत आफ्ना गुनासा, समस्याहरू राख्नेको संख्या उल्लेख्य वृद्धि भएको छ। स्टिकर टाँस अभियानपछि ५५ प्रतिशत फोनहरू थप आउन थालेको छ। घरमा हुने झै–झगडादेखि अन्य अपराध नियन्त्रणमा सघाउ पु¥याएको छ। नागरिक प्रहरीसँग नजिक भएका छन्।

दुई हजार ६७८ जनाको निःशुल्क निवेदन संकलन लेखेका छौँ। पीडितले निवेदन लेखाउन बाहिर पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। भाडाको सवारी साधनमा यात्रा गर्नेलाई यात्रुमैत्री अभियानको सुरुवात गरेका छौँ। नागरिकहरुलाई यात्रा गर्दाका समस्या र गुनासाहरूलाई सम्बोधन गर्ने काम भएका छन्। यो ८२ हजार २९५ सवारी चेकजाँच गरेका छौँ। डेढ लाख यात्रुहरूसँग हामीले प्रत्यक्ष संवाद गरेका छौँ। चालकलाई बिस्तारै चलाउन सम्झाउँछौँ। यसले गर्दा अघिल्लो वर्षको तुलनामा दुर्घटना कम भएको देखिएको छ। 

सेवा लिन आउने सेवाग्राहीहरूका लागि २४ वटा कार्यालयहरूमा खानेपानी र शौचालय निर्माण गरेका छौँ। असोज २४ गतेदेखि सुरु गरिएको पीडित सहायता कार्यक्रममार्फत २२१ जाहेरीकर्ताहरूलाई फोन गरेर प्रगति विवरणका बारेमा जानकारी गराएका छौँ। ५१२ जनालाई उपचार, परामर्श र संरक्षणमा राखेका छौँ। नागरिकमैत्री कार्यालय व्यवस्थापन अन्तर्गत २१ स्थानमा प्रतीक्षालय निर्माण गरेका छौँ। कर्णालीका १४ वटा हिरासत कक्षमा पुस्तकालय स्थापना गरेका छौँ। प्रत्येक हिरासतमा तीन सयसम्म किताबहरू राखेका छौँ। हिरासतमा बस्दा अनिवार्य ती पुस्तकहरू अध्ययन गर्नुपर्ने व्यवस्था मिलाएका छौँ।

धेरै अपराध हुने स्थानलाई छनोट गरेर ड्युटी केन्द्रित गरेका छौँ। १३ हजार ३३७ पटक अन्तरक्रियात्मक गस्ती गरिसकेका छौँ। १०५ स्थानमा सिसी क्यामरा जडान गरिएका छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा डिजिटल गेट निर्माण गर्दैछौं। दुई हजार ४७९ जनालाई अनुसन्धान र मानव अधिकार संरक्षण सम्बन्धी तालिम दिएका छौँ।

लागू औषध नियन्त्रणका लागि १८१ वटा सचेतना कार्यक्रम सञ्चालन भएका छन्। लागू औषधको धेरै प्रयोग हुने स्थानको छनोट गरेर गस्ती बढाएका छौँ। जुम्लामा स्थानीय तहसँग समन्वय गरेर लागू औषध सुधार केन्द्रको स्थापना गर्दैछौं। १५ सय २८ रोपनी गाँजा र ५३० रोपनी अफिम फँडानी गरेका छौँ। विद्यालय–कलेजमा सचेतना कार्यक्रम चलाएका छौँ। ८२ वटा कार्यक्रमबाट दुई हजार ७९२ जनालाई साइवर सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ। १४ हजार ८४ जनालाई आत्महत्याविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ। १० वटै जिल्ला प्रहरी कार्यालयमा ‘दलित सेल’ स्थापना भएका छन्। राजमार्गहरूमा दुई सय वटा सचेतना बोर्डहरू टाँस गरेका छौँ।

विपद् व्यवस्थापनका लागि ३१९ लाई प्रशिक्षण दिएका छौँ। २७१ विपद् सामाग्रीहरू खरिद गरेका छौँ। विपद् सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ। कर्णालीका १०५ स्थानलाई पहिरो जान सक्ने ठाउँका रुपमा पहिचान गरेका छौँ।

नेपालमा चलेको सशस्त्र द्वन्द्वयता कर्णालीमा नागरिक–प्रहरी सम्बन्ध अझै सुमधुर हुन नसकेको देखिन्छ। अहिले कर्णालीमा प्रहरीले सञ्चालन गरिरहेको अभियानले नागरिकसँग प्रहरीको सम्बन्ध स्थापित गर्न कस्तो भूमिका खेलेको छ ?

हामीले सञ्चालन गरेका अभियानले नागरिक र प्रहरीबिचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। सरकार छ अनुभूति हामीले गाउँ गाउँमा पुगेर नागरिकहरुलाई गराउन सफल भएका छौँ। कर्णाली द्वन्द्वको उद्गम थलो हो। कर्णालीका नागरिकहरू प्रहरीदेखि डराउने र प्रहरीलाई अविश्वास गर्ने जुन परिपाटी थियो, त्यो हामीले कम गर्न सफल भएका छौँ। पहिले प्रहरी आवश्यक भन्नेहरुनै अहिले प्रहरी चौकी स्थापना गरिदिनु¥यो भन्दै निवेदन ल्याएर आउनुहुन्छ। नागरिकमैत्री कार्यक्रमहरूका साथ प्रत्येक घर–घरमा हामी पुगेपछि नागरिकहरूसँगको प्रहरी सम्बन्ध राम्रो हुँदै गएको छ। द्वन्द्वको मनोवैज्ञानिक असर कम हुँदै गएको छ।

नागरिक–प्रहरी सम्बन्धलाई अझ नजिक बनाउनका लागि स्टिकर टाँस अभियानको सुरुवात गर्नु भएको थियो। यसले अहिले आएर कस्तो नतिजा दिएको पाउनु भयो ?

हामीले सुरक्षित कर्णाली अभियानलाई सफल बनाउनका लागि ‘घरघरमा स्टिकर टाँस अभियान’को सुरुवात गरेका हौँ। यसको पहिलो उद्देश्य नागरिकसँग प्रहरी सम्बन्ध सुधार गर्नुका साथै घर, परिवार र समाजमा हुने र हुन सक्ने झै–झगडादेखि अन्य अपराध नियन्त्रणमा नागरिकको सक्रियता हामीले खोजेका थियौं। कर्णालीमा तीन लाख ७१ हजार १२५ घरधुरी छन्। हामीले अहिलेसम्म एक लाख ९२ हजार ३५४ घरमा स्टिकर टाँस गरेका छौँ। अबको एक महिनाभित्र सबै घरमा हामी पुग्दैछौं। 

प्रकाशित: २ कार्तिक २०८० १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App