८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘महावु उत्कृष्ट पर्यटन केन्द्र हो’

कर्णाली प्रदेश

मंजु पाण्डे, उपाध्यक्ष, महावु गाउँपालिका

पर्यटकीय क्षेत्रको विकासमा पालिकाले केकस्ता योजना बनाएको छ?

पर्यटकीय हिसाबले महावु महत्वपूर्ण स्थान हो। महावु लेक प्राकृतिक रूपमा सुन्दर र आफैंमा सम्भावना बोकेको क्षेत्र हो। यहाँ अग्लाअग्ला हिमचुचुरा, विभिन्न रङका लालीगुराँस र पाटनमा विभिन्न प्रकारका बुकी फूलहरूले शोभा बढाएको छ। त्यस्तै थरीथरीका जटिबुटी र भरिभराउ जंगल महावुका स्थानीयका आत्मनिर्भर पक्ष हुन्।

यसका साथै महावु हिमालमा हिउँदमा खेल्न र गर्मीमा गर्मी छल्न आउनेको भीड हुने गर्दछ। महावु गाथा भनेर चिनिने महावु लेकबाट तराईका फाँटसमेत मौसम सफा भएका बेला हेर्न सकिन्छ। यहाँ आउने पर्यटकका लागि प्याराग्लाइडिङ, बन्जीजम्प, जिपलाइन र केबुलकारसम्मका थुप्रै सम्भावना छन्।

पर्यटकीय धार्मिक क्षेत्रको भिडियो डकुमेन्टी तयार गर्ने काम भइरहेको छ। इतिहास, संस्कृति र प्राकृतिक ठाउँका बारेमा अध्ययन र प्रचार–प्रचार गर्ने छौं। पर्चा पम्प्लेट तयार गर्ने, पर्यटनलाई सुरक्षित अवलोकनको अनुभूति दिलाउने, महावुबाट साविकको कर्णाली प्रवेश गर्ने छोटो र सुरक्षित स्थल भएकाले वैकल्पिक बाटो छिटो बनाउन सरकारलाई घच्घचाइरहेका छौं।

मार्ग सञ्चालनमा आए तत्काल महावुको पर्यटन विकासमा टेवा पुग्ने छ। कर्णाली प्रदेश सरकारले महावुलाई चलचित्र हबका रूपमा विकास गर्ने कार्ययोजना रहेको छ। कलाकारहरू आउजाउ गर्ने थलो हुने छ। यहाँ फिल्मी नगरी भएमा आफैंमा पर्यटकीय स्थलका रूपमा प्रचारप्रचार हुनेछ।

महावुमा मुख्य पर्यटकीय स्थल कति छन्?

महावु गाउँपालिका–५ काँधिकाँधमा नेपालकै एक शक्तिपीठ शिवजी गाथा रहेको छ। यहाँ जलकुण्ड, शिवकुण्ड, दुधकुण्ड, सिद्धपोखरी, मुंगाहा धारा पनि छन्। महावु– ४ मा रहेको गीताचौरमा रहेको शिवालय मन्दिर शिवको गहना मानिने नागजस्तै शिवकोट डाँडाको शिवालयलाई अर्को धार्मिक पर्यटकीय मन्दिरको हिसाबले हेर्न सकिन्छ।

जस मन्दिरको महिमा पञ्चकोशीको दर्शन गरेबराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ। पालिकाको टाउलाखार गुफा जसको आफ्नै पहिचान रहेको छ। गुफामा जानका लागि ३० लाख रकम खर्च गरी बाटो बनाइएको छ।

पालिकामा भएगरेका प्रगति केके छन्?

जनतालाई सहजता होस् भने बैंकसँगको सहकार्यमा वडास्तरमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं।

प्रत्येक वडामा ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर सञ्चालन गरेका छौं। पोषणमैत्री स्थानीय तह घोषणाका लागि पहिलो चरणको काम भइरहेको छ। सुनौलो हजार दिनका १३ सय गर्भवती र सुत्केरी आमालाई पोसिलो खानेकुरा वितरण गरिसकेका छौं। त्यस्तै उपाध्यक्षसँग महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत प्रत्येक वडामा महिला हिंसा, बालविवाह, बहुविवाह, घरेलु हिसांका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

महिला स्वयंसेविकालाई प्रोत्साहनका कार्यक्रम, गर्भवतीलाई क्याल्सियम चक्की वितरण, विपद्जन्य घटनाबाट प्रभावितलाई राहत वितरण, हेल्भटाससँगको सहकार्यमा पाँच सय घरधुरीमा घरघर पुग्ने गरी खानेपानीको काम भइरहेको छ। सडक निर्माणतर्फ पालिका पुग्ने ताराघाटबाट गैंडावाज पुग्ने सडक कालोपत्रेको तयारीमा रहेको छ।

त्यस्तै गैंडाबाजदेखि ४ नं वडा कार्यालय जाने सडकमा ग्राबिल भइरहेको छ। ६ नं वडा कार्यालय जाने छोटो सडक कुटिडाँडादेखि सिमलडाँडासम्म सडक निर्माण कार्य भइरहेको छ।

काप्रीखोला, काशिकाँध जोड्ने पक्की पुल निर्माण कार्य थालनी भएको छ भने रानीवन उत्तिसैनी टाकुरी जोड्ने झुलुंगे पुल, ग्रामीण विद्युतीकरण भइरहेका छन्। १० शैयाको महावु अस्पताल निर्माण भएको छ। जनताले गाउँपालिकामै अस्पतालबाट डाक्टरी सेवा पाइरहेका छन्।  

प्रकाशित: ३० चैत्र २०७९ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App