अमेरिकाको लस एन्जलस नजिकै क्याटालिना टापुमा बिरामीलाई उपचारका लागि लैजाँदै गरेको मेडिकल हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा दुई जना घाइते भएका छन् भने एक जना अझै बेपत्ता छन्। स्थानीय समयअनुसार बुधबार राति भएको दुर्घटनापछि अमेरिकी कोस्ट गार्ड, अग्निनियन्त्रक र लस एन्जलस काउन्टी शेरिफ विभागका गोताखोरले उद्धार तथा खोजी जारी राखेका थिए।
कोस्ट गार्डकी क्याप्टेन स्टेसी क्रेसीले हेलिकप्टर उडेको केही समयमै टापुबाट केही पर समुद्रमा खसेको बताइन्। दुर्घटनाको कारण भने खुलेको छैन।
‘हामीलाई लाग्छ, मेडिकल हेलिकप्टरले टापुबाट एक बिरामीलाई थप उपचारका लागि मुख्य भूमितर्फ लैजाँदै थियो,’ उनले भनिन्।
उद्धार टोलीले पानीबाट चार जनालाई बाहिर निकालेको थियो। तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो भने दुई जनालाई अस्पतालमा भर्ना गरिएको लस एन्जलस काउन्टी फायर डिपार्टमेन्टले जनाएको छ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान थालेको छ। बोर्डका अनुसार दुर्घटनामा परेको हेलिकप्टर युरोकप्टर ईसी-१३५-पी२ थियो।
अधिकारीहरूका अनुसार हेलिकप्टर क्याटालिना टापुबाट करिब ७३ मिटर गहिरो पानीमा डुबेको छ। हेलिकप्टर साक्रामेन्टोस्थित रिच एयर मेडिकल सर्भिसेसले सञ्चालन गरेको हुन सक्ने जनाइएको छ।
प्रकाशित: १५ आश्विन २०८३ २१:४६ बिहीबार




-600x400.jpg)
