अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्टमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा आठ बालबालिकाको मृत्यु भएको छ। प्रहरीले यस घटनालाई घरेलु विवादको रूपमा वर्णन गरेको छ।
स्थानीय समय अनुसार आइतबार बिहान भएको यस विभत्स घटनामा ३१ वर्षीय शमर एल्किन्सले आफ्नै परिवारमाथि गोली चलाएका थिए, जसमा उनका सात छोराछोरी र अर्का एक नाबालिग गरी आठ जनाको ज्यान गयो।
प्रहरीका अनुसार बन्दुकधारी एल्किन्सले १० जनालाई गोली हानेर कारमा भागेका थिए। पछि प्रहरीसँगको मुठभेडमा उनको पनि मृत्यु भयो। श्रेभपोर्ट प्रहरी विभागका प्रवक्ता क्रिस बोर्डेलनले बताएअनुसार यस आक्रमणमा बन्दुकधारीकी श्रीमती र उनका सन्तानकी आमासहित दुई महिला गम्भीर घाइते भएका छन्।
प्रहरीले यो आक्रमण श्रेभपोर्टको दक्षिणमा पर्ने एक छिमेकका दुई घरहरूमा भएको थियो। आक्रमणकारीले सुरुमा एउटा घरमा एक महिलालाई गोली हानेका थिए। त्यसपछि अर्को घरमा गएर यो जघन्य अपराध गरेका थिए।
दोस्रो घरभित्र सात बालबालिका मृत फेला परेका थिए भने एक बच्चा भाग्न खोज्दा छतमा मृत भेटिए। अर्का एक बच्चाले भने छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएको र अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ। क्याड्डो पेरिस कोरोनरको कार्यालयका अनुसार ज्यान गुमाउनेहरूमा तीन केटा र पाँच केटी छन्, जसको उमेर ३ देखि ११ वर्षको बीचमा थियो।
एपीमा अनुसार आक्रमणकारी एल्किन्स र उनकी श्रीमती सम्बन्धविच्छेद गर्ने क्रममा रहेको र सोमबार (स्थानीय समय) अदालत जाने तयारीमा रहेको आफन्त क्रिस्टल ब्राउनले बताइन्। ब्राउनका अनुसार दम्पतीबीच सम्बन्धविच्छेद गर्ने विषयमा बहस भएपछि एल्किन्सले आफ्नै सन्तान र श्रीमतीमाथि गोली चलाएका हुन्। एल्किन्सका आफ्नी श्रीमतीबाट चार र अर्की एक महिलाबाट तीन सन्तान थिए, जो घटनाको समयमा एउटै घरमा थिए।
श्रेभपोर्टका मेयर टम आर्सेनोले यसलाई शहरको इतिहासकै सबैभन्दा दुखद घटना भनेका छन्। उनले भने, ‘यो एउटा दुखद घटना हो, सायद हामीले श्रीभपोर्टमा देखेको सबैभन्दा दुखद घटना हो।’
श्रेभपोर्ट प्रहरी प्रमुख वेन स्मिथले घटनाप्रति दुख व्यक्त गर्दै भने, ‘मलाई के भन्ने थाहा छैन, मेरो मुटु हैरान भएको छ। यस्तो घटना कसरी हुन सक्छ भनेर म कल्पना पनि गर्न सक्दिनँ।’ प्रहरीका अनुसार एल्किन्स सन् २०१९ मा बन्दुक सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। तर उनीविरुद्ध घरेलु हिंसाको कुनै अघिल्लो रेकर्ड थिएन।
यो घटना सन् २०२४ जनवरीमा शिकागोमा भएको गोलीकाण्डपछिकै सबैभन्दा घातक सामूहिक हत्या भएको बताइएको छ। घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ। पीडितहरूको सम्झनामा मैनबत्ती बालेर प्रार्थना गरिएको छ। पल्लीको जिल्ला न्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घरेलु विवादको रूपमा सुरु भएको घटना अपूरणीय क्षतिमा समाप्त भएको छ।’ एजेन्सी
प्रकाशित: ७ वैशाख २०८३ ०९:२७ सोमबार





