भारतको कृषि गुणस्तर नियन्त्रण प्रणालीमा गम्भीर त्रुटि फेला परेपछि जापानले भारतीय आँप आयात २०२६ को सिजनका लागि प्रतिबन्ध गरेको छ।
जापानी क्वारेन्टाइन अधिकारीहरूले भारतका कीटनाशक उपचार केन्द्रहरूमा मापदण्ड विपरीतका कमजोरी विशेष गरी भाप ताप उपचार सुविधामा धुवाँ र कीटाणुशोधन प्रक्रियामा फेला पारेपछि यो कदम चालेका हुन्। लगभग दुई दशकपछि जापानले भारतीय आँपमाथि यस प्रकारको कडा कदम चालेको यो पहिलो पटक हो।
आँपको मुख्य गर्मी सिजन सुरु हुनै लाग्दा लागेको यो प्रतिबन्धले भारतका बहुमूल्य तथा प्रिमियम प्रजातिका आँपको निर्यातमा ठुलो धक्का पुर्याएको छ।
जापानले आफ्नो घरेलु कृषिको सुरक्षाका लागि फलफूलका झिँगा जस्ता विनाशकारी कीराहरू विरुद्ध शून्य सहिष्णुताको नीति अपनाउने गर्दछ। दुई देशबिचको व्यापार सम्झौता अनुसार हरेक वर्ष आँप निर्यात गर्नुअघि जापानी निरीक्षकहरूले भारतका भाप ताप उपचार सुविधाहरूको निरीक्षण गर्ने गर्छन्। भाप ताप उपचार एउटा यस्तो रासायनिक रहित प्रविधि हो जसले तातो र आर्द्र हावाको माध्यमबाट आँपभित्र रहेका कीरा वा तिनका लार्भाहरू नष्ट गर्दछ।
यस वर्षको मार्च महिनामा उत्तर प्रदेशको रहमानपुर स्थित भाप ताप उपचार केन्द्रमा गरिएको निरीक्षणका क्रममा जापानी अधिकारीहरूले धुवाँ र कीटाणुशोधन प्रक्रियामा गम्भीर प्राविधिक कमजोरी फेला पारेका थिए। यद्यपि ती प्राविधिक समस्या के के थिए भन्नेबारे दुवै देशले स्पष्ट खुलाएका छैनन्। सोही निरीक्षण प्रतिवेदनका आधारमा जापानको योकोहामा बिरुवा संरक्षण संघले मार्च २५, २०२६ पछि जारी गरिएका निरीक्षण प्रमाणपत्र भएका कुनै पनि भारतीय आँप स्वीकार नगर्ने घोषणा गरेको हो। यो प्रतिबन्ध भारतले मापदण्ड सुधार नगरेसम्म कायम रहनेछ।
यसअघि पनि यस्तै स्वास्थ्य र कीरा सम्बन्धी चिन्ताका कारण जापानले सन् उन्नाइस सय छयासी मा भारतीय आँप रोकेको थियो। भारतले आफ्नो उपचार प्रक्रिया र प्रोटोकललाई बलियो बनाएपछि सन् २००६ मा मात्रै जापानले प्रतिबन्ध हटाएको थियो। तर दुई दशकपछि फेरि पुरानै समस्या दोहोरिएको छ।
वार्षिक करिब दुई करोड ५० लाखदेखि तीन करोड मेट्रिक टन आँप उत्पादन गर्ने भारत विश्वकै सबैभन्दा ठुलो उत्पादक देश हो। उत्पादित अधिकांश आँप देशभित्रै खपत हुने भए पनि जापान जस्तो उच्चस्तरीय बजारमा निर्यात गर्दा उत्पादक र व्यापारीले ठुलो मुनाफा कमाउने गर्थे। जापान भारतको सबैभन्दा ठुलो बजार नभए पनि त्यहाँ प्रिमियम मूल्य पाइने भएकाले यो प्रतिबन्धले आर्थिक रूपमा ठुलो क्षति पुग्ने व्यापारीहरूको भनाइ छ।
निर्यातकर्ताहरूका अनुसार यो प्रतिबन्धले विश्व बजारमा भारतको कृषि गुणस्तर नियन्त्रण प्रणालीमाथिको विश्वास गुम्न सक्छ र अन्य आयातकर्ता देशहरूले पनि भारतीय उत्पादनमाथि शंका गर्ने वातावरण बन्न सक्छ।
अर्कातर्फ यो प्रतिबन्ध यस्तो समयमा लागेको छ जुन बेला भारतको मुख्य आँप क्षेत्रका किसानहरू मौसमको मार खेपिरहेका छन्। यस वर्ष अत्यधिक गर्मी र एल निनो जलवायु प्रभावका कारण कतिपय क्षेत्रमा पचासी देखि नब्बे प्रतिशतसम्म बाली नष्ट भएको सरकारी सर्वेक्षणहरूले देखाएका छन्। एकातिर उत्पादनमा भारी गिरावट आउनु र अर्कोतिर मुख्य सिजनमै निर्यात ठप्प हुनुले भारतीय आँप व्यवसायलाई गम्भीर संकटमा धकेलेको छ। एजेन्सी
प्रकाशित: १६ जेष्ठ २०८३ ०९:०१ शनिबार





