२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टाभित्र ‘ट्यारिफ’ बढाउने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ठूलो ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिएपछि अमेरिका र भारतबीच वाकयुद्ध चर्किएको छ।

रुसबाट तेल खरिद गरेको विषयलाई लिएर ट्रम्पले अर्को २४ घण्टाभित्र ट्यारिफ बढाउने चेतावनी दिएका हुन्। जसलाई भारतले अनुचित र तर्कहीन भन्दै प्रतिवाद गरेको छ।

सीएनबीसी न्युज च्यानलसँग कुरा गर्दै ट्रम्पले भारतलाई धेरै ट्यारिफ लगाउने देश को संज्ञा दिएका थिए। उनले भनेका थिए, ‘भारत राम्रो व्यापारिक साझेदार होइन, त्यसैले हामी उनीहरूसँग धेरै व्यापार गर्दैनौँ। हामीले २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका थियौँ, तर मलाई लाग्छ अब २४ घण्टाभित्र हामी त्योभन्दा धेरै लगाउनेछौँ।’

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भारतले रुसबाट तेल किनेर युक्रेनमा मानिस मारिरहेको ‘रुसी युद्ध मेसिन’ लाई सहयोग गरिरहेको आरोप लगाएका थिए।

ट्रम्पको चेतावनीको जवाफमा भारतीय विदेश मन्त्रालयले अमेरिका र युरोपेली संघ आफैँले रुससँग व्यापार जारी राखेको तथ्य औंल्याएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका आफैँले आफ्नो आणविक उद्योगका लागि रुसबाट युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारीका लागि प्यालेडियम, मल र रसायन आयात गर्छ।’

भारतले युक्रेन द्वन्द्व सुरु भएपछि परम्परागत तेल आपूर्ति युरोपतर्फ मोडिएकाले विश्व बजारलाई स्थिर राख्न रुसबाट तेल आयात गर्नुपरेको स्पष्ट पारेको छ। ‘त्यतिबेला विश्व तेल बजारको स्थिरताका लागि अमेरिकाले नै भारतलाई यस्तो आयात गर्न प्रोत्साहन गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० श्रावण २०८२ २०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App