उत्तरी इजरायलमा भएको कार ठक्कर र छुरा प्रहार आक्रमणमा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार प्यालेस्टाइनी आक्रमणकारीले बेइत शेआन सहरमा कारले पैदल यात्रीलाई ठक्कर दिएका थिए। सो घटनामा ६८ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यसपछि करिब १२ किलोमिटर टाढा आइन हारोद नजिकै उनले एक युवतीलाई छुरा प्रहार गरे, जसमा १९ वर्षीया युवतीको मृत्यु भयो।
प्रहरीका अनुसार अफुला सहर बाहिर एक नागरिकले गोली हानेर आक्रमणकारीलाई घाइते बनाए। आक्रमणकारीलाई अस्पताल लगिएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमणकारी कबातिया गाउँका बासिन्दा भएको बताएका छन्।
घटनापछि इजरायल रक्षा बलले कबातिया क्षेत्रमा कारबाहीको तयारी गरिरहेको छ। काट्जका अनुसार रक्षा बललाई ‘प्रमुख र तत्काल’ कारबाही गर्न निर्देशन दिइएको छ। रक्षा बलले आक्रमणकारी ‘केही दिन अघि इजरायली क्षेत्रमा घुसपैठ गरेको’ भनेको छ।
प्रकाशित: १२ पुस २०८२ ०९:३२ शनिबार




