१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प ट्यारिफले खोस्यो भारतीय हीराको चमक

गुजरात राज्यको सुरतका हीरा उद्योग व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्क(ट्यारिफ)का कारण चिन्तित छन् । सुरत विश्वमै हीरा काट्ने र पालिस गर्ने प्रमुख केन्द्रका रूपमा चिनिन्छ र  तर अहिले यस उद्योगमा आश्रित मानिसहरू कठिनाइमा छन् ।  

अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत शुल्कले यहाँका व्यापारी मात्र होइन, मजदुरलाई पनि चिन्तित बनाएको छ । हीरा उद्योगमा काम गर्ने २५ लाखभन्दा बढी कामदार प्रभावित हुने देखिएको छ । अमेरिकाले बुधबारदेखि लागु गरेको  ट्यारिफको सबैभन्दा ठूलो असर सुरतमा परेको छ, किनभने यहाँको हीरा उद्योग अमेरिकी निर्यातमा निर्भर छन् ।  

सुरतका बजारमा बिहान र बेलुका दुईपांग्रे सवारी साधनको ट्राफिक जाम हुनु सामान्य मानिन्छ, किनभने त्यतिबेला हीराका कालिगढहरू काममा जाँदै वा फर्किँदै हुन्छन् । सहरका सयौँ ससाना कारखानामा २० देखि ५०० मजदुरसम्म काम गर्छन्। कतिपय कारखाना बन्द हुने अवस्थामा पुगेका छन् ।  

सुरतको कतारगामस्थित एक हीरा पालिस गर्ने कारखाना बन्द जस्तै छ,  मेसिनमा धुलो जमेको छ। केही महिनाअघि सयौँ मजदुर काम गर्ने ठाउँमा अहिले  ६ जना मात्र बाँकी छन्।

एक कालिगढ भन्छन्, ‘पहिले यहाँ ठूलो भीड हुन्थ्यो। तर अहिले धेरैलाई कामबाट निकालिएको छ। हामीलाई हाम्रो भविष्य नै थाहा छैन । ’

यस्तै अवस्था सुरतका अरु कैयन कारखानामा देखिएको छ।

२० वर्षअघि शैलेश मंगुकियाले एउटा पालिस गर्ने चक्कीबाट आफ्नो व्यवसाय सुरु गरेका थिए ।  विस्तारै उनले ३०० मजदुरलाई रोजगारी दिएका थिए। तर अहिले उनको कारखानामा जम्मा ७० जना मात्र बाँकी छन्।

उनी भन्छन्, ‘सबै अर्डर रद्ध भएका छन्। मजदुरलाई भन्नुपरेको छ- काम छैन। तर म कसलाई राखूँ, कसलाई निकालूँ? सबै परिवारका सदस्यझैँ लाग्छन्। तर अर्डर छैन भने तिनीहरूलाई तलब दिन सकिँदैन । ’

गत वर्ष औसतमा महिनामा २ हजार हीरा प्रशोधन हुने कारखानामा यो वर्ष अगस्टमा जम्मा ३०० मात्र प्रशोधन भएको छ। मंगुकियालाई डर छ– यो अवश्था जारी रहेमा कारखाना नै बन्द गर्नुपर्ने हुन्छ।

हीरा उद्योगमा काम गर्ने  मजदुर सुरेश राठौर भन्छन्, ‘पहिला जन्माष्टमीमा दुई दिन मात्र बिदा पाउँथ्यौँ। यसपटक १० दिनको बेतलबी बिदा दिइयो। हामी यस्तोमा कसरी बाँच्ने? तर मालिकले के गर्नु, अर्डर नै छैन ।’

सुरत डायमन्ड पालिसर्स युनियनका उपाध्यक्ष भावेश टांकका अनुसार, धेरै मजदुरहरूको तलब काटिएको छ वा बेतलबी बिदा दिइएको छ।

यसैगरी, सुरतका निर्यातकर्ताहरू पनि अनिश्चिततामा छन्। दक्षिण गुजरात च्याम्बर अफ कमर्सका अध्यक्ष निखिल मद्रासीका अनुसार अमेरिकी बजारमाथि धेरै निर्भरता भएकाले ठूलो झटका लाग्ने देखिएको छ ।  

‘पुराना अर्डर  सकिए, तर नयाँ अर्डरको भविष्य अस्पष्ट छ। सरकारको तत्काल सहयोग चाहिन्छ,’ उनी भन्छन् । कतिपय व्यापारी मध्यपूर्व, युरोप जस्ता बजारमा अवसर खोजिरहेका छन्।

जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सिलका गुजरात अध्यक्ष जयंतीभाई सावलिया अब  दुबई, अस्ट्रेलिया, युरोप जस्ता बजारतर्फ ध्यान दिनुपर्ने समय आएको बताउछन् ।  

भारतले अमेरिकामा वर्षेनी करिब १२ अर्ब अमेरिकी डलरको हाराहारीमा हीरा निर्यात गर्छ । यदि यसको आधा व्यापार अन्य मुलुकमा विस्तार गर्न सकियो भने सुरतको हीरा उद्योग बच्न सक्छ भन्ने उनीहरूको धारणा छ । गत वर्ष मात्र अमेरिकाले भारतबाट ११.५८ अर्ब डलर मूल्यका हीरा र गहना आयात गरेको थियो । यसमा ५.६ अर्ब डलरका पालिस गरिएका हीरा थिए।

तर अब ५० प्रतिशत करले यो उद्योगको सम्पूर्ण व्यापार हल्लिएको छ ।  

‘सुरतको चमक बिस्तारै हराउँदैछ... र यो फिर्ता आउला कि आउँदैन, मलाई थाहा छैन, ’ हीरा व्यापारी मंगुकिया आँखा रसाउँदै भन्छन् । (बीबीसीमा आधारित)

प्रकाशित: १२ भाद्र २०८२ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App