२४ जेष्ठ २०८० बुधबार
अन्तर्वार्ता

‘मिडिया व्यवसाय मात्र होइन, सत्कार्य पनि हो’

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली तीन दशकभन्दा लामो अवधिदेखि नेपाली सञ्चार उद्योगमा क्रियाशील छन्। युवा उमेरमा मिडिया उद्यममा प्रवेश गरेका अध्यक्ष ज्ञवाली यतिबेला आफ्नो निजी मिडिया कम्पनीलाई पब्लिक बनाउने अभियानमा छन्। नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर बिक्री गरेपछि यस क्षेत्रमा आउन सक्ने सम्भावित परिणाम र भावी योजनाबारे नागरिकले गरेको संवाद:

तपाईंमा नागरिक दैनिक, रिपब्लिका डेलीलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको नेपालको अग्रणी सञ्चार गृह नेपाल रिपब्लिका मिडियालाई पब्लिक कम्पनीमा रूपान्तरण गर्नुपर्छ भन्ने सोच कसरी आयो?

सञ्चार माध्यम जहिल्यै पारदर्शी हुनुपर्छ। देशको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा नेपाली सञ्चार माध्यमले खेलेको भूमिका कसैबाट लुकेको छैन। अझ अहिले सूचना प्रविधिको विकास चरमचुलीमा पुगेका बेला सञ्चार माध्यमको जिम्मेवारी अरू बढेको छ। यो बेला सूचना प्रवाहलाई जिम्मेवार बनाउन सञ्चार माध्यमको पारदर्शिता आवश्यक भइसकेको छ। सञ्चार माध्यममा पारदर्शिता त्यतिबेला अझ प्रभावकारी हुन्छ जतिबेला यो पब्लिक कम्पनीमा बन्छ। पब्लिक कम्पनीमा सार्वजनिक संलग्नता हुन्छ। यसको सञ्चालक समितिमा समेत सर्वसाधारण सेयर धनीका तर्फबाट निर्देशकहरू आउँछन्। कम्पनीका सम्पूर्ण हरहिसाबदेखि गतिविधि सर्वसाधारणका निम्ति पारदर्शी बनाउनुपर्ने हुन्छ। पारदर्शिताको अभ्यासकै निम्ति हाम्रो कम्पनीलाई पब्लिक बनाउनु पर्छ भन्ने लागेको हो।

यसले कर्पोरेट गभर्नेन्सलाई बलियो बनाउँछ। पारदर्शिताको अभ्यास गरिरहेको मिडिया कम्पनीका प्रकाशन थप विश्वसनीय बन्छन्। सञ्चार माध्यमको जवाफदेही जहिल्यै पाठकप्रति हुन्छ। यसले आगामी दिनमा पाठक र यसका दर्शकप्रति बढी विश्वसनीय बन्न क्रियाशील हुनुपर्छ। मलाई कुनै पनि कुरा लुकाउनुपर्ने नभएका कारण पनि यसलाई पब्लिक बनाउन चाहेको हो। कुनै पनि कम्पनी सुरु भएपछि तेस्रो र चौथो पुस्तामा पुगिसक्दा यसका थालनीकर्ताका हातमा धेरै सेयर बाँकी रहँदैन। तर म यो क्रमशः सर्वसाधारणका हातमा जानु पर्छ भन्ने ठान्छु। त्यो भए मात्र कम्पनीको दिगोपन हुन्छ, अन्यथा त्यसले संस्थागत स्वरूप लिन नपाई बन्द हुने अवस्था आउँछ। आज संसारमा कैयन् ठूला अखबार यस्तै पब्लिक कम्पनीबाट प्रकाशित हुन्छन्। हामीले त्यही अभ्यास देशमा भित्र्याउन खोजेका हौं।

लामो समयदेखि यहाँले सञ्चार माध्यम सञ्चालन गर्दै आउनुभएको छ; अहिले आएर सञ्चार गृहको आइपिओ जारी गर्नुपर्ने आवश्यकता किन पर्‍ यो?

वास्तवमा म सञ्चार उद्यममै लागेको तीन दशकभन्दा बढी भइसकेको छ। म यसअघि संलग्न भएको नेपालको ठूलो सञ्चार माध्यमलाई पनि त्यतिबेलै पब्लिक बनाउनु पर्छ भन्ने विचारबाट प्रेरित थिएँ। सञ्चार माध्यमलाई व्यक्तिले मात्र चलाइरहँदा त्यसमा सम्बन्धित परिवारको बढ्ता प्रभाव पर्न सक्छ। सकेसम्म यसमा सर्वसाधारणलाई सहभागी गराउने हो भने त्यसप्रतिको स्वामित्व बढ्छ। समाजले पनि यसलाई आफ्नो माध्यम मान्छ। त्यसकारण पनि मैले आफूमा वर्षौंदेखि रहेको यो सपना कम्पनीलाई पब्लिक बनाएर पूरा गर्न खोजेको हो। यसलाई आफैंमा निजी कम्पनीकै रूपमा राखेर लामो समयसम्म चलाउन नसकिने होइन। तैपनि मैले यसमा सर्वसाधारणको सहभागिता आवश्यक रहेको महसुस गरेको छु। मेरा निम्ति मिडिया व्यवसाय मात्र होइन सत्कार्य पनि हो।

हाम्रो मुलुकमा प्रजातान्त्रिक अभ्यासकै पनि तीन दशक नाघिसकेको छ। यसबीचमा भएका सबैखाले अभ्यासका कारण नेपाल परिवर्तन हुन खोजिरहेको छ। समाजले परिवर्तन चाहेको छ। र, यो परिवर्तनको हावाले सञ्चार माध्यमलाई पनि छोएको छ। एकातिर सूचना प्रवाहमा प्रत्येक व्यक्ति आफैं सरिक भइरहेका छन् भने अर्कातिर सूचनाको परिष्कार पनि उत्तिकै आवश्यक भइसकेको छ। यो अवस्थामा हामीले त्यो परिवर्तनको पदचाप पछ्याउँदै अगाडि बढ्नुको विकल्प छैन। समाज परिवर्तनको यो चाहनालाई आत्मसाथ गर्न पत्रकारितालाई अर्को उचाइ दिन आवश्यक छ। आज हामीले भोगिरहेका चुनौती सामना गर्न पनि जानकार नागरिक समाज आवश्यक छ। त्यसैमा हामीले योगदान गर्न सक्छौं भनेर पनि यो बाटो अपनाएका हौं।

नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनी भएपछि सञ्चार गृहमध्ये पहिलो कम्पनीका रूपमा प्राथमिक सेयर (आइपीओ) निस्कासनको गृहकार्यमा हुनुहुन्छ; आइपिओ निस्कासनको तयारी कहाँ पुग्यो?

हामी आज (आइतबार) देखि विदेशमा काम गर्ने सर्वसाधारण र नेपाल रिपब्लिक मिडियाका सहकर्मीका निम्ति सेयर जारी गर्दै छौं। अन्य सर्वसाधारणका निम्ति पनि सेयर जारी गर्ने प्रक्रिया अगाडि बढेका छन्। कम्पनीको सेयर लिन हाम्रा सहकर्मी उत्साहित भएका छन्। यो उत्साह सर्वसाधारणबाट पनि प्रतिबिम्बित हुनेमा हामी विश्वस्त छौं।

सञ्चार गृहको आइीपओ निस्कासन तयारीसँगै कस्तो रेस्पोन्स पाउनुभएको छ?  

हामीप्रति असाध्यै सकारात्मक रेस्पोन्स छ। पत्रकारिता क्षेत्रकै पनि यसमा सकारात्मक सन्देश पाएका छौं। सबैले यो खबरलाई प्राथमिकताका साथ प्रकाशित र प्रसारित गर्नुभएको छ। नेपाल धितोपत्र बोर्डले समेत सेयर बजारको विविधीकरणका निम्ति सञ्चार माध्यम पनि सहभागी हुन सक्ने गरी बाटो खोलिदिएको छ। अहिलेसम्म बैंक र जलविद्युत् कम्पनीले मात्र यो मौका पाउँदै आएकोमा अब सञ्चार माध्यम पनि यस प्रक्रियामा सरिक हुन पाउने भएको छ। कुनै पनि काम चुनौतीभन्दा बाहिर छैन। यसैमा पनि नकारात्मक चर्चा गर्नेहरू नभएका होइनन्, तर यसलाई राम्रो कदमका रूपमा ग्रहण गर्ने संख्या हामीले अत्यधिक पाएका छौं।

कम्पनीले सर्वसाधारणका लागि कति आइीपओ ल्याउँदै छ? कसरी आवेदन दिन सक्छन्?

सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता सेयर जारी गर्दै छौं; जुन कम्पनीको जम्मा जारी पुँजीको ३५.९९ प्रतिशत हो।

आइीपओ जारी गर्न कम्पनीको क्रेडिट रेटिङ गराउनुभएको छ; रेटिङअनुसार कम्पनीको वासलातको अवस्था कस्तो छ?

हामीलाई क्रेडिट रेटिङमा बीप्लस प्राप्त भएको छ। कोभिड– १९ अगाडि हाम्रो कम्पनीको अवस्था राम्रो रहेको हो। कोभिडका कारण हाम्रो मात्र होइन सबै कम्पनीको अवस्था बिग्रिएको थियो। अहिले हामी पुरानै लयतिर फर्किरहेका छौं। आगामी वर्षमा हाम्रो अवस्था सुधार हुँदै जाने छ। त्यस्तो अप्ठ्यारो अवस्था हामी मात्र होइन सबै कम्पनीले भोगेका छन्। अप्ठ्यारो अवस्थामा पनि अगाडि बढेका कारण यो रेटिङ प्राप्त हुनु सकारात्मक हो। कोभिडकालमा पनि बन्द नगरी काम गरिरहेका कारण आर्थिक अवस्था केही कमजोर भएको हो। कतिपय कम्पनीले आफ्नो सेवा बन्द गरेर समेत घाटा कम गरेका छन्। अप्ठ्यारो बेलामा समेत काम गर्‍ यौं भने आगामी दिनमा हाम्रो अवस्था राम्रो हुँदै जाने छ। आगामी वर्षदेखि हाम्रो कम्पनी नाफामा जान्छ। नाफाको प्रक्षेपणका आधारमा पनि हाम्रो कम्पनीको भविष्य सुन्दर छ। कोभिड– १९ अगाडि करिब ७० करोड रूपैयाँसम्म कारोबार पुगेकोमा कोभिडपछि १७ करोडसम्म भएको हो। तर बितेका दुई वर्षमा प्रत्येक वर्ष कम्पनी कारोबार बढिरहेको छ। चालु आर्थिक वर्षदेखि नाफा हुने प्रक्षेपण छ।

हाम्रो आम्दानीको स्रोत भनेको अखबारको बिक्री र विज्ञापन हो। कोभिड– १९ अगाडिको अवस्थाको तुलना गर्दा करिब ३ सय प्रतिशत बिक्रीमा कमी आएको हो। अब हामी सजिलो अवस्थामा आइसकेका छौं। हामीलाई घाटा भएको कोभिड कालमा मात्र हो।

लगानीकर्तालाई ढुक्क भएर यो कम्पनीमा लगानी गर्नुहोस् भन्ने आधार केके छन्?

मिडिया मानव संसाधनमा आधारित संस्था हो। कोभिड– १९ का बेलामा रहेको अप्ठ्यारो बेलामा पनि हाम्रा सहकर्मी तथा पत्रकारको जुझारूपनले हामीलाई बचाएको हो। हाम्रो वास्तविक स्रोत नै उहाँहरू हुनुहुन्छ। जुन संस्थामा मेहनत गर्न नहिच्किचाउने सहकर्मी हुन्छन् त्यहाँ परिवर्तन सम्भव छ। त्यहाँ सफलता अवश्यम्भावी छ। त्यति मात्र होइन हाम्रो कम्पनीको उद्देश्य नै प्रत्येक नेपालीलाई ज्ञान र जानकारीले भरिएको निर्णय गर्न सक्ने बनाउनु हो। हाम्रो यो उद्देश्य मनन गरेर भए पनि सर्वसाधारणले ढुक्क भएर लगानी गर्नेमा हामी विश्वस्त छौं।

लगानीकर्ताले कम्पनीबाट कति समयमा के–कस्तो प्रतिफल पाउँछन्?

हाम्रो कम्पनीले नाफा हुने गरी काम गर्ने कार्ययोजना बनाएको छ। हाम्रो चालु आर्थिक वर्षदेखि नाफा सुरु हुन्छ। आगामी तीन वर्षको नाफालाई हामी कम्पनीकै विकासमा लगाउँछौं। चौथो वर्षदेखि पाँच प्रतिशतमाथि मुनाफा वितरण गर्ने बलियो योजना बनाएका छौं। प्रति सेयर नेट वर्थ आर्थिक वर्ष २०७७÷७८ मा ९३, २०७८÷७९ मा ८५, २०७९÷८० मा १०० र २०८०÷८१ मा १०८ र २०८१÷८२ मा १ सय २० रूपैयाँ पुग्ने छ। त्यसैगरी प्रति सेयर आम्दानी पनि क्रमशः आगामी दिनमा बढ्ने प्रक्षेपण गरिएको छ। २०७९÷८० मा १.२२, २०८०÷८१ मा ५.५५, २०८१÷८२ मा ९.६६ रूपैयाँ प्रति सेयर आम्दानी हुने छ।

कम्पनीले आइपिओ जारी गरेपछि प्राप्त पुँजी परिचालन गर्ने योजना केके छन्?

प्राप्त पुँजीबाट हामीले हाम्रो ऋण घटाउँछौं। ऋण घट्नासाथ हाम्रो आम्दानी ब्याज आदि भुक्तानी गर्नु नपरेपछि स्वतः बढ्छ। त्यसैगरी हाम्रो आम्दानीलाई पत्रकारको क्षमता अभिवृद्धि, सञ्चार माध्यमको विश्वसनीयता अभिवृद्धि आदिका माध्यमबाट यसलाई मुनाफामूलक बनाउँदै लैजाने योजना छ। यतिबेला क्षमतावान् पत्रकारको टिम बनाएर पत्रकारिता अगाडि बढाउँदा बढ्ता जनसेवा हुन्छ भन्ने हामीलाई लागेको छ।

कोभिड, रूस–युक्रेन युद्धलगायतले मुलुकको अर्थतन्त्रमै संकुचन आइरहेका बेला सञ्चार गृहले के–कस्ता चुनौती झेलिरहेका छन्?

कोभिड– १९, रूस–युक्रेन युद्ध आदिले विश्व अर्थतन्त्रलाई असर पारेको छ। त्यसको प्रभाव हाम्रो देश र यहाँ सञ्चालित संघसंस्थालाई समेत छ। अर्थतन्त्रमा परेको नकारात्मक प्रभावले मिडिया उद्योगमा प्रत्यक्ष तथा परोक्ष दुवै रूपमा परेको छ। तर यो स्थिति निरन्तर हुँदैन। आखिर अर्थतन्त्रले फेरि गति लिनुको विकल्प छैन। सबै क्षेत्रको विकास हुँदा सँगसँगै मिडिया पनि आफैं अगाडि बढ्छ।  

डिजिटल प्रविधिमा आएको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले सञ्चारमाध्यमलाई कस्तो असर पुर्‍ याएको छ?

आजका मानिसका निम्ति सूचनाका अनेक स्रोत उपलब्ध छन्। आफ्नो हातमा रहेको मोबाइल आफैंमा सूचना प्राप्तिको एउटा माध्यम बनेको छ। जसले पनि सूचना प्रवाह गर्न सक्ने भए पनि यस्तो सूचनालाई सत्यतथ्यसहित प्रस्तुत गर्ने परम्परागत पत्रकारिता माध्यमको महत्व झनै बढेको छ। अहिले ‘फेक इन्फर्मेसन’ को बाढी छ। विश्वसनीयता नभएका सूचना र जानकारीको जगजगी छ। अहिले परम्परागत सञ्चार माध्यम चाहिन्न कि भन्ने आशंका एकथरीले गरेका छन्, तर विश्वसनीय सञ्चार माध्यमको आवश्यकता झनै बढेको छ। असल पत्रकारिता अभ्यासले फेरि पनि आम मानिसलाई तान्ने छ। त्यसका निम्ति हामीले पत्रकारिता क्षेत्रको विकासमा लगानी बढाउने छौं। हाम्रो जनशक्तिलाई आवश्यक सीप र ज्ञानले पूर्ण बनाई यो उद्योगलाई फलदायी बनाउने छौं। अहिले देखिएका चुनौती क्षणिक हुन्। पत्रकारिताका माध्यम परिवर्तन हुन सक्छन्, तर यसका तत्वहरू यथावत् रहने छन्। अहिलेका चुनौतीकै बीचमा अवसर छन्। जति कुसूचनाको बाढी आउँछ, त्यति नै जिम्मेवार माध्यमको भूमिका पनि बढ्छ।

लामो समयदेखि यहाँ सञ्चार उद्यममा हुनुहुन्छ; नेपालमा सञ्चार माध्यमको भविष्य कस्तो देख्नुहुन्छ?

एक शब्दमा भन्छु– उज्यालो। वास्तवमा सञ्चार माध्यमका निम्ति आगामी समय अत्यन्त उपयोगी छ। हिजोभन्दा आज सञ्चार सामग्री उपभोग गर्ने नागरिक बढेका छन्। सूचनाको भोक पनि उत्तिकै छ। यो बेलामा प्रभावकारी सञ्चार सामग्री आवश्यक छन्। सूचनाको जंगलमा रहेका मानिसलाई सही बाटो देखाउनु पर्छ। यसकारण पनि सञ्चार माध्यमको भविष्य सुखद देखिन्छ। मैले अघि पनि भनें, सञ्चार माध्यम परिवर्तन भएका हुन्। सत्यतथ्य समाचारको आवश्यकता झनै बढेको छ।

सञ्चार माध्यमले आफ्नो जिम्मेवारी पूरा गरेका छन्, तर राज्यले सञ्चार माध्यमप्रतिको दायित्व पूरा गरेको छ कि छैन?

लोकतन्त्रको सुन्दर पक्ष भनेकै सञ्चार माध्यमलाई स्वतन्त्र ढंगले काम गर्न दिने हो। यो आफैंमा स्वनियमनले चल्ने उद्योग हो। प्रत्येक सूचना र जानकारी प्रामाणिक ढंगले मात्र प्रस्तुत गर्नुपर्छ। अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिने बताउनु भएको छ। सरकारको सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक देखिएको छ। सञ्चार क्षेत्रलाई अवरोध गर्ने कानुन निर्माणका विगत प्रयासलाई समेत अहिलेको सरकारले सुधार गर्ने बताएको छ। पत्रकारिता क्षेत्रलाई बलियो बनाउने गरी सरकारले काम गरेको खण्डमा त्यही नै हाम्रो निम्ति ठूलो सहयोग हुन्छ। संविधानले दिएको स्वतन्त्र र निर्भीक पत्रकारिता गर्ने वातावरण यथावत् राख्न सरकारले भूमिका खेल्नुपर्छ।अहिलेसम्म सरकारको पहल सकारात्मक छ। 

प्रकाशित: ३१ वैशाख २०८० ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App