संयुक्त राष्ट्र संघले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ।
महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेमा तथा संगठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्र संघ गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिएका थिए।
संयुक्त राष्ट्र संघका अधिकारीहरूका अनुसार अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको लागि सात करोड ६७ लाख डलर पनि समावेश छ। साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी छ।
अमेरिकी प्रतिनिधित्वको अनुसार आगामी केही हप्ताभित्र अमेरिकी प्रशासनले आफ्नो बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको छ। यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ।
महासचिव गुटेरेसका अनुसार यदि आवश्यक रकम समयमै प्राप्त भएन भने, यस वर्ष जुलाईसम्म नियमित बजेट सकिन सक्ने र यसले संगठनका गतिविधिमा गम्भीर असर पार्न सक्ने सम्भावना छ।
संयुक्त राष्ट्र संघका अधिकारीहरूले नियमित बजेटतर्फको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको बताएका छन्। हालसम्म करिब ६० देशले तोकिएको समयभित्र आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकेका छन्।
हाल अमेरिकाको कुल बक्यौता नियमित बजेटमा करिब २ दशमलव १९ अर्ब डलर, शान्ति स्थापनामा २ दशमलव ४ अर्ब डलर गरी कुल झण्डै ४ दशमलव ६ अर्ब डलर पुगेको छ। महासचिव गुटेरेसले यो अवस्थालाई ‘आसन्न आर्थिक पतन’ भनेका छन्। यसबिच अमेरिकी राजदूत माइक वाल्ट्जले केही हप्तामा ठूलो अंश भुक्तानी गर्ने बताएका छन्।
प्रकाशित: २८ माघ २०८२ ०७:४८ बुधबार





