जनकपुर उपमहानगरपालिकाको मेयर पदमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई १० हजार सात सय ४३ मतान्तरले पछि पार्दै विजयी भएका राजपा नेपालका लालकिशोर यादवसँग नागरिककर्मी सुरेश यादवले गरेको संक्षिप्त कुराकानी :
ऐतिहासिक नगरको मेयर निर्वाचित भएपछि कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?
खासमा जनकपुरको मेयर पदमा चुनाव लड्ने चाहना मेरो थिएन । तर, २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनबाट म आउनुपर्छ भन्ने जनताबाट दबाव थियो । अन्त्यमा मैले पनि मनसाय बनाएँ र पार्टीले अह्राएपछि चुनाव लडें, जनताको ठूलो समर्थनले जिते पनि । अब मैले जनताको आकांक्षा अनुरूप काम गर्ने बेला आएको छ ।
प्रतिस्पर्धी सबै उम्मेदवारले पाएको हाराहारीको मत तपाईं एक्लैले पाउनु भयो, यो राजपाप्रतिको आकर्षणले नै हो त ?
होइन, यसमा दुईवटा कुराले काम गरेको छ । मधेसको मुद्दा सम्बोधन गराउन राजपाले गरेको संघर्ष र वलिदानीलाई मतदाताले कदर गरेका छन् भने विकासको मुद्दामा मेरो प्रतिवद्धताको पनि मुल्यांकन गरेका हुन् । प्रत्यक्ष राजनीतिमा नलागेका मौन बस्नेजति सबै मतदाताले मेरो पक्षमा मतदान गरेको मैले पाएको छु । मेरो जन्म मटिहानी गाउँमा भए पनि विद्यार्थी कालदेखि नै जनकपुरबाट पूर्णकालीन राजनीतिमा लागेको हुँदा मेरो छलिाई सबैले नजिकबाट नियालेका छन् । मेरो कर्मभूमि जनकपुर हो, यहाँका हरेक जनताले मलाई माया गरेका छन् । मधेस आन्दोलनको प्रभावले राजपाप्रति यहाँका जनताको सद्भाव र मेरो इमान्दारी दुवैले यो चुनावमा काम गरेको जस्तो मलाई लाग्छ ।
जनकपुर विश्वभरका हिन्दु समुदायको आस्थाको केन्द्र हो। जनकपुरको विकासमा केन्द्र सरकारसँग समन्वय गरी दीर्घकादलीन योजना बनाएर तत्काल काम सुरु गर्छु ।
राजनीतिमा कसरी लाग्नुभयो ?
जनकपुरको रामसागर रामस्वरूप वहुमुखी (राराव) क्याम्पसमा अध्ययनरत छँदा महन्थ ठाकुरको प्रभावमा परेर म राजनीतिमा लागेको हुँ । समान्य व्यवसायिक परिवारको छोरा हो म, राजनीतिमा नलाग्न मलाई घरबाट ठूलो दबाव थियो (भावुक हुँदै) । तर, लोकतन्त्रको जुनुन मभित्र थियो । पूर्णकालिन राजनीतिमा प्रजातन्त्रको पुनर्वहालीपछि लागेको हुँ । नेपाली काँग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेको मैले ०४८ मा भएको संसदीय निर्वाचनमा चुनाव लड्नुपर्छ भनेर साथीहरु र पार्टीका कार्यकर्ताबाट माग भइरहेको थियो तर, पार्टीले टिकट दिएन । लगत्तै ०४९ मा स्थानीय निर्वाचनको बेला पनि पार्टीका उपल्ला नेताले परिवारवादमा लागेर मलाई पाखा लगाएपछि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएँ र जिते पनि । जनताको प्रतिनिधि भएर काम गरिसकेपछि राजनीतिबाट अलग हुने कुरै भएन, आजीवन यसै सेरोफेरोमा बित्ने भयो ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभएको तपाइले दल फेर्नुपर्ने कारण के हो ?
नेपाली कांग्रेसभन्दा पनि बिपीको विचारबाट प्रभावित भएको हुँ म । कांग्रेसमै रहँदा पनि कार्यकर्ताको बीचमा म सबैको प्रिय थिएँ । ०४८ सालको निर्वाचनमा पार्टीले सबै क्षेत्रबाट कार्यकर्ताको राय मागेको थियो । जनकपुर क्षेत्रबाट मैले लड्नुपर्छ भनेर वहुमतले माग भएको थियो । तर, तत्कालीन समयमा शक्तिकेन्द्रमा रहनुभएका महेन्द्रनारायण निधिजीले आफ्नो छोरा विमलेन्द्र निधिको लागि मलाई पछाडि धकेल्ने षडयन्त्र गरे । कांग्रेसलाई जिताउनुको विकल्प मैले देखेको थिइन, सोही अनुरूप काम गरिरहे पनि जिल्ला सभापति आनन्दप्रसाद ढुंगानाले दबावमा आएर मलाई सधारण सदस्यतासमेत खारेज हुनेगरी निकाले । तर, लोकतन्त्रप्रतिको लगावकै कारण म राजनीतिबाट विचलित भइन । कालान्तरमा राजपासम्म आइपुगेको छु ।
नगरपालिकामा फर्काै २५ वर्षअघि उपमेयर हुँदाको जनकपुर र यतिबेलाको जनकपुरमा के फरक पाउनुभयो ?
राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भएको छ । स्वभाविक रूपले नगरको भूगोल र सामाजिक संरचनामा पनि वदलाव आएको छ । त्यसबेला युवा अवस्थामा शिष्टता थियो, कर्मचारीतन्त्रमा भ्रष्ट आचरण कम थियो । सुरक्षा र स्थानीय प्रशासनबीच समन्वय राम्रो थियो । तर, अहिले दुई दशकपछि आएर हरेक निकाय भ्रष्टाचारबाट प्रभावित भएको छ । स्थानीय निकाय पनि त्यसबाट वञ्चित छैन । माओवादी द्वन्द्वसँगै राजनीतिक स्थिरता भंग हुन पुग्यो । युवाहरू कुलतमा फस्न थाले । सशस्त्र द्वन्द्वमा मधेशी युवाहरू पनि होमिए, त्यसले समाजलाई क्षति मात्रै गर्यो । समग्रमा समाजको सद्भाव नै बिथोलिएको छ ।
समाजबाट पलायन भएको सद्भावलाई फर्काउन जनकपुरका नयाँ मेयरले के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?
सद्भाव फर्काउन नितान्त आवश्यक छ । मधेस आन्दोलनको क्रममा पहाडी समुदायलाई धपाइएको हल्ला पनि मीडियामा आइरहेको हुन्छ । त्यसमा शतप्रतिशत सत्यता रहेको म मान्दिन । तर, आपूmलाई मधेसमा असुरक्षित महसुस गरेरै पलायन भएका कोही छन् भने त्यस्ता हरेक व्यक्ति र परिवारलाई सामाजिक र भौतिक सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेगरी म काम गर्नेछु । जनकपुरको पुरानो संस्कृति र सौहाद्रपूर्ण वातावरणलाई फर्काएर ल्याउने कार्य मेरो प्राथमिकतामा रहनेछ । यसका साथै युवा वर्गमा देखिइरहेको विकृति रोक्न संस्थागत रूपमै पहल गर्छु ।
वृहत्तर जनकपुरको अवधारणा लामो समयदेखि चर्चामै सिमित छ, तपाईंको कार्यकालमा कसरी अगाडि बढ्छ ?
हो, पञ्चायतकाल देखि नै चर्चामा रहेको यसवारे म उपमेयर हुँदा पनि केही योजना बनाएका थियौं । तर, त्यसबेला धेरै काम हुन सकेन । जनकपुरलाई धार्मिक पर्यटकीय नगरको रूपमा स्थापित गरी विश्वसम्पदा सूचीमा उल्लेख गराउनुपर्छ । अबको २५ वर्षमा स्मार्ट सिटी निर्माण गर्ने दिर्घकालीन योजना अनुरूप ग्रेटर जनकपुरको अवधारणा कार्यान्वयन गर्नुपर्छ । जनकपुर विश्वभरका हिन्दु समुदायबीच आस्थाको केन्द्र हो । जनकपुरको विकासमा केन्द्र सरकारसँग समन्वय गरी दिर्घकालीन योजना बनाएर तत्काल काम सुरु गर्छु ।
पाँच वर्षे कार्यकालमा गर्न सक्ने तपाइको ‘सपनाको जनकपुर’ कस्तो हो ?
सबभन्दा पहिले त ‘जनकपुर’ लाई ‘जनकपुरधाम’ नामाकरण गरी सोही अनरूप धार्मिक महत्व र ऐतिहासिक धरोहरको संरक्षण गर्ने कार्य थालनी गर्छु । कम खर्चमा धेरै उपलब्धी देखिने सफाई सम्बन्धी कार्य, ढल निकास तथा वृक्षारोपण कार्यले गति पाउँछ । दृढ इच्छा शक्ति हुनुपर्छ, जनकपुरलाई आधुनिक सहर बनाउन सम्भव छ । साथै जनकपुरको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि उल्लेख्य काम गर्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
जनकपुरमा सार्वजनिक जग्गा पर्याप्त रहे पनि तीव्र गतिमा अतिक्रमित हुँदैछ, यसको नियन्त्रण हुन्छ ?
राजनीतिक संक्रमणकालमा कानुनी अराजकता बढेको छ । संस्थागत रुपमै पनि सार्वजनिक जग्गाको अतिक्रमण भएको छ । तिरहुतिया गाछीको पहिचान संकटमा परेको छ । जनकपुरमा रहेको पहाडिया गाछी लोप नै भइसकेको छ । त्यो सबै रेकर्ड खोजेर सार्वजनिक जग्गाको संरक्षण गर्दै हरेक समुदायको पहिचान बोकेका कुट्टी, मठ, मन्दिर र सरोवरको संरक्षण हुनु आवश्यक छ । मेरो कार्यकालमा यस क्षेत्रमा पनि तपाइहरुले महसुस गर्नेगरी सुधारका काम गर्ने विश्वास दिलाउँछु ।
यो प्रदेशको राजधानी कायम हुनुपर्ने दावी गरिरहेको जनकपुरमा सो अनुसारको सडक सञ्जाल र पूर्वाधार देखिदैन, यसका लागि के गर्नु हुन्छ ?
जनकपुर आठ जिल्लाको मात्रै होइन, पुरै मधेसको राजधानी हुनुपर्छ । तर, पूर्वाधारको अभाव भएको भन्नुभो सही हो । राजधानी भन्दा पहिले जनकपुरलाई महानगरपालिका बनाउनुपर्छ । चुनाव अगावै महानगर बनाउने निर्णय पनि भयो, आचारसंहिताको कारण कार्यान्वयन हुन सकेन । अब तत्काल जनकपुरको भौतिक पूर्वाधार विकासको लागि नगरपालिकाले काम गर्नुपर्छ । यसको विकल्प छैन । सडक सञ्जाल विस्तार र स्तरोन्नतिको काम भइरहेको पनि । त्यो कामलाई गति दिँदै थप कार्य पनि तत्कालै सुरु गरिन्छ ।
लामो समयपछि जनकपुरले पाएको जनप्रतिनिधिले कर्मचारीको भरमा हुँदै आएको कार्यसम्पादनमा के भिन्नता देखालाउन् ?
बजेट खर्चिने औपचारिकतामा सीमित रहँदैन, जनकपुर नगरपालिका । नगर कार्यपालिकाले सेवाग्राहीलाई सन्तुष्ट पार्ने र नगरवासीलाई व्यवस्थित नगरको आभाष दिलाउने काम हुन्छ । स्पष्ट योजना र गुरुयोजना बनाएर त्यसको कार्यान्वयन हुन्छ । कर्मचारी जवाफदेही हुनेछन् । जनप्रतिनिधिले भ्रष्टाचार नियन्त्रण र बेथितिलाई ट्रयाकमा ल्याउनेछन् । धनी, गरिब र जातपातको आधारमा कसैले भेदभावको सिकार हुनुपर्ने छैन । जनताले दैनिक सुविधा बिजुली र खानेपानीको आपूर्ति तथा सरसफाइमा सुधार भएको महसुस गर्नेछन् ।
सर्वसधारण नगरवासीको आँखाले हेर्नुस्, जनप्रतिनिधिको मुख्य जिम्मेवारी के हुनुपर्ने हो ?
सडकमै पानी जम्ने, खाल्टाखुल्टी र लामखुट्टे नियन्त्रणमा काम गर्नुपर्छ । वृक्षरोपण गरी सहरलाई वातावरणमैत्री बनाउनुपर्छ । कम खर्चमा हुने सफाइका कार्य, सडक जिर्णोद्धार, ट्राफिक व्यवस्थापनलगायत कार्यमा ढिलासुस्ती गर्नै हुँदैन । स्थानीय निकायमा पुग्ने सेवाग्राहीले बिना कुनै झन्झट तोकिएको शुल्क तिरेर तोकिएको समयसीमाभित्र सेवा पाउनुपर्छ । सडक बत्ती, नगरबासीको सुरक्षाका लागि सचेत रहनुपर्छ ।
प्रकाशित: ११ आश्विन २०७४ ०१:२६ बुधबार