९ असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ता सकारात्मक

दुई महिनाभित्र स्थायी शान्ति सम्झौता गर्ने कार्ययोजनामा सहमत

अमेरिका र इरानबिचको युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको उच्चस्तरीय वार्ताको पहिलो चरण उत्साहजनक प्रगतिसहित सम्पन्न भएको छ। वार्ताका मध्यस्थकर्ता कतार र पाकिस्तानले सोमबार बिहान संयुक्त वक्तव्य जारी गर्दै दुवै पक्षले ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित कार्ययोजना (रोडम्याप) मा सहमति जनाएको बताएका छन्।

वक्तव्यअनुसार अमेरिका र इरानका प्रतिनिधिहरू सम्मिलित ‘उच्चस्तरीय समिति’ले स्थायी शान्ति सम्झौताका लागि चरणबद्ध रूपमा अगाडि बढ्ने निर्णय गरेको छ। पहिलो चरणको राजनीतिक वार्ता सम्पन्न भएपछि प्राविधिक तहका छलफलहरू भने निरन्तर जारी रहने जनाइएको छ। इरानका विदेशमन्त्री सयद अब्बास अराघचीले वार्ताबाट विशेष गरी लेबनानमा जारी द्वन्द्व अन्त्यतर्फ ‘ठुलो प्रगति’ भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘पाकिस्तान र कतारको मध्यस्थताले लेबनान युद्ध अन्त्य गर्ने दिशामा महŒवपूर्ण उपलब्धि हासिल गरेको छ। तेल तथा पेट्रोकेमिकल निर्यातमाथिका प्रतिबन्ध हटाइएका छन्, नाकाबन्दी अन्त्य गरिएको छ, रोकिएका केही सम्पत्ति फुकुवा भएका छन् र इरानको पुनर्निर्माण तथा विकासका लागि ठुलो योजना अघि बढाइएको छ।’ आइतबार सुरु भएको वार्ता सकिएलगत्तै इरानी प्रमुख वार्ताकारहरूको टोली स्विट्जरल्यान्डबाट फर्किएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

हर्मुजमा सुरक्षित आवागमनमा सहमति

कतार र पाकिस्तानद्वारा जारी संयुक्त वक्तव्यमा हर्मुज जलडमरु हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिका, इरान तथा मध्यस्थ राष्ट्रहरूबिच प्रत्यक्ष सम्पर्क संयन्त्र (कम्युनिकेसन लाइन) स्थापना गर्ने सहमति भएको उल्लेख गरिएको छ। यसले सम्भावित भ्रम र आकस्मिक सैन्य घटना रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ। त्यसैगरी अमेरिका, इरान र लेबनानबिच सैन्य तनाव न्यूनीकरणका लागि ‘डी–कन्फ्लिक्सन सेल’ स्थापना गर्ने सहमति पनि भएको छ। अराघचीले यसलाई ‘वास्तविक परीक्षणको पहिलो चरण’को संज्ञा दिएका छन्।

गत साता हस्ताक्षर गरिएको समझदारीपत्र (एमओयु) मा लेबनानसहित सबै मोर्चामा युद्धविराम गर्ने प्रतिबद्धता गरिए पनि त्यसयता दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबिच झडप बढेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित दर्जनौं नागरिकको मृत्यु भएको छ।

अमेरिका सम्बन्ध सुधार्न तयार

स्विट्जरल्यान्डको एक रिसोर्टमा वार्ता सुरु हुनुअघि अमेरिकी उपराष्ट्रपति तथा अमेरिकी वार्ता टोलीका प्रमुख जेडी भान्सले इरानले क्षेत्रीय अस्थिरता फैलाउने गतिविधि र दीर्घकालीन आणविक हतियार विकासको महŒवाकांक्षा त्याग्न तयार भए अमेरिका पनि इरानसँगको सम्बन्धलाई आधारभूत रूपमा परिवर्तन गर्न इच्छुक रहेको बताए। इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी दोहो¥याएको छ।

मानवीय क्षति

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो। त्यसयता लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा चार हजार १०६ जनाको मृत्यु भइसकेको छ। यद्यपि तीमध्ये सर्वसाधारण र लडाकुको छुट्टै विवरण सार्वजनिक गरिएको छैन। इजरायली अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा हालसम्म ३६ इजरायली सैनिक र चार सर्वसाधारण मारिएका छन्। युद्धको तनाव अझै पूर्ण रूपमा अन्त्य नभए पनि स्विट्जरल्यान्डमा सम्पन्न पहिलो चरणको वार्ताले अमेरिका र इरानबिच दीर्घकालीन शान्ति सम्झौताका लागि सकारात्मक आधार तयार पारेको मानिएको छ। (बिबिसीमा आधारित)

प्रकाशित: ९ असार २०८३ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App