२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ : विनीता पन्त (पोषणविद्)

 

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ। शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन्। राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटहरूसँग लड्न सक्छन्। तर, अहिले पनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन्। यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ। यसै सन्दर्भमा केन्द्रित रहेर अल्का हस्पिटलमा कार्यरत पोषणविद् (डाइटेसियन)विनीता पन्तसँग गरिएको कुराकानी।

  

प्रश्न: हाम्रो शरीरका लागि पोषण किन चाहिन्छ ?

उत्तर: हाम्रो शरीरका लागि पोषण एकदमै आवश्यक छ। पौष्टिक तत्त्वको प्रयोग हुने प्रक्रिया भनेकै पोषण हो। शरीरमा बन्ने विभिन्न कम्पाउन्डहरू हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ। हाम्रो शरीरमा पौष्टिक तत्त्वको उपयोग हुनुपर्ने हुन्छ। यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गरिन्छन्। शरीरलाई शक्ति प्रदान गर्न पोषणको भुमिका हुन्छ। शरीरका विभिन्न अगंलाई सुचारु गर्न पनि पोषण चाहिन्छ। पोषण भन्ने बित्तिकै सन्तुलित खानाको राम्रो प्रबन्ध गरेको भनेर बुझिन्छ।  

प्रश्न: शरीरका लागि कस्तो पौष्टिक आहारको आवश्यकता पर्छ ?

उत्तर: हामीले सन्तुलित खानेकुरा खानुपर्छ। सन्तुलित आहार भन्ने बित्तिकै पाँच वटा खाद्य समूह भनेर बुझ्नुपर्छ। हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दूध र अण्डा समूह र चिल्लो–गुलियो समूह। यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरको लागि आवश्यकता अनुसार (उचाइ, तौल, उमेर, शारीरिक क्रियाकलाप) मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो । यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ। सन्तुलित खानेकुराको प्रबन्ध मिलाउनुलाई नै पोषण भन्छौँ।

प्रश्न: शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामीहरू आउने गर्दछन् ?

उत्तर: नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन। हामीकहाँ कस्तो अवस्थामा बिरामी आउनुहुन्छ भने बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि। धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ। आज भोलि अलिकति ट्रेन्ड बदलिएको छ, हामी कहाँ मोटोपना समस्या भएकाहरू पनि आउनुहुन्छ। उहाँहरूको आवश्यकता अनुसार उहाँको रोग के हो ? उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ। उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ ? र, उहाँलाई के आवश्यकता पर्छ भनेर हामीले खानेकुराको परामर्श गर्छौं। जस्तै: काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतीपाती गर्नुहुन्छ, के रोग छ ? त्यो अनुसार नै चाहिने आवश्यकता अनुसार पौष्टिक तत्त्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिनहरू, खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पटाउँछौँ।

प्रश्न: पोषणका कारणले कस्ता कस्ता रोगहरूले आक्रमण गर्छ ?

उत्तर: अहिलेको अवस्था हेर्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ। सबै मानिसहरू व्यस्त हुनुहुन्छ।  यो सँगसँगै मोटोपनको समस्या बढ्दो छ। मोटोपनको समस्याले गर्दा ल्याउने रोगहरू जस्तै: मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलाको समस्याहरू यो चाहिन् हामी सँगसँगै आइरहेको हुन्छ। त्यसले गर्दा पनि यो जोखिम बढी रहेको देखिन्छ। सामान्यतया न्यून पोषण भएर आउने एकदमै कम हुनुहुन्छ। कुपोषण भएका बालबालिकाहरू यहाँ आउने स्थिति पनि छैन होला। यहाँ त हामीकहाँ अधिक पोषण भएर आउनेहरूको संख्या धेरै छ। बच्चाबाट नै उच्च कोलेस्ट्रोल भएकाहरू आउने गरेका छन्। यस्तै, हामी कहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरू आउनुहुन्छ।

प्रश्न: कस्तो खाना खानुपर्छ ?

उत्तर: बालबालिकाहरूलाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ। जस्तो: जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ। बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ। घरमा पाँच वटा खाद्य समूह खान आवश्यक छ।  अन्न भनेर भन्दाखेर बाहिरको चाउचाउ, ब्रेड, पप होइनकी घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलार्ई पकौडी बनाइदिनुहोस्, घरमै बनाइदिनुहोस्, स्वच्छ तेलमा बनाइदिनुहोस्। बच्चालाई खानेकुरा चिल्लो खानै दिन नहुने, तारेको खानै दिन नहुने होइन तर, घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक रुपमा दिन सकियो भने बच्चा पक्कैपछि सुपोषित हुनसक्छ। खानेकुरा चाहिन् एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरूको खेल्ने माहौल छैन, हाम्रो शारीरिक क्रियाकलाप नै एकदमै न्यून छ। त्यसले गर्दा घरकै खानेकुरा खुवाए पनि ओभर इटिङ (धेरै खाना) छ भने त्यो पनि अर्को समस्या देखिएको छ। त्यसैगरी बच्चैदेखि आमा रुले यति धेरै खुवाउनुहुन्छ की दिनमा चाहिने भन्दा नचाहिने पौष्टिक तत्त्व खुवाउनुभएको हुन्छ। इनर्जी, प्रोटिनहरू चाहिने भन्दा एकदमै धेरै खुवाउनुभएको हुन्छ।  त्यस कारणले गर्दा सानै उमेरबाट मोटोपनको समस्या बढ्दै आएको छ। अहिले म कहाँ आइपुग्नुहुने प्रत्येक आमाहरूलाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मँदा कति तौलको थियो ? कति खुवाउनु हुन्थ्यो ? वेस्ट ग्रेडिङ खुवाउनुभएको हो वा फर्मुला मिल्क ? घरको खानेकुरा खुवाउनुभएको हो की बजारबाट किनेको ? त्यो बाट नै सुरु गरेर मैले काउन्सिलिङ गर्ने गर्छु। मोटोपनको समस्या फर्मुला मिल्क (दूध) बढी खुवाएको बालबालिकामा देखिएको छ।

प्रश्न: कुपोषणका कारण ख्याउटेपना, पुड्कोपनाको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ?

उत्तर: पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ। आमा, बुवामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ। त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ। त्यो सँगसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुरक्षित छन् ? कति पौष्टिक तत्त्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ। बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ। र, घरको परिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो। सुरक्षित खानेकुराको पनि आवश्यक हुन्छ। आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ। समय नपुगिओ बच्चा जन्मिदा बच्चाको तौल, उचाइ पुगेको हुँदैन। यसले गर्दा कुपोषण निम्त्याउँछ। कुपोषण सँगसँगै विभिन्न सङ्क्रामक रोगहरू लाग्न सक्छ। र, यसले गर्दा खेरी बच्चालाई मृत्युको मुखसम्म पु¥याउन सक्ने सम्भावना हुन्छ। विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ। किन भने विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउनुहुन्छ। खाद्यान्नको अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।  

प्रकाशित: २ भाद्र २०८० ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App