२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनलाई दोस्रो पटक विभाजित हुन दिन्नँ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि हालतमा युक्रेन फेरि विभाजन गर्न नदिने बताएका छन्।

ट्विटरमा भिडियो पोस्ट गर्दै उनले रुसलाई जमिन दिएर नभइ न्यायपूर्ण तरिकाले युद्ध अन्त्य गरेर मात्र शान्ति प्राप्त गर्न सकिने बताए। जेलेन्स्कीले भने, 'हामी दोस्रो विभाजनको यो प्रयासलाई विफल पार्नेछौं। हामी रूसलाई चिन्छौं। जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुनेछ। त्यसैले हामी आफ्नो अडानमा अडिग छौं। युद्ध शान्ति र बलियो सुरक्षा संरचनाको साथ समाप्त हुनुपर्छ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्न जाँदै छन्। युद्ध अन्त्य गर्ने बारेमा छलफल हुने छ। ट्रम्पले पहिले नै भनेका छन् कि युद्ध अन्त्य गर्न केही क्षेत्रहरू आदानप्रदान गर्नुपर्ने छ।

रोयटर्सका अनुसार ट्रम्पले यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठक पनि गर्न चाहन्छन्। उनी यस कुराकानीमा पुटिनलाई पनि समावेश गर्न चाहन्छन्।

अमेरिका र रुसका राष्ट्रपतिहरू बीचको अन्तिम भेट जुन २०२१ मा भएको थियो। त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनले जेनेभामा भेटेका थिए। चार वर्षपछि हुन लागेको यो बैठकको बारेमा ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार भनेकी थिइन्, 'रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ। ट्रम्प पुटिन र जेलेन्स्की दुवैलाई भेट्न इच्छुक छन्।'

ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार पुटिनलाई भेटेका थिए। ट्रम्पले यो भेटलाई महत्त्वपूर्ण बताएका छन्। रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका सल्लाहकार युरी उशाकोभले दुई देशले युक्रेन मुद्दामा छलफल गरेको बताए।

प्रकाशित: २५ श्रावण २०८२ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App