इजरायलका लागि उडेको फ्लाईदुबईको विमान उडानकै क्रममा गम्भीर समस्यामा परेपछि ककपिटमा पुगेर विमान सम्हाल्ने दुई अतिरिक्त पाइलटको पहिचान अझै सार्वजनिक गरिएको छैन।
बुधबार दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा १८२ यात्रु थिए। विमानका पाइलट भारतीय नागरिक स्मित मच्छार थिए भने को-पाइलट ओमानी नागरिक हमाम अल-हमामी थिए। उडानका क्रममा को-पाइलटले पाइलटमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो।
गम्भीर घाइते भए पनि पाइलट मच्छारले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका सदस्यले को-पाइलटलाई नियन्त्रणमा लिएका थिए। यही क्रममा विमानमा यात्राका लागि रहेका दुई अतिरिक्त पाइलटमध्ये एक जना ककपिटमा पुगे र विमानको नियन्त्रण सम्हाले। त्यसपछि अर्का पाइलट पनि ककपिटमा पुगेका थिए।
विमानमा दोस्रो पंक्तिमा बसेका यात्रु डेनियल स्लिच्टरले एपीसँग ती दुई अतिरिक्त पाइलटको भूमिकाबारे विस्तृत जानकारी दिएका छन्।
‘यो चमत्कारमध्ये एक हो,’ स्लिच्टरले भने।
उनका अनुसार हरेक उडानमा दुई अतिरिक्त पाइलट सवार हुँदैनन्। तर उक्त उडानमा ती दुई पाइलटलाई पछि तेल अभिभबाट दुबई फर्किने विमान सम्हाल्नुपर्ने भएकाले सँगै ल्याइएको थियो। विमानमा कामको सिलसिलामा यात्रा गर्ने यस्तो व्यवस्थालाई ‘डेडहेडिङ’ भनिन्छ।
स्लिच्टरका अनुसार पहिलो अतिरिक्त पाइलट ककपिटतर्फ निकै छिटो पुगेका थिए। यात्रुहरूले को-पाइलटलाई नियन्त्रणमा लिइरहेका बेला उनी सबैलाई पार गर्दै ककपिटमा पुगेका थिए।
‘उनले विमानको नियन्त्रण सम्हाले र अवस्था के हो भन्ने कुरा बुझेको जस्तो देखिन्थ्यो,’ स्लिच्टरले थप भने।
त्यसपछि दोस्रो पाइलट पनि ककपिटमा पुगेका थिए। दुवैले ढोका बन्द गरेपछि विमानलाई स्थिर बनाउन काम गरे। विमान निकै तीव्र गतिमा तल झरेका कारण त्यसलाई फेरि नियन्त्रणमा लिन करिब १० मिनेट वा त्योभन्दा बढी समय लागेको स्लिच्टरले बताए। विमानको पुच्छरको केही भागसमेत क्षतिग्रस्त भएको थियो।
यसबिच आपतकालीन ‘मे डे’ सन्देश पठाइएको थियो। ती पाइलटहरूले सुरक्षित अवतरणका लागि ठाउँ खोजिरहेका थिए। तर केही यात्रु भने ती पाइलटमाथि तत्कालै विश्वस्त हुन सकेनन्। विमान स्थिर भएपछि पनि उनीहरूसँग यात्रुको प्रत्यक्ष सम्पर्क नभएकाले आफू चिन्तित भएको स्लिच्टरले बताए।
‘मलाई उनीहरूले विमानलाई कतै लैजाँदै त छैनन् भन्ने चिन्ता थियो,’ उनले भने।
उनलाई विमानलाई इरानतिर लैजान सक्ने आशंकासमेत लागेको थियो। तर करिब ४५ मिनेटपछि पाइलटहरूले साउदी अरेबियाको ताबुकमा अवतरण गर्ने जानकारी गराएपछि उनी ढुक्क भए। विमान ताबुकमा सुरक्षित रूपमा अवतरण गरेको थियो। अनि अर्को विमानमार्फत सबैलाई इजरायल पुर्याइएको थियो।
‘त्यसपछि मैले उनीहरूलाई विश्वास गर्ने निर्णय गरेँ। र त्यो सही साबित भयो,’ स्लिच्टरले भने।
संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले घटनालाई लिएर अनुसन्धान गरिरहेका छन्। पछिल्लो विवरणअनुसार को-पाइलटले पाइलट मच्छारमाथि आक्रमण गरेर विमान नियन्त्रणमा लिन खोजेको आरोप छ।
अर्कोतिर, विमानलाई नियन्त्रणमा लिन ककपिट पुगेका दुई अतिरिक्त पाइलटको नाम भने तीन दिन भैसक्दासम्म पनि अझै सार्वजनिक गरिएको छैन। फ्लाईदुबईले उनीहरूलाई विमानमा यात्रा गरिरहेका ड्युटीमा रहेका चालक दलका सदस्यका रूपमा मात्र उल्लेख गरेको छ। एयरलाइन्सले उनीहरूको पहिचानबारे थप जानकारी नदिनुको कारण पनि स्पष्ट गरेको छैन। एजेन्सी
प्रकाशित: १७ आश्विन २०८३ २२:४७ शनिबार





