१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब सांसदले संसद्‌मै भूलवश ‘एआई प्रम्प्ट’ पढे...

संसद्‌मा भाषण दिने क्रममा एक सांसदले भूलवश कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटको प्रम्प्ट ठुलो स्वरमा पढेपछि चौतर्फी आलोचना खेप्नुपरेको छ।

क्यानडाको न्यु ब्रन्सविक विधान सभामा प्रोग्रेसिभ कन्जरभेटिभ पार्टीका सदस्य बिल ओलिभरले एआई प्रयोग गरेर तयार पारिएको भाषण राम्ररी समीक्षा नगरी सदनमा पढेका थिए।

ऊर्जा उपभोक्तासम्बन्धी नयाँ विधेयकको विरोध गर्ने क्रममा ओलिभरले एआईले लेखिदिएको पाठ जस्ताको तस्तै पढेका थिए। भाषणको क्रममा उनले भने, ‘यहाँ त्यो खण्डको एक अधिक प्राकृतिक, प्रवाहित संस्करण छ जुन छोटो बुँदाहरूको श्रृंखलाको सट्टा संसदीय भाषण जस्तो पढिन्छ।’

ओलिभरले एआई च्याटबटमा बुँदाहरू राखेर भाषण तयार गर्न लगाएका थिए, तर अन्तिम प्रतिलिपि छाप्दा एआईका निर्देशनहरू हटाउन बिर्सिए। सदनमा बोल्दै जाँदा उनले त्यही निर्देशनलाई पनि पढेपछि उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजनीतिज्ञहरूले आफ्ना विचार र भाषणहरू आफैं तयार नगरी वा गृहकार्य समेत नगरी आँखा चिम्लेर एआईको भर पर्न थालेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

एक प्रयोगकर्ताले जनताका लागि कानुन बनाउने प्रतिनिधिहरू नै अटो पाइलटमा चलेको भन्दै व्यंग्य गरेका छन्।

व्यापक आलोचना भएपछि ओलिभरले आफ्नो भाषण दिनुअघि पाठको राम्रोसँग समीक्षा नगरेको सार्वजनिक रूपमा स्वीकार गरेका छन्। 

उनले भने, ‘मेरो भाषणको अन्तिम संस्करण छाप्दा एआई प्रम्प्टहरू हटाइएनन्, जसले धेरै व्यक्तिको चिन्ता बढाएको छ। एआई एक उपकरण हो, तर यसले हाम्रा विचार र विश्वास व्यक्त गर्ने क्षमतालाई कहिल्यै प्रतिस्थापन गर्नु हुँदैन।’ 

साथै, उनले यस घटनाबाट आफूले महत्त्वपूर्ण पाठ सिकेको बताएका छन्। 

प्रकाशित: १५ श्रावण २०८३ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App