१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नै बुबाको अन्तिम संस्कारमा किन देखिएनन् इरानका नयाँ सर्वोच्च नेता?

गत फेब्रुअरीमा भएको अमेरिका-इजरायली हवाई आक्रमणमा आफ्ना बुबाको मृत्यु भएयता दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा एवं उत्तराधिकारी मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। 

इरानी अधिकारीका अनुसार ५६ वर्षीय मोज्तबाले तेहरानमा जारी आफ्ना बुबाको छ दिने अन्तिम संस्कारमा भाग नलिने भएका छन्। अल जजीराका अनुसार इजरायली पक्षबाट ज्यान मार्ने धम्की आएकाले सुरक्षा चिन्ताका कारण उनले समारोहमा उपस्थित नहुने निर्णय लिएका हुन्। एपीका अनुसार खामेनीका छोराहरू मसूद, मैसम र मुस्तफाले दिवंगत सर्वोच्च नेताको प्रार्थनामा सहभागि भएका छन्।

गत फेब्रुअरीको आक्रमणमा मोज्तबा आफैँ घाइते भएको बताइन्छ। सोही आक्रमणमा उनका बुबा अयातोल्लाह अली खामेनीका साथै परिवारका चार सदस्य (आमा, दिदी, भिनाजु र १४ महिनाकी भान्जी) को ज्यान गएको थियो। सार्वजनिक रूपमा नदेखिए पनि मोज्तबाले राज्य सञ्चालित सञ्चारमाध्यममार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै आएका छन्।

जुन १८ मा इरानी जनतालाई सम्बोधन गर्दै मोज्तबाले इरान र अमेरिकाका राष्ट्रपतिबिच भएको सम्झौतालाई आफूले स्वीकृति दिएको बताएका थिए। यद्यपि, उनले उच्च इरानी अधिकारीबाट 'इरानी राष्ट्र र प्रतिरोध मोर्चाको अधिकार' रक्षा गर्ने आश्वासन पाएपछि मात्रै 'फरक विचार' राखेको उल्लेख गरेका थिए। त्यसैगरी, जुन २८ मा उनले बुबाको हत्याको घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै भनेका थिए, ‘के निश्चित छ कि अपराधीले उनीहरूको आपराधिक कार्यको लागि सजाय भोग्नुपर्नेछ।’

तस्निम समाचार एजेन्सीका अनुसार आज बिहान तेहरानको इमाम खोमेनी ग्रान्ड मुसल्लामा खामेनी र उनका परिवारका सदस्यको अन्तिम संस्कारको प्रार्थना आयोजना गरिएको छ। मुसल्लाको मुख्य आँगन प्रार्थना सुरु हुनुअघि नै शोककर्ताले भरिएको थियो। अन्त्येष्टि प्रक्रियाअनुसार सोमबार तेहरान र मंगलबार पवित्र सहर कोममा जुलुस निकालिनेछ। त्यसपछि शवलाई इराकका नजफ र कर्बलामा लगिनेछ र अन्तमा बिहीबार इरानी सहर मशहदमा अन्त्येष्टि गरिनेछ। एजेन्सी

प्रकाशित: २१ असार २०८३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App