अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौसेनालाई विमान वाहक जहाज निर्माणमा ठूलो परिवर्तन गर्न आदेश दिएका छन्।
ह्वाइट हाउसले बिहीबार जानकारी दिएअनुसार अबदेखि नौसेनाले विमान वाहकबाट लडाकु जेटहरू उडाउन आधुनिक इलेक्ट्रोम्याग्नेटिक एयरक्राफ्ट लन्च प्रणाली (इमाल्स) को साटो पुराना ‘स्टीम क्याटापल्ट’ प्रविधि प्रयोग गर्नुपर्नेछ। राष्ट्रपति ट्रम्पले एक राष्ट्रिय सुरक्षा निर्देशन पत्रमा हस्ताक्षर गर्दै फोर्ड क्लासको चौथो जहाज ‘यूएसएस डोरिस मिलर’ मा नयाँ प्रविधि हटाएर पुरानै प्रणाली जडान गर्न निर्देशन दिएका हुन्। यस निर्णयले करदाताको अर्बौं डलर खर्च हुने र यसलाई कार्यान्वयन गर्न थप चुनौतीहरू आउने देखिएको छ।
ट्रम्पले वर्षौंदेखि नै आधुनिक प्रविधिको आलोचना गर्दै आएका थिए। सन् २०१७ मा टाइम पत्रिकासँगको कुराकानीमा उनले नयाँ प्रणाली ‘राम्रो नभएको’ र पुरानो स्टीम प्रविधि नै बढी शक्तिशाली भएको दाबी गरेका थिए। हालै पेन्सिलभेनियाको एक रक्षा सम्मेलनमा पनि उनले भनेका थिए, ‘उनीहरूले विद्युतीय क्याटापल्टमा अर्बौं डलर खर्च गरे तर ती राम्रो छैनन्, धेरै जटिल छन्।’
यो प्रणाली फेरबदलका लागि पेन्टागन र नौसेनाले दुई महिनाभित्र विस्तृत योजना पेस गर्नुपर्नेछ। नयाँ प्रणाली हटाउँदा जहाज सञ्चालनमा बढी जनशक्ति आवश्यक पर्नेछ। तर, हाल नौसेनामा कर्मचारीको अभाव छ र करिब २० हजार पद रिक्त छन्। यस निर्णयप्रति इमाल्स बनाउने कम्पनी ‘जनरल एटोमिक्स’ ले चिन्ता व्यक्त गरेको छ।
कम्पनीका अनुसार डोरिस मिलर जहाजको क्याटापल्ट र अन्य उपकरणको आधा काम सकिसकेको छ, त्यसैले अहिले बिचमै ढाँचा परिवर्तन गर्दा ठूलो लागत, समय र प्राविधिक जोखिम बढ्नेछ। चीन र फ्रान्सजस्ता देशहरूले भने इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रणाली अपनाइरहेका छन्। ट्रम्पको यो कदमले ती देशहरूको अभ्यासभन्दा ठीक विपरीत नौसेनालाई पुराना प्रविधिमा फर्काउन खोजेको देखिन्छ।
यसका साथै, ट्रम्पको नयाँ मेमोले नौसेनालाई पहिलोपटक विदेशमा जहाज निर्माण गर्न अनुमति दिने ढोका पनि खोलेको छ। अमेरिकामा पर्याप्त लगानी गरेका विदेशी जहाज निर्माताहरूलाई तोकिएका सर्तमा जहाज निर्माणको काम दिन सकिने व्यवस्था गरिएको छ। साथै, पनडुब्बी र विमान वाहक मर्मत क्षमता बढाउन पाँचौं नौसेना शिपयार्ड स्थापना गर्न पनि निर्देशन दिइएको छ। एजेन्सी
प्रकाशित: २९ श्रावण २०८३ १७:५३ शुक्रबार


-600x400.jpg)


