१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

युवा अभियानदेखि संसद्सम्मको यात्रामा कबिन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो।

कुल एक लाख आठ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो। जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मतमात्र सदर र तीन हजार नौ (५.२६ प्रतिशत) मत बदर भएको थियो। विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका हुन्।

बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरे। दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी नेकपा (एमाले)का मिलन गुरुङ (चक्रे मिलन)ले तीन हजार ८७ मत मात्र पाए।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्यमध्येका हुन्। विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल भए। अहिले पनि उनी रास्वपाका महामन्त्री हुन्।

उनको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रूपमा धादिङको सल्यानटारमा भएको थियो। पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार–९ मा बसाइँ सरी आएका अभिभावकले उनलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिएका थिए।

गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँ जीवनको सुरुआत गर्न उनी राजधानी काठमाडौँ प्रवेश गरे। कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उनी एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गरे। स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उनी युवा सशक्तीकरणका विभिन्न अभियानमा संलग्न भए। फाइनान्समा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गरे।

मलेसियाको आइकम इन्स्टिच्युटबाट उनले ‘युथ लिडरसिप’ कोर्स पूरा गरे। त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तीकरण अभियान सुरु गरे। त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाका संस्थाहरूको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन भएको थियो।

त्यसलगत्तै उनले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासंघ’ दर्ता गरेका थिए। यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए। ‘यो महासंघमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन्’, उनी भन्छन्, ‘यही बीचमा संयुक्त राष्ट्र संघको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ। एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ। तीस वटा देश घुम्ने मौका पाएँ।’

पार्टीका लागि जीउज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उनको बुझाइ छ। अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नुका पछाडि आफूहरूको इमानदारी, क्षमता, दक्षता भएको उनको भनाइ छ। ‘नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन्’, उनी भन्छन्, ‘अब यो विश्वास र भरोसालाई सदा सर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो।’ रासस

प्रकाशित: २५ फाल्गुन २०८२ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App