१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सी र ट्रम्पको भेटअघि क्वालालम्पुरमा अमेरिका-चीन व्यापार वार्ता

चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिवार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको छ।

अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले वार्ताको पुष्टि गरेका छन्। यो वार्ता अर्को हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको बहुप्रतिक्षित भेटको तयारीको रूपमा भएको बताइएको छ।

बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहनेछ। एएफपीका संवाददाताले हे लिफेङ र उनको टोलीलाई विश्वकै दोस्रो अग्लो भवन ‘मर्डेका ११८’ मा प्रवेश गरेको देखेका थिए। उनीहरू पत्रकारसँग कुनै टिप्पणी नगरी भवनको लबी हुँदै माथिल्लो तलातिर गए।

अमेरिकी प्रतिनिधिमण्डलले छुट्टै प्रवेशद्वार प्रयोग गरेको थियो। भवनका कर्मचारीका अनुसार दुई देशका प्रतिनिधि ९२औँ तलामा औपचारिक बैठकमा सहभागी छन्।

विश्वका दुई ठूला अर्थतन्त्र पछिल्ला वर्षमा चलेको प्रतिशोधात्मक कर युद्धबाट थप हानि नहोस् भनेर सहमतिको खोजीमा छन्। राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबिचको भेट अर्को बिहीबार दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुने अपेक्षा गरिएको छ।

राष्ट्रपति ट्रम्पले केही दिनअघि बैठक रद्द गर्न सक्ने चेतावनी दिए पनि उनले फेरि चीनसँग ‘राम्रो सम्झौता’ गर्न चाहने र व्यापार युद्ध अन्त्य गर्ने आशा व्यक्त गरेका छन्।

अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले शनिवार वार्ता औपचारिक रूपमा सुरु भएको पुष्टि गरे। चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दुई देशका प्रतिनिधिमण्डलबिच ‘बैठक भएको’ उल्लेख गरेको छ।

यसैबिच, बेइजिङले हालै आफ्नो दुर्लभ पृथ्वी (खनिज तत्त्व) उद्योगमा व्यापक नियन्त्रण लगाउने निर्णय गरेपछि वासिङ्टनले त्यसको प्रतिकारमा चीनबाट आयात हुने सामानमा १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएको थियो।

दुवै देशले एकअर्काका जहाजमा आगमन शुल्क लगाउन थालेका छन्। अमेरिकी ‘धारा ३०१’ अनुसन्धानले उक्त उद्योगमा चीनको प्रभुत्व अनुचित भएको निष्कर्ष निकालेपछि तनाव झनै बढेको हो। एएफपी

प्रकाशित: ८ कार्तिक २०८२ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App