अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र इरानलाई लिएर एउटा अनौठो टिप्पणी गरेका छन्। टर्कीको राजधानी अंकारामा भएको नेटो शिखर सम्मेलनका क्रममा उनले जापानलाई 'इस्लामिक गणतन्त्र' भन्दै त्यसले अमेरिकी विमानवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले भने, ‘हामीमाथि जापानको इस्लामिक गणतन्त्रले १११ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।’ उनले एक घण्टाको अवधिमा 'अब्राहम लिंकन' विमानवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार भएको र तिनलाई रोकिएको बताए। वास्तवमा जापान र अमेरिका लामो समयदेखिका सुरक्षा साझेदार हुन्। ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने क्रममा पनि केही भ्रमित हुँदै आफ्नो सबैभन्दा ठूलो विरोधी 'राष्ट्रपति पुटिन' का रूपमा चर्चा गरेका थिए।
ट्रम्पले यसअघि पनि सामाजिक सञ्जालमा टिकटकलाई 'टिक-ट्याक' र इरानसँगको आणविक सम्झौतालाई 'जेसीपीओए' भन्नुपर्नेमा गलत नाम उच्चारण गरेका थिए। उनका यी लगातारका गल्तीहरूले अमेरिकाको राजनीतिक वृत्तमा नयाँ बहस निम्त्याएको छ। कांग्रेस सदस्य माइक क्विग्लीले ट्रम्पको यो टिप्पणीलाई भ्रमको लामो शृङ्खलाको पछिल्लो कडी भनेका छन्। उता, इलिनोइसका गभर्नर जेबी प्रिट्जकरले ट्रम्पको मानसिक स्वास्थ्यमाथि नै प्रश्न उठाएका छन्।
यसअघि सन् २०२४ मा वासिङ्टनमा भएको सम्मेलनका क्रममा तत्कालीन राष्ट्रपति जो जो बाइडनले पनि यस्तै गल्ती गर्दै जेलेन्स्कीलाई 'पुटिन' भनेका थिए, जसलाई त्यतिबेला बाइडनको ठूलो कमजोरीका रूपमा हेरिएको थियो। ट्रम्प आफैँले पनि बाइडन हिँड्न र बोल्न नसक्ने अवस्थामा रहेको भन्दै तीव्र आलोचना गर्ने गरेका थिए।
यसैबिच, ट्रम्पको भ्रमणका क्रममा प्रयोग गरिएको विमानलाई लिएर पनि प्रश्न उठेको छ। उनी नयाँ 'एयर फोर्स वान' विमानमा अंकारा पुगेका थिए। तर बेलायततर्फ प्रस्थान गर्दा भने उनले पुरानो विमान प्रयोग गरे। सुरक्षाका विषयमा सोधिएको प्रश्नमा उनले इरानको 'किलर लिस्ट' मा आफू पहिलो नम्बरमा रहेकाले सुरक्षा सतर्कता अपनाइएको दाबी गरेका थिए। तर पछि सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा उनले सैन्य बेसका सदस्यहरूलाई नयाँ विमान देखाउनका लागि मात्र विमान साटिएको स्पष्टीकरण दिए।
पछिल्लो समय इरान र अमेरिकाबित तनाव बढ्दैछ। अल जजीराका अनुसार इरानले अमेरिकाले बुशेहर आणविक ऊर्जा केन्द्र नजिकै हवाई आक्रमण गरेको आरोप लगाएको छ। यसैबिच, न्यूयोर्क टाइम्सले विगत दुई दिनमा अमेरिकाले १७० भन्दा बढी इरानी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार वायु रक्षा प्रणाली, ड्रोन र क्षेप्यास्त्र डिपो, सैन्य स्पीड बोट र होर्मुज जलमार्ग नजिकैको तटीय अड्डाहरूलाई लक्षित हमला गरिएको छ।
जवाफमा इरानले कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको छ। इरानी सेनाका अनुसार आक्रमणहरूले कुवेतको प्याट्रियट मिसाइल प्रणाली, कतारको प्रारम्भिक चेतावनी उपग्रह एन्टेना र बहराइनमा रहेको अमेरिकी सैन्य इन्धन डिपोलाई लक्षित गरिएको छ। एजेन्सी
प्रकाशित: २५ असार २०८३ १९:४० बिहीबार





