इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले इजरायलले इरानभित्र ‘प्रदर्शनकारीलाई हतियार उपलब्ध गराएको’ र ‘यसकै कारण सयौँ मानिसको ज्यान गएको’ आरोप लगाएका छन्। अराघचीले यो आरोप एक इजरायली पत्रकारको भनाइ उद्धृत गर्दै लगाएका हुन्। उनले एक्समा उक्त पत्रकारको भनाइको स्क्रिनसट पनि सेयर गरेका छन्।
स्क्रिनसटमा लेखिएको छ, ‘इरानमा विदेशी तत्वहरूले प्रदर्शनकारीलाई हतियार दिइरहेका छन् र यही सयौँ मृत्युकै कारण बनेको छ। हामी कसको कुरा गरिरहेका छौँ भन्ने अनुमान गर्न सबै स्वतन्त्र छन्।’
इरानका विदेश मन्त्रीले भने, ‘इजरायल सधैँदेखि अमेरिकालाई आफ्नो तर्फबाट लड्न युद्धमा तान्ने प्रयास गर्दै आएको छ। तर आश्चर्यको कुरा के छ भने यसपटक उनीहरूले आफ्नो लुकेको कुरा खुलेआम भन्न थालेका छन्।’
उनले थपे, ‘हाम्रा सडकहरूमा रगत बगिरहेको छ र इजरायल खुलेआम भन्दैछ कि उसले ‘प्रदर्शनकारीलाई हतियार दिएको’ छ र ‘यसै कारण सयौँ मानिस मारिएका’ छन्।’
अराघचीले भने, ‘हत्याहरू रोक्न राष्ट्रपति ट्रम्प अब कहाँ जानुपर्छ भन्ने कुरा बुझ्नैपर्छ।’ इरानमा पछिल्ला केही दिनदेखि सत्ता विरोधी प्रदर्शन जारी छन्, जसमा हजारौँ मानिसको मृत्यु भएको आशंका गरिएको छ। यी प्रदर्शनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाएका छन्।
ट्रम्पले पटक–पटक खुलेर भनेका छन् कि यदि इरानमा ‘प्रदर्शनकारीहरूको हत्या’ रोकिएन भने अमेरिका हस्तक्षेप गर्नेछ। एजेन्सी
प्रकाशित: १ माघ २०८२ ०९:१० बिहीबार





