१२ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब ट्रम्पले सीलाई ‘के तपाईं अमेरिकी ह*तियार किन्न चाहनुहुन्छ?’ भन्दै सोधे

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अमेरिकी हतियार किन्न प्रस्ताव गरेको पाइएको छ।

ताइवानका लागि प्रस्तावित अमेरिकी हतियार बिक्रीबारे कुरा गर्दै उनले चीनले पनि अमेरिकाबाट हतियार किन्न चाहन्छ कि भनेर सोधेको चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यूले दाबी गरेका हुन्। उनले आइतबार ‘फक्स न्यूज सन्डे’ कार्यक्रममा बोल्दै ट्रम्पले सीसँग यस्तो प्रस्ताव कहिले गरेका थिए भन्ने स्पष्ट नपारे पनि चीनसँगको सम्बन्धका विषयमा हतियार बिक्रीबारे छलफल भएको बताएका हुन्। 

कार्यक्रममा प्रस्तोता श्यानन ब्रीमले ताइवानका लागि अमेरिकी सहायता र हतियार अर्डरमा भइरहेको ढिलाइबारे सांसदहरूको चिन्ता उल्लेख गर्दै चीनको दबाबका कारण अमेरिकाले ताइवानलाई सहयोग गर्न ढिलाइ गरिरहेको हो कि भनेर प्रश्न गरेकी थिइन्।

जवाफमा पर्ड्यूले ट्रम्प ताइवानका विषयमा बलियो रहेको र ताइवानलाई पर्याप्त अमेरिकी हतियार बिक्री गरिसकेको बताए। उनका अनुसार ट्रम्प र सीबिच ताइवानलाई भविष्यमा गरिने अमेरिकी हतियार बिक्रीबारे पनि कुराकानी जारी छ।

‘राष्ट्रपति ट्रम्पले भनिरहनुहुन्छ, हामी विश्वका अन्य देशलाई पनि हतियार बेच्छौँ। उहाँले राष्ट्रपति सीलाई कुनै समयमा केही हतियार किन्न चाहनुहुन्छ कि भनेर सोध्नुभएको थियो,’ पर्ड्यूले भने।

अमेरिकी कानुनअनुसार ताइवानलाई आफ्नो सुरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउन अमेरिका बाध्य छ। अमेरिकाले ताइवानलाई देशका रूपमा मान्यता नदिए पनि ऊ ताइवानको प्रमुख अनौपचारिक समर्थक र हतियार आपूर्तिकर्ता हो।

चीनले अमेरिकालाई ताइवानसँगको हतियार कारोबार रोक्न दबाब दिँदै आएको छ। गत मेमा ट्रम्प र सीबिच बेइजिङमा भएको शिखर वार्तापछि अमेरिकाले १४ अर्ब डलरको हतियार प्याकेज बिक्री रोकेको थियो। त्यसबेला ट्रम्पले ताइवानलाई हतियार बिक्रीलाई चीनसँगको वार्तामा ‘धेरै राम्रो वार्ता चिप’ भनेका थिए।

गत साता ह्वाइट हाउसमा भएको निजी वार्तामा सीले ट्रम्पलाई ताइवानको स्वतन्त्रताको विरोध गर्न दबाब दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रकाशित: १२ आश्विन २०८३ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App