अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अर्को साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय बैठकमा सहभागी हुने शीर्ष इरानी नेताहरूको भिसा स्वीकृत गरेको छ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियान र विदेशमन्त्री अब्बास अराघचीसहित शीर्ष अधिकारीलाई भिसा स्वीकृत गरेको हो।
अमेरिकी विदेश विभागले बिहीबार संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी हुन आवश्यक कर्मचारीसहित इरानको ‘मुख्य प्रतिनिधिमण्डल’का लागि भिसा स्वीकृत गरेको जानकारी दिएको छ। अमेरिकी अधिकारीका अनुसार उक्त प्रतिनिधिमण्डलमा राष्ट्रपति पेजेश्कियान र विदेशमन्त्री अराघची पनि छन्।
इरान र अमेरिकाबिच ६ महिनाभन्दा लामो समयदेखि द्वन्द्व जारी रहेका बेला इरानी शीर्ष अधिकारीलाई भिसा दिने निर्णय भएको हो। होर्मुजको जलमार्ग पुनः खोल्ने वा इरानको आणविक कार्यक्रममा वार्ता अघि बढ्ने संकेत नदेखिएका बेला यो निर्णय आएको हो।
गत वर्ष पनि अमेरिकाले केही इरानी कूटनीतिज्ञलाई भिसा दिएको थियो। तर उनीहरूको न्यूयोर्कमा आवतजावतमा कडा प्रतिबन्ध लगाइएको थियो। यसपटक पनि इरानी प्रतिनिधिमण्डलको यात्रा र विलासिताका सामान खरिदमा प्रतिबन्ध रहने अमेरिकी विदेश विभागले जनाएको छ। विभागका अनुसार यसपटकको प्रतिनिधिमण्डल गत वर्षको भन्दा सानो छ।
इरानी अधिकारीलाई भिसा दिने निर्णय प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बास र उनको प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकी विदेश विभागले भिसा अस्वीकार गरेको एक दिनपछि आएको हो। भिसा अस्वीकार गरेपछि संयुक्त राष्ट्रसंघ महासभाले अब्बासलाई अर्को हप्ता विश्व नेताहरूको वार्षिक भेलालाई भिडियोमार्फत सम्बोधन गर्न अनुमति दिने भएको छ।
अमेरिकी विदेश विभागले प्यालेस्टिनी प्राधिकरणले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजाँदै गाजाको युद्धलाई ‘अन्तर्राष्ट्रियकरण’ गर्न खोजेको आरोप लगाएको छ। प्यालेस्टिनी प्राधिकरणले भने अमेरिकी निर्णयको निन्दा गर्दै यसले शान्ति र दुई-राज्य समाधानलाई कमजोर पार्ने बताएको छ।
अमेरिकाले प्यालेस्टिनी प्राधिकरणलाई पूर्ण संयुक्त राष्ट्र सदस्य राष्ट्रको सरकारका रूपमा मान्यता दिएको छैन। तर संयुक्त राष्ट्र महासभा तथा विभिन्न संयुक्त राष्ट्र निकायले त्यसलाई मान्यता दिएका छन्। एजेन्सी
प्रकाशित: २ आश्विन २०८३ १४:२१ शुक्रबार



-600x400.jpg)

-600x400.jpg)