अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग तेल खरिद गर्ने देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विशेष गरी भारत, चीन र ब्राजिललाई लक्षित गर्दै उनले रूसबाट सस्तो तेल खरिद गर्नु युक्रेनविरुद्धको युद्धलाई सहयोग गर्नु बराबर भएको तर्क दिएर उनले यस्तो धम्की दिएका हुन्।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहायता पुग्ने कुनै पनि गतिविधि रोक्न चाहन्छन्। यदि भारत, चीन र ब्राजिलले रूसबाट सस्तो तेल खरिद जारी राखे भने हामी तिनको अर्थतन्त्रलाई ध्वस्त गर्छौं। यो रगतको पैसा हो!’ उनले थपे, ‘पुटिन, तिमीले ट्रम्पसँग गलत दाउ खेल्यौँ। तिम्रो अर्थतन्त्र थप कमजोर हुनेछ, र हामी युक्रेनलाई हतियार पठाइरहने छौं।’
ग्राहमले यी तीन देशले रूसको कुल तेल निर्यातको करिब ८० प्रतिशत खरिद गर्ने गरेको दाबी गरेका छन्। उनले अगाडि भने, ‘यी देशले अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनबिच एक छनोट गर्नुपर्नेछ। मलाई विश्वास छ, तिनले अमेरिकी अर्थतन्त्र रोज्नेछ।’
यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए। यो धम्की ट्रम्पले रूसलाई युक्रेन युद्ध ५० दिनभित्र बन्द गर्न दिएको अल्टिमेटमको एक दिनपछि आएको थियो। ट्रम्पले रूस र उसको व्यापारिक साझेदारमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्म ट्यारिफ लगाउने तयारी गरेका छन्।
युक्रेन युद्धपछि रूसले सस्तो दरमा तेल बेच्न थालेपछि यी देशले आयात बढाएका हुन्। अमेरिकाको यो कदमले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्छ। भारत र चीन रूसका सबैभन्दा ठूला तेल खरिदकर्ता हुन्।
यदि ट्यारिफ लागु भएमा यी देशले मध्यपूर्व वा अफ्रिकाबाट महँगो तेल आयात गर्नुपर्ने हुन सक्छ। यसले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि ल्याउन सक्ने देखिन्छ। ब्रिक्स समूहका यी देशले डलरमा निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्, जसलाई ट्रम्पले चुनौतीको रूपमा लिएका छन्। एजेन्सी
प्रकाशित: ६ श्रावण २०८२ १२:०५ मंगलबार





