यसै साता १९ औं पटक सगरमाथा आरोहण गरेपछि आप्पा शेर्पाले सर्वाधिक चढाइको आफ्नै रेकर्ड तोडेका छन्। ४९ वर्षे यी आरोही पछिल्लो सफलतापछि सोमबार खुम्बुबाट काठमाडौं आइपुगे। त्यसलगत्तै गिरीश गिरीसँगको वार्तामा उनले शिखरको अनुभवलाई यसरी वर्णन गरे : तपाईंले पहिलो पटक सगरमाथा चढ्दा र भर्खर १९ औं पटक शिखर पुग्दा के फरक महसुस गर्नुभयो?
पहिलो पटक चढ्दा धेरै एक्साइटमेन्ट थियो। त्यो क्रमशः घट्दै गयो। तर यसपालाको चढाइमा पनि अर्को एक्साइटमेन्ट हुन पुग्यो। जुन शिखरमा चढेर यत्रो पहिचान बनाइयो, त्यसैलाई केही गरौं भन्ने भावनाले यसपटक चढेको थिएँ। झण्डै ५५ वर्षदेखि थुप्रिएका फोहोरले सगरमाथा क्षेत्रलाई बिगार्दै लगेको छ। अब त्यो भेगलाई सफा पार्ने उद्देश्यमा सहभागी भएको छु।
सगरमाथा आरोहण क्षेत्रमा के परिवर्तन भइरहेका छन् ?
आइसफल क्षेत्रमा फरक आइरहेको छ। पहिले पिरामिडजस्ता देखिने हिउँको आकार अब बेग्लै देखिन थालेका छन्। मौसम परिवर्तनले यस्ता धेरै समस्या देखिन लागेका हुन्। ग्लेसियरकै कुरा गरौं न, हामी पहिले त्यहाँ सहज किसिमले घुम्न जान्थ्यौं। अहिले त्यही ठाउँ त्यसरी जान कठिन छ।
के के छन् त्यस्ता समस्या?
सबैभन्दा मुख्य कुरा त पहिले हिउँ बढी भएको क्षेत्रमा अहिले चट्टान बढी देखिएका छन्। यसले शिखर आरोहीहरूलाई चढ्न पनि गाह्रो पार्दै लगेको छ। कुनै पनि किसिमको परिवर्तनले चढ्नेहरूलाई गाह्रो पार्छ। चाहे त्यो पग्लेर चट्टान भएको अवस्था होस् वा बेमौसममा हिउँ पर्दाको अवस्था होस्।
शिखरमै पनि त केही परिवर्तन देखिए होला नि?
एकदम। पहिलापहिला शिखर पुग्दाभन्दा पछिल्लो समयमा केही परिवर्तन देख्दैछु। शिखरको अलिकति मात्र तल चीन तर्फको कार्नेसहरू फुट्दै झर्न थालेका छन्। एक त शिखरबाट चीन तर्फको भाग खोक्रोजस्तो छ। त्यसमाथि हिउँ पहिरोजस्तोले झार्दै लगेको छ। त्यसले मैले १९९० मा पुग्दा देखेकोभन्दा शिखर क्षेत्रको स्वरुपमा परिवर्तन ल्याइरहेको छ।
नेपालतर्फ पनि त्यस्तो केही फेरिएको छ कि?
छैन। नेपालतर्फ त्यस्तो केहि फरक मैले भेटेको छैन।
यसपटकको आरोहणको अनुभव बताइदिनुस् न
सगरमाथा सफाइ गर्ने इको एभरेष्टको अभियानमा सहयोग गर्न म यसपाला सरिक भएको हूँ। कतै हिउँ पग्लेको त कतै हिँड्दा हिंड्दै हिमपातजस्ता कारणले चढ्न गाह्रो भयो। तर जुन उद्देश्यले गएका थियौं त्यसका निम्ति चाहिँ यो आरोहण अनुकूल थियो। किनभने यसपालाको सुख्खा जाडोले गर्दा हिउँ पग्लेको बेलामा नै त्यहाँ जमेर रहेका फोहोर उठाएर ल्याउन सजिलो भइदियो। यसपाला अभियानबाट कूल छ टन फोहोर संकलन भयो। त्यहाँ जमेको फोहोरका अगाडि यो निकै थोरै मात्रा हो। विभिन्न क्याम्पमा रहेका फोहोर हटाउन वर्षौ यो अभियानलाई जारी राख्नुपर्छ।
सगरमाथा क्षेत्रबाट संकलन भएका फोहोरमा के कुरा भेटिंदा रहेछन्?
सबैभन्दा बढी त क्यान र अक्सिजन सिलिण्डरहरू। डोरीका टुक्राहरू। अहिले आल्मुनियम भर्याङ आयो। त्यसअघि आरोहीहरूले काठका भर्याङ प्रयोग गर्दा रहेछन्। त्यही काठको फल्याकहरू पनि पर्याप्त भेटिए।
उन्नाइस चोटी शिखरमा पुग्नुभयो। फेरि चढ्ने योजना छ कि?
मलाई रेकर्ड तोड्न चढ्नेभन्दा पनि अब देशका निम्ति केहि गरौं भन्ने छ। अरु हिसाबले त होइन, यो सफाइ अभियानलाई चाहिँ मसँग सहयोग मागुन्जेल सक्दो गर्छुं। यो निकै महत्वपूर्ण कुरा हो। जहिलेसम्म सक्छु अब सगरमाथा सफाइका निम्ति चाहिँ चढ्छु।
सगरमाथा आरोहण निकै सजिलो भएकोजस्तो लाग्न थाल्यो। जो पनि चढेको सुनिन थाल्यो। यो मानवको क्षमता बढेर, प्रविधि विकास हुँदै गएर वा दक्ष जनशक्ति हुँदै गएकोमध्ये कुन चाहिँ कारण हो?
यसमा तीनवटै कुरा छ। पहिलो कुरा त प्रविधिको हो। पहिले काठको भर्याङ बोकेर जानुपर्ने शिखरमा अब आल्मुनियमका आएका छन्। अक्सिजन सिलिण्डरकै कुरा गरौं। यसैपाला सफाइको क्रममा पुराना सिलिण्डरहरू हामीले उठायौं। ती खाली सिलिण्डरहरुकै वजन ८- ९ किलोको हुने रहेछ। जबकि अहिले हामीले अक्सिजनसहितको बोक्ने गरेको सिलिण्डर जम्मा २-३ किलोको हुन्छ। आरोहीहरूका निम्ति प्रविधिको विकासले भारी मात्र घटाएको छैन, विभिन्न सहयोगी उपकरणहरू ल्याएको छ। त्यसबाहेक लगातार झन् बढी दक्ष जनशक्तिले यो क्षेत्रमा परिवर्तन ल्याएको हो। मेरो व्यक्तिगत अनुभवमा त मान्छेकै प्रतिरोधात्मक क्षमता पनि बढ्दै गएको छ। यि सबैको कारणले सहज भएको हो।
त्यसो भए सगरमाथाको चूनौती घट्दै गएको हो?
सगरमाथाको चूनौती घटेको छैन। त्यो जहाँको त्यहीँ छ। विभिन्न कुराले गर्दा सघाउ पुगिरहेको मात्र हो। मेरै कुरा गर्ने हो भने मलाई पहिलो पटक जाँदा जस्तो कठिन भएको थियो पछिल्लो पटक पनि उस्तै महशुस भएको छ। कतिपयले बुढापाकाहरु समेत पुग्न थालेकोले सगरमाथालाई केटाकेटीको खेलवाडजस्तो बनाएर चर्चा गर्दा हुन्। तर चुनौती घटेको होइन। शिखरमा नसक्ने विदेशीलाई शेर्पाहरूले नै अनेक गरेर माथि पुर्याइ दिएका मात्र हुन्।
यत्रो पटक चढ्नु भयो, कुनै अंग वा श्वासप्रश्वासमा कुनै किसिमको समस्या केही हुन थालेको छ कि?
त्यस्तो केही छैन। एकदम फिट छु।
अमेरिकामा बस्न थाल्नुभयो। बाँकी जीवन उतै पो हो कि?
म विदेश गएको कुरालाई नबुझेरै गलत किसिमबाट धेरै मिडियाले चर्चा गरेछन्। वास्तवमा केटाकेटीको भविष्यनिम्ति मात्र म उता गएको हो। उनीहरूको पढाइ पूरा हुनेबित्तिकै म फर्केर सधैँका निम्ति नेपाल आउँछु। यो कुरामा मलाई कसैले गलत व्याख्या गर्ने आधार पनि छैन। आङरिताकै कुरा हेर्नुस् न, कसले हेर्यो र उनलाई ?
अमेरिकामा तपाईंको क्षमताको के प्रयोग भइरहेको छ त?
उनीहरू विभिन्न कार्यक्रम गरेर मलाई सम्मानित गर्छन्। मेरो अनुभव सोध्छन्। विशेष गरेर अल्टिच्युड (उचाइसम्बन्धी) जिज्ञासा बढी हुँदो रहेछ उनीहरूमा। बस् त्यत्ति हो।
संसारकै सर्वोच्च शिखरमा सबैभन्दा बढी पटक चढेपछि अब तपाईका निम्ति अर्को पनि कुनै चुनौती छन् कि?
साहसिक क्षेत्रमा मेरा निम्ति कुनै चुनौती छन्जस्तो लाग्दैन। यो सगरमाथाको सरसफाइलाई नै म आफ्नो चुनौती देख्दैछु।
एउटा सफल पर्वतारोही बाहेक आप्पालाई मान्छेले अरु पनि कुनै रुपमा चिनोस् भन्ने कामना छ कि तपाईंसँग?
मैले प्रश्न बुझनँ ...। (छेउमै रहेका अर्का व्यक्तिले शेर्पा भाषामै अर्थ्याएपछि फेरि बोल्न थाले)
छैन केही छैन। आरोही मात्र भनेर चिनुन् मान्छेले (हाँसो)।
प्रकाशित: १२ जेष्ठ २०६६ २३:४६ मंगलबार





