१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यूबालाई ट्रम्पको चेतावनीः ढिलो हुनुअघि सम्झौता गर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई ‘सम्झौता गर्न’ चेतावनी दिएका छन्, नत्र त्यसका परिणाम भोग्नुपर्ने बताएका छन्। उनले अब भेनेजुएलाबाट क्यूबा जाने तेल र पैसा रोकिने चेतावनी दिएका छन्।

गत जनवरी ३ मा भेनेजुएलाको राजधानीमा गरिएको एक कारबाहीका क्रममा अमेरिकी सुरक्षा बलहरूले भेनेजुएलाका नेता निकोलस मादुरोलाई ‘पक्राउ’ गरेको दाबी गरिएको थियो। त्यसपछि ट्रम्पले आफ्नो ध्यान क्यूबातर्फ केन्द्रित गरेका छन्।

भेनेजुएला लामो समयदेखि क्यूबाको सहयोगी रहँदै आएको छ। अनुमानअनुसार भेनेजुएलाबाट क्यूबालाई दैनिक करिब ३५,००० ब्यारेल तेल आपूर्ति हुने गरेको थियो। तर ट्रम्पका अनुसार अब यो आपूर्ति बन्द हुनेछ।

आइतबार ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘क्यूबा धेरै वर्षसम्म भेनेजुएलाबाट प्राप्त हुने ठूलो मात्राको तेल र पैसामा टिकेको थियो। यसको बदलामा क्यूबाले भेनेजुएलाका पछिल्ला दुई तानाशाहलाई ‘सुरक्षा सेवा’ प्रदान गरेको थियो। तर अब त्यस्तो हुने छैन।’

उनले थप लेखे, ‘अब क्यूबातर्फ न तेल जानेछ, न पैसा। म उनीहरूलाई जोड दिएर ढिलो हुनुअघि सम्झौता गर्न सुझाव दिन्छु।’ तर ट्रम्पले सम्झौताका सर्तहरू के हुनेछन् वा क्यूबाले कस्ता परिणाम सामना गर्नुपर्नेछ भन्ने कुरा स्पष्ट गरेका छैनन्।

क्यूबाले विगत धेरै वर्षदेखि मादुरोलाई निजी सुरक्षा उपलब्ध गराउँदै आएको छ। क्यूबा सरकारका अनुसार भेनेजुएलाको राजधानी काराकासमा गरिएको अमेरिकी कारबाहीका क्रममा उसका ३२ जना नागरिक मारिएका छन्। एजेन्सी

प्रकाशित: २८ पुस २०८२ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App