१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘अबको नेतृत्व हाँक्न सोचाइ र योजनाका हिसाबले तयार छु’

गगनकुमार थापा, महामन्त्री, नेपाली कांग्रेस।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट विजयी भएका छन्। निर्वाचनमा प्रतिस्पर्धा गर्ने क्रममै आफूलाई प्रधानमन्त्रीका रूपमा मतदातामाझ प्रस्तुत गरेका थापाले चुनावी परिणाम आफ्नो पक्षमा पारेका छन्। नयाँ सरकारमा उनको नेतृत्वको सम्भावनासहितका विषयमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोमबार थापासँग गरेको कुराकानीको सम्पादित अंश:

आफ्नो विजयलाई कसरी लिनुभएको छ ?

यो निर्वाचन घोषणा भएको समयतिर मेरो निर्वाचन क्षेत्रबाट निर्वाचित हुने कुरा मेरा लागि धेरै प्रतिकूल छ भन्ने मलाई थाहा थियो। तर मैले मनका कुरा बताउन सकें भने र त्यसले मेरा मतदाताको मन छोयो भने सीधै मत आउँछ भन्ने थाहा थियो। त्यसैले मेरो मनभित्र भइरहेका असन्तुष्टि, आक्रोष, विद्रोह, छटपटाहट जे थियो, त्यो मैले मतदातालाई बताएँ। मेरा योजना पनि बताएँ। निर्वाचनका बेलासम्म पुग्दा मभन्दा बढी चिन्तित मेरा मतदाता बनिसकेका थिए। जसले गर्दा निर्वाचन जित्ने र यो परिणाम आउने प्रक्रिया स्वाभाविक बन्यो। तीन महिनाभित्रमा त्यो फरक कसरी भयो भन्नेबारेमा नजिकबाट नियाल्ने मौका पाएँ।

तपाईंमाथि कुसूचनाको प्रभावले पनि धेरै अप्ठ्यारो पार्न खोजेको थियो होइन ? तपाईंमाथि विभिन्न खालका आक्रमण भएका थिए भन्ने लाग्छ ?  

२०६५ सालदेखि यही निर्वाचन क्षेत्रबाटै काम गरें। मलाई बाहिरबाट कुसूचनाका जति आक्रमण भए पनि मेरा मतदातालाई म को हुँ भन्ने थाहा थियो। कुसूचनाको धरातल सबै थाहा थियो। त्यसले मलाई धेरै फरक पार्दैन भन्ने थियो। फरक केले पारेको थियो भने मेरो निर्वाचन क्षेत्रका मतदाता देशको स्थितिसँग असाध्यै धेरै आक्रोशित थिए। मूलधारका राजनीतिक दलसँग एकदम धेरैे गुनासो थियो। कांग्रेस महामन्त्री भएको नाताले उनीहरूको आक्रोश र गुनासो छ भन्ने महसुस मैले गरें। त्यो आक्रोशको तारो म बन्छु भन्ने थियो। त्यही भएर मैले आफ्नो मनका कुरा उहाँहरूलाई बताएँ। मभित्र पनि तपाईंहरूसँग जस्तै आक्रोश छ भनें। तपाईंहरू गुनासो बाहिर बसेर व्यक्त गर्दै हुनुहुन्छ तर म भित्र बसेर लडिरहेको छु भनें। हामी अलग होइन हामी एउटै हौं पनि भनें। यसका लागि तपाईंको तागत झन् मैले पाउनुपर्छ भनें। मैले के–के गर्न सक्छु भनेर संवाद गरिसकेपछि ती कुसूचनाहरू सबै हटेर गए। मलाई रोक्न खोज्ने साथीहरूलाई ती कुसूचनाहरूले नै रोक्न सकिन्छ भन्ने लागेको थियो। मैले त्यसको वास्तै गरिनँ। ती कुसूचनाहरूले मेरा मतदातालाई प्रभावित गर्दैन भन्ने मलाई थाहा थियो।  

यसपालि तपाईंले अगाडि सार्नुभएको ‘प्रोजेक्ट गभरमेन्ट’ को प्रभाव मतदातामा कस्तो रह्यो ?  

मैले आफ्ना मतदातासमक्ष जाँदै गर्दा नेपालले संवैधानिक स्थिरता हाम्रा लागि एकदमै राम्रो रहेको बताएँ। आजको दिनमा मुलुकले नयाँ नेतृत्व मन परे पनि मन नपरे पनि त्यो मूलधारको राजनीतिक दलबाट पाउँछ। त्यो मूलधारको राज्यको नेतृत्व गर्ने दल कांग्रेस हो। त्यसमा नेतृत्व गर्न मौका पाउँदा के गर्ने भन्नेमा म प्रस्ट छु। मेरो प्रोजेक्ट गभरमेन्ट यही हो। मेरो प्रयासमा गम्भीरता छ। म गएको अढाइ वर्षदेखि सरकार कसरी चलाउने भन्ने तयारी गरिरहेको छु। मैले यो कुरा मतदातालाई भनें। त्यसपछि मतदाता पंक्तिले बडो गम्भीरताका साथ लियो। मसँग प्रोजेक्ट गभरमेन्टको कुरा थिएन भने मतदाता पंक्तिले अहिले यस्तो कुरा गर्दा निर्वाचनका निम्ति गरिएको ‘स्टन्ट’ मात्र मान्ने थियो। नयाँ सरकार हाँक्न सक्छु भन्ने दाबीका निम्ति मैले प्रोजेक्ट गभरमेन्टमा काम गरिरहेको कुराले मतदातालाई आश्वस्त पार्न धेरै मद्दत ग¥यो।

अब मुलुकको प्रधानमन्त्री बन्ने जुन दाबी तपाईंको छ, त्यसनिम्ति परिस्थिति अनुकूल छ ?

मलाई सक्छु भन्ने लाग्छ। अहिले कांग्रेस नै सबैभन्दा ठूलो पार्टीका रूपमा संसद्मा आएपछि यसको आधार बनेको छ। त्यसैले हाम्रो नेतृत्वमा सरकार बन्छ। हाम्रो नेतृत्वमा सरकार बन्दै गर्दा पार्टीले नेतृत्व छान्छ। त्यो नेतृत्वको छनोट गर्ने जिम्मेवारी सांसदहरूको हो। हामी संसदीय दलको नेता त्यसरी छान्छौं। निर्वाचनका बेला संसद् सदस्यका लागि उम्मेदवार बनेका व्यक्ति र निर्वाचित भएर आएका सांसद एउटै होइनन् भन्ने मेरो बुझाइ छ। हामी यसपटक जनताका बीचमा जाँदा मतदाताको मनोभाव बुझेका छौं। नजिकबाट कुराकानी पनि भएको छ। निर्वाचित भइसकेका सांसद त्यही मतदाताकहाँ फर्केर जानुपर्ने छ। कांग्रेसले नेपाललाई नयाँ नेतृत्व दिने क्रममा ऊ मतदाताको मनोभावको सहयोगी भएन र त्यसको बाधक बन्यो भने मतदातालाई उसले त्यसको जवाफ दिन सक्दैन। त्यसैले हिजो शक्ति सन्तुलनमा पार्टीमा को कुन अवस्थामा थियो भन्ने कुरा निर्वाचनले भत्काइदियो भन्ने म ठान्छु।

नयाँ सांसदले नयाँ परिस्थितिमा सोच्नुपर्‍यो भन्नुभएको हो ?  

उहाँ पुरानो नेतृत्वका पक्षमा उभिने हो भने उहाँले आफ्ना मतदातालाई किन यसो गरेको भनेर बताउनुपर्छ। हामीले त हाम्रो निर्वाचन क्षेत्रमा बाचा गरेका छौं। देशलाई यहाँ पुर्‍याउँछौं भनेर बाचा गरेका छौं। त्यो कसरी पूरा हुन्छ ? केका आधारमा हुन्छ भनेर बताउनुपर्‍यो नि ?

पार्टीभित्र हिजो महाधिवेशनका बेला बेग्लै समीकरण बनेको थियो। तपाईंले अब संसदीय दलको निर्वाचनमा मत पाउने स्थिति छ ? सांसदको मानसिकता परिवर्तन भयो भने म स्वतः संसदीय दलको नेता बन्छु भन्ने तपाईंलाई लागेको छ ?  

हो। पार्टीभित्र महाधिवेशनका बेला जुन किसिमको समीकरण थियो, त्यसका आधारमा हामीले विश्लेषण गरिरहेका छौं। तर म त्यो समीकरण भत्किसक्यो भन्ने ठान्छु। किनभने हामी पार्टीभित्र निर्वाचित भएका सदस्यहरूले पार्टीभित्रका कुराको जिम्मेवारी लिनुपर्छ। तर हामी मतदाताबाट चुनिएर आएका हौं। मेरो क्षेत्रका मतदाता निर्वाचनलाई लिएर जति चिन्तित थिए बाँकी अन्य क्षेत्रका मतदाता पनि यो निर्वाचनलाई लिएर उत्तिकै चिन्तित थिए। कांग्रेसभित्र जुन किसिमको परिवर्तनको सम्भावना छ, त्यो भाँचिएला कि भन्नेमा उनीहरूको चिन्ता हो। त्यो मेरोबारे चिन्ताभन्दा पनि आफ्नो परिवर्तनको चाहनाप्रतिको चिन्ता हो। त्यसैले ती मतदाताले आफ्ना जनप्रतिनिधिसँग जवाफ त माग्छन् नि ?

यहाँहरू नयाँ नेतृत्वका रूपमा आउनुभएको छ। यसले कांग्रेसको राजनीति र समग्र मुलुककै राजनीतिमा परिवर्तन आउँछ भन्ने अपेक्षा जनताले राखेका हुन् ?

कांग्रेससँग एउटा अवसर थियो महाधिवेशन पछाडि। सालाखाला ३०÷३२ प्रतिशत हाम्रो मत हो। त्यसलाई हामीले यसपटक ४० प्रतिशत पु¥याउन सक्थ्यौं। नयाँ र हिजो कांग्रेस छाडेका गरी सात÷आठ लाख मतदाता थप्न सक्थ्यौं। यो निर्वाचनपछि कांग्रेसले स्थिर सरकार दिन्छ। त्यो सरकारको नेतृत्व पहिलो पुस्ताको नेतृत्वले गर्दैन। उहाँहरूले अभिभावकको भूमिका निर्वाह गर्नुहुन्छ। नयाँ पुस्ताका साथीहरूमध्येबाट प्रतिस्पर्धा हुन्छ भनेर गएको भए यसपटकको निर्वाचनमा सात/आठ लाख मत थपिने अवस्था हुन्थ्यो हाम्रो। त्यो काठमाडौं क्षेत्र नं ४, काठमाडौं क्षेत्र नं ५ र झापा क्षेत्र नं १ को निर्वाचन परिणामले देखाएको यही हो। त्यसैले यो दुईजना व्यक्तिको कुरा मात्र होइन; सिंगो कांग्रेस मतदाता, शुभचिन्तक र आम जनताको कांग्रेसको सिद्धान्त वा इतिहाससँगको रुष्टता होइन; उनीहरूले सामान्य कुरा खोजेका छन्। पार्टीमा नयाँ पुस्ताले नेतृत्व हाँक्ने कुरा र नेतृत्व नयाँ शैली होस् भन्ने उनीहरूको अपेक्षा हो। उनीहरूले पार्टीभित्र नवीनता खोजेका हुन्। हामीले पार्टीमा एउटा ढर्रामा काम गरिरहेका छौं र पुरानो ढर्रा परिवर्तन गर्न अप्ठेरो मानिरहेका छौं। तर बाहिरका सर्वसाधारणले तिमीहरूले ढर्रा बदल्यौ भने हामी तिमीहरूसँगै रहन्छौं भनिरहेका छन्। ढर्रा बदलेनौं भने हामीसँग नयाँ विकल्प पनि छन् भनिरहेका छन्। यो सामान्य कुरा हो। मैले यसलाई मेरो व्यक्तिगतभन्दा पनि हाम्रो पुस्ताका नेताको कर्तव्यका रूपमा लिएको छु। यो पार्टी जोगाउने पनि हाम्रो कर्तव्य हो र यस पार्टीप्रतिको विश्वास बढाउने पनि हाम्रो कर्तव्य हो। त्यसभन्दा पनि ठूलो कुरा भनेको अहिले पाँच वर्षका लागि गठबन्धनको बहुमतको सरकार बन्ला तर त्यसले नतिजा दिन सकेन भने पाँच वर्षपछि हामी कहाँ पुग्छौं ?

अहिले तपाईंले जुन किसिमको कुरा गर्नुभयो। निर्वाचनभन्दा पहिले यस्ता कुरामा पार्टीभित्र छलफल भएको थिएन ? नयाँ पुस्तालाई अघि बढाउने विषयमा कुनै छलफल भएको थिएन ? तपाईंले त गठबन्धन पनि चाहिँदैन भन्नुभएको होइन र ?

निर्वाचनअघिको तालमेलका विषयमा दलहरू अभ्यस्त भइसकेका छैनन्। हाम्रा मतदाताले त झन् यसलाई स्वीकार गरेकै छैनन्। त्यसैले हामीले एकअर्कालाई असफलताको दोष दिइरहेका छौं। मैले पहिल्यै यो अवस्था आउँछ भनेको थिएँ। हामीलाई त मतदाताले नचिन्ने अवस्था आयो। हाम्रा मतदाता यति भनेर भन्ने अवस्थै रहेन अहिले। मलाई यसको पहिल्यै अनुमान थियो। त्यही आधारमा मैले गठबन्धन हुनु हुँदैन भन्दै आएको थिएँ। चुनावपछिको तालमेल स्वाभाविक हो। हाम्रो निर्वाचन प्रणालीका कारण पनि त्यो स्वाभाविक हुन जान्छ। तर पार्टीले निर्णय गरिसकेपछि म पार्टीको कार्यकर्ता भएकाले त्यसलाई इमानदारीपूर्वक आत्मसात गरें। किनभने मैले कुनै व्यक्ति वा दलको विरोध गर्नेभन्दा पनि समग्र राजनीतिक संस्कारको कुरा गरेको हुँ। निर्वाचनभन्दा पहिले तालमेल गर्ने कुरा भएपछि मैले हाम्रो सरकार बनेपछि पाँच वर्षमा जनताले के पाउँछन् भन्नुपर्छ भनें। हामीले सरकार नयाँ दिन्छौं भनेर मात्र त भएन। किनभने निर्वाचनका बेला पनि सरकार हाम्रै थियो। सरकारमा नभएको भए वर्तमान सरकारले भन्दा केही फरक गर्छौं भन्ने हुन्थ्यो। केन्द्रदेखि प्रदेशसम्म हाम्रै सरकार छ। हामी निर्वाचनमा जाँदा नयाँ सरकार दिने कुरा मात्र भनेका छौं। हामीले के दिन सक्छौं भन्ने कुरा प्रस्ट नपारेसम्म जनताले हामीलाई स्वीकार गर्दैनन् भनेर मैले पटकपटक भनेको थिएँ। तर मेरो कुरालाई कसैले पनि गम्भीरताका साथ लिएन। हामीले दुईतिहाइ बहुमत पाउँछौं भनेका ठाउँबाट सामान्य बहुमत पनि नआउनुको पछाडि एउटा कारण यो पनि हो। यो गठबन्धन केका लागि भन्ने कुरा मतदाताले आत्मसात गरेनन्।  

प्रजातन्त्र स्थापनापछिका निर्वाचनका आधारमा हेर्दा अहिले तपाईंले मतदातालाई कुन रूपमा पाउनुभयो ? मतदाताले राजनीतिकर्मी र राजनीतिक दलहरूलाई कसरी हेर्दा रहेछन् ?

अहिले पनि हाम्रा राजनीतिक दलहरूसँग जोडिएको मतदाताको एउटा ठूलो पंक्ति छ। तर सहरी मध्यम वर्गमा तीव्र गतिमा परिवर्तन आएको छ। जीवनशैली र राजनीतिक निर्भरता नभएका कारण यी मतदाता धेरै कुरामा आफ्नो पूर्वाग्रह राख्दैनन्। विशेषगरी संसद्सँग के अपेक्षा गर्ने हो त्यसको मूल्यांकन गर्ने मानक के हो भन्नेबारेमा मतदाता शिक्षा न्यून रहेको मेरो बुझाइ छ। गएको संसद्को सबैभन्दा क्रियाशील सांसद थिएँ म। कानुन निर्माण गर्ने कुरामा सबैभन्दा धेरै मेरो सहभागिता थियो। मेरो कारणले कति कानुन बने कति कानुन बनेनन्। मेरो निर्वाचन क्षेत्रमा मेरा मतदातालाई यो कुरामा चासो नै थिएन। उनीहरूमा स्थानीय सरकारका मुद्दाहरूको चासो देखिन्थ्यो। एकैपटक देशको कुरा भयो वा स्थानीय कुरा भयो। संसद्ले के गर्ने हो भन्नेबारेमा मतदातामा अन्तर देखियो।

अबको सरकार कसरी बन्छ ?  

अहिलेसम्मको स्थिति विश्लेषण गर्दा सत्ता गठबन्धनमा रहेका दलहरूलाई बहुमत पुर्‍याउन केही संख्या अपुग हुने अवस्था रहन्छ। त्यो बेलामा हामीले गठबन्धनकै तर्फबाट नयाँ आएका दल र बाँकी स्वतन्त्र सांसदहरूसँग मिलेर काम गर्ने हो। कांग्रेसको नेतृत्वमा सरकार बन्छ। गठबन्धनले मात्र बहुमत नपुग्ने भएकाले यसलाई थप फराकिलो बनाउनुपर्ने हुन्छ। त्यसमा विभिन्न विकल्प खुला रहन्छन्। हाम्रो तर्फबाट कांग्रेसले दिने नेतृत्व पनि नयाँ हुनुपर्छ। त्यो नेतृत्वका लागि हामीले हाम्रो पार्टीभित्रको विधिविधानभित्र रहेर बदल्ने काम गर्ने हो।

के देशबासीले कांग्रेसबाट अबको नेतृत्व तपाईं हो भनेर अपेक्षा गर्न सक्छन् ?

मेरो तर्फबाट त म सम्पूर्ण रूपमा तयार हो। म सोचका हिसाबले पनि तयार छु। योजनाका हिसाबले पनि तयार छु। म त्यसका लागि दृढसंकल्प बोकेर यहाँ उभिएको अवस्था हो। यो मेरो मात्र चाहना होइन; सम्पूर्ण देशबासी र आम कांग्रेस पंक्तिको पनि चाहना हो। अब यो कुरालाई सार्थक बनाउन कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएर आउनुभएका सांसद साथीहरूको सबैभन्दा ठूलो भूमिका हुन्छ– परिवर्तनका पक्षमा उभिने कि यथास्थितिका पक्षमा ? यही प्रश्न उहाँहरूको अगाडि छ। उहाँहरू परिवर्तनका पक्षमा उभिँदा यसले सार्थकता पाउँछ। उहाँहरूलाई अहिले परिवर्तन आवश्यकता छैन भन्ने लाग्यो भने यो रोकिन्छ।

गठबन्धनका दलहरूसँग व्यक्तिगत रूपमा पनि कुराकानी भएको छ कि ?

छैन। कांग्रेसको संसदीय दलको नेता चुन्ने कुरा नै अहिले मेरा लागि प्राथमिकता हो। मैले संसदीय दलको नेताका रूपमा पनि नेतृत्व गर्न पाउँछु वा महामन्त्रीका रूपमा मात्र भन्ने कुराको प्रतीक्षा छ। पहिले म पार्टीभित्रकै साथीहरूसँग कुराकानी गर्छु। यसैबीचमा आवश्यकताअनुसार अन्य दलका नेताहरूसँग पनि सम्पर्क गर्ने कोसिस त गर्छु तर पहिलो चरणमा कांग्रेसकै सांसद साथीहरूसँग छलफल गर्छु।

प्रकाशित: १३ मंसिर २०७९ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App