१४ आश्विन २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडिरहेको जहाजको ‘ककपिट’ भित्रै किन एक- अर्काको ज्या’न लिन उत्रिए पाइलट ?

बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट इजरायलको तेलअभिभतर्फ उडिरहेको फ्लाईदुबईको यात्रुवाहक विमान आकाशमै ठुलो संकटमा पर्‍यो।

करिब ३३ हजार फिटको उचाइमा उडिरहेको विमान अचानक एक मिनेटभन्दा कम समयमा १७ हजार फिटको आसपास तल झरेपछि यात्रुहरूमा त्रास फैलियो। त्यही क्रममा ककपिटभित्र दुई पाइलटबिच हिंसात्मक घटना भयो। को-पाइलटले पाइलटमाथि चक्कु प्रहार गरेपछि विमानको नियन्त्रण नै केही समय संकटमा परेको थियो।

फ्लाईदुबईको उडान नम्बर एफजेड १०७३ ‘बोइङ ७३७ म्याक्स ८’ ले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित उडान भरेको थियो। विमानमा २७ जना बालबालिकासहित १७४ जना यात्रु सवार थिए। करिब १५० जना इजरायली नागरिक थिए।

उडान सुरु भएको करिब साढे दुई घण्टासम्म सबै कुरा सामान्य नै थियो। विमान जोर्डनको हवाई क्षेत्र नजिक पुग्दै गर्दा अचानक अवस्था बदलियो।

उडान ट्र्याकिङसम्बन्धी प्राविधिक तथ्यांकअनुसार करिब ३४ हजार फिटको उचाइमा रहेको विमान एक मिनेटभन्दा पनि कम समयमा तीव्र गतिमा १७ हजार फिटभन्दा तल झर्‍यो।

कुनै प्राविधिक गडबडी नभई विमान एक्कासि १४ देखि १७ हजार फिट तल खस्दा यात्रुहरू सिटबाट उछिट्टिन पुगेका थिए भने विमानभित्र रुवाबासी र भागदौड मच्चिएको थियो।

त्यसै क्रममा विमानको प्रणालीबाट सुरुमा ‘७७००’ को आपत्कालीन संकेत सम्प्रेषण भयो। तर, केही क्षणमै त्यो संकेत परिवर्तन भएर ‘७५००’ मा बदलियो।

अन्तर्राष्ट्रिय उड्डयन नियममा ‘७५००’ कोडको अर्थ विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भन्ने हुन्छ। आकाशमै विमान अपहरणको संकेत बजेलगत्तै इजरायलको हवाई प्रतिरक्षा संयन्त्र तत्काल उच्च सतर्कताको अवस्थामा पुग्यो र इजरायली वायुसेनाले परिस्थितिलाई नियन्त्रणमा लिन आफ्ना अत्याधुनिक लडाकु विमानहरू आकाशमा परिचालन गर्‍यो।

तर, बाहिरबाट अपहरणकारी घुसेको नभई ककपिटभित्रै आफ्नै चालक दलका सदस्यबाट रक्तपात सुरु भएको तथ्य भने केही समयपछि मात्र खुल्यो।

विमान तीव्र गतिमा तल झर्दै गर्दा ककपिटभित्र प्राणघातक हिंसा चलिरहेको थियो। ककपिटको ढोकाभित्रबाट आएको चित्कार सुनेपछि अगाडिका सिटमा रहेका यात्रुहरू सशंकित हुँदै ककपिटतर्फ दौडिएका थिए।

विमानमा सवार मिरियम अबुकासिस नामकी यात्रुले आफ्नी आमा यास्मिनलाई फोन गरेर घटनाबारे सुनाएकी थिइन्। यास्मिनका अनुसार उनकी छोरीले ककपिटभित्र एक जना व्यक्तिले चक्कु हातमा लिएर मुख्य पाइलटलाई भुइँमा लडाएको र जताततै रगतको आहाल देखिएको बताएकी थिइन्।

No description available.

‘मेरी छोरीले ककपिटबाट मान्छे चिच्याएको सुनिछन्। अगाडि गएर हेर्दा एक पुरुषले चक्कुले पाइलटलाई भुइँमा थिचेर आक्रमण गरिरहेको थियो, त्यहाँ रगतै रगत थियो,’ यास्मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएकी छन्।

No description available.

विमानका अर्का यात्रु इत्जाक लिबरले पनि ककपिटमा पाइलटमाथि चक्कु प्रहार भएको र त्यसपछि यात्रुहरू घटनामा हस्तक्षेप गर्न पुगेको बताए।

आफूहरू ज्यानको बाजी लगाएर अगाडि बढेको उनले सुनाए। विमानमा रहेका तर ड्युटीमा नरहेका दुई पाइलट पनि ककपिटमा पुगे। उनीहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन र विमानको नियन्त्रण सम्हाल्न सहयोग गरे।

ककपिटभित्रको झडपका क्रममा घाइते भएका पाइलटलाई विमानमै रहेका एक दन्त चिकित्सकले प्राथमिक उपचार दिए। पाइलटको शरीरबाट धेरै रगत बगेको थियो। यात्रुहरूले खिचेका केही तस्बिरमा पनि रगत देखिएको थियो।

विमान सन्तुलनमा आए पनि मुख्य पाइलट गम्भीर घाइते भइसकेका थिए भने विमानले आफ्नो निर्धारित उचाइ गुमाइसकेको थियो। यस्तो अवस्थामा युद्धग्रस्त क्षेत्रनजिक रहेको इजरायलतर्फ थप अघि बढ्नु प्राविधिक र सुरक्षाका दृष्टिकोणले असम्भव प्रायः बन्यो।

त्यसपछि विमानलाई आपत्कालीन रूपमा नजिकै पर्ने साउदी अरबको ताबुकतर्फ मोडियो।

ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोललाई बिहान ८:४४ बजे आपत्कालीन अवतरणको सूचना दिइयो। सूचना पाउनासाथ साउदी विमानस्थल प्रशासनले उद्धार र स्वास्थ्य टोलीलाई ‘रेड अलर्ट’ मा राख्यो।

अन्ततः करिब एक घण्टाको तनावपूर्ण यात्रापछि बिहान ९:४५ बजे विमान ताबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण भयो।

विमान अवतरण हुनासाथ घाइते मुख्य पाइलट र आक्रमणकारी सह-चालक दुवैलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइयो। विमानमा सवार अन्य १७४ जना यात्रु र चालक दलका बाँकी सदस्यहरू भने सकुशल बाहिर निस्कन सफल भए।

विमान सुरक्षित रूपमा अवतरण भए पनि समस्या यत्तिकैमा सकिएन। तेलअभिभ जान हिँडेका डेढ सय इजरायली नागरिक अचानक त्यस्तो मुलुकको भूमिमा ओर्लिए जससँग इजरायलको कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै इजरायल सरकारले आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्काउन आफ्नै नागरिक वा सैन्य विमान साउदी अरबको ताबुक पठाउने प्रस्ताव गर्‍यो। तर, साउदी अरबले इजरायली विमानलाई आफ्नो भूमिमा अवतरण गर्न अनुमति दिन अस्वीकार गर्‍यो।

सन् २०२२ मा साउदी अरबले सबै अन्तर्राष्ट्रिय नागरिक उडानका लागि आफ्नो हवाई मार्ग खुला गरेपछि इजरायल आउजाउ गर्ने विमानहरूले साउदी आकाश प्रयोग गर्दै आएका छन्।

No description available.

तर, इजरायली झण्डावाहक विमानलाई साउदी भूमिमै ओरालेर यात्रु लैजान दिने कुरा कूटनीतिक रूपमा नितान्त फरक र संवेदनशील विषय थियो। साउदीको अडानपछि इजरायली यात्रुहरूलाई स्वदेश फर्काउने प्रक्रिया जटिल बन्यो।

अन्ततः फ्लाईदुबईले नै अर्को वैकल्पिक विमान ताबुक पठाएर यात्रुहरूलाई तेलअभिभ लैजाने व्यवस्था मिलायो। साउदी विमानस्थल सञ्चालन गर्ने संस्था ‘क्लस्टर-२’ ले पनि यस प्रक्रियामा सहजीकरण गर्‍यो।

यद्यपि, आफ्नै ककपिटभित्र ज्यानमारा आक्रमण व्यहोरेका केही यात्रुहरूले भने पुनः फ्लाईदुबईकै जहाज चढ्न मनोवैज्ञानिक त्रास र सुरक्षा संशय व्यक्त गरेका थिए।

आफ्ना नागरिक साउदीमा रोकिएको खबर सार्वजनिक हुनासाथ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेलअभिभमा उच्चस्तरीय सुरक्षा बैठक डाके।

रक्षामन्त्री इजरायल काट्ज, सेना प्रमुख इयाल जामिरलगायतका गुप्तचर र सुरक्षा अधिकारीहरूसँगको छलफलपछि नेतान्याहुले आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गरी यात्रुहरूको सुरक्षामा ध्यान केन्द्रित गरे।

नेतान्याहुले केही दिनअघि मात्रै यूएईको अबुधाबी भ्रमण गरी त्यहाँका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग क्षेत्रीय सुरक्षाबारे वार्ता गरेका थिए। यो घटनालगत्तै नेतान्याहुले ककपिटभित्र छिरेर आक्रमणकारीलाई नियन्त्रणमा लिने यात्रु र चालक दलका सदस्यहरूलाई नायक भने।

‘सह-चालकले विमान दुर्घटना गराउने उद्देश्यका साथ आक्रमण गरेको देखिन्छ। तर, हाम्रा साहसी नागरिक र चालक दलका सदस्यले ज्यानको बाजी लगाएर विमानको प्रणाली ध्वस्त पार्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिए,’ नेतान्याहुले भनेका छन्, ‘उनीहरूको त्यो साहसले सयौं निर्दोष मानिसहरूको ज्यान बचाएको छ।’

घटनापछि साउदी सुरक्षा निकायले अस्पतालमा उपचाररत ओमानका नागरिक सह-चालकसँग नियन्त्रणमै राखेर सोधपुछ सुरु गरेको छ। अर्कोतर्फ, इजरायली गुप्तचर र सुरक्षा निकायहरूले यस घटनालाई सम्भावित आतंकवादी आक्रमण भन्दै अनुसन्धान अघि बढाएका छन्।

No description available.

विमान अत्यधिक गतिमा तल झर्दा उत्पन्न भएको ‘एरोडाइनामिक प्रेसर’ का कारण विमानको पुच्छर लगायतका भागमा प्राविधिक क्षति पुगेको तस्बिरहरू पनि सार्वजनिक भएका छन्।

No description available.

के ती क्षतिहरू विमान तल झर्ने क्रममा भएका हुन् वा त्यसअघि नै थिए भन्ने प्राविधिक पाटो पनि अनुसन्धानको घेरामा छ।

अब अन्तर्राष्ट्रिय उड्डयन अनुसन्धानकर्ताहरूले ककपिट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) अर्थात् ‘ब्ल्याक बक्स’ को अध्ययन गर्नेछन्।

ककपिटभित्र कुन संवादपछि चक्कु प्रहार सुरु भयो ? ककपिटको अति सुरक्षित ढोका कसरी खुल्यो र विमानलाई नियोजित रूपमै खसाल्न खोजिएको थियो कि थिएन ? यी सम्पूर्ण प्रश्नको अन्तिम उत्तर ब्ल्याक बक्सको विस्तृत विश्लेषण र आक्रमणकारी सह-चालकको बयानपछि मात्र स्पष्ट हुनेछ।

आक्रमणमा संलग्न सह-चालक ओमानका नागरिक हुन् भने मुख्य पाइलट यूएईका नागरिक हुन्। सह-चालकले क्याप्टेनमाथि अकस्मात् चक्कु प्रहार गरेर नियन्त्रण आफ्नो हातमा लिई विमानलाई सीधै जमिनमा ठोक्काउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: १४ आश्विन २०८३ २०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App