अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतिक्षित चीन भ्रमण इरानसँगको जारी युद्धका कारण सरेको छ। अब ट्रम्पले आगामी मे १४ र १५ मा बेइजिङ पुगेर चिनियाँ समकक्षी सी जिनपिङसँग ‘ऐतिहासिक’ शिखर वार्ता गर्ने भएका छन्।
ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भ्रमणको नयाँ तालिका सार्वजनिक गर्दै आफू राष्ट्रपति सीसँग भेट गर्न निकै उत्सुक रहेको भन्दै जानकारी गराएका हुन्। यसअघि अर्को हप्ता (अप्रिल महिना) मा भ्रमण गर्ने तालिका तय गरिएको थियो।
ट्रम्पका अनुसार अमेरिकी प्रतिनिधिहरूले यी ऐतिहासिक भ्रमणहरूको तयारीलाई अन्तिम रूप दिइरहेका छन्। यता, चिनियाँ दूतावासले भने भ्रमणको घोषणाबारे आधिकारिक जानकारी नभएको बताएको छ। बेइजिङले सामान्यतया सीको कार्यतालिका केही दिन अगाडि मात्र सार्वजनिक गर्ने गर्छ।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति सीले इरान युद्धका कारण ट्रम्पको कार्यतालिका परिवर्तन हुनुको कारण बुझेका छन्। उनले भनिन्, ‘राष्ट्रपति सीले बुझे कि ट्रम्पका लागि अहिले यी सैन्य अभियानहरूमा अमेरिकामा रहनु धेरै महत्त्वपूर्ण छ।’
ह्वाइट हाउसले आगामी ४ देखि ६ हप्ताभित्र इरान विरुद्धको सैन्य अपरेसनका मुख्य लक्ष्यहरू पूरा हुन सक्ने र त्यसपछि भ्रमण सम्भव हुने अनुमान गरेको छ।
यसैबिच, इरान युद्धका कारण चीनलाई केही महत्त्वपूर्ण दीर्घकालीन फाइदा पुगिरहेको विज्ञहरूले विश्लेषण गरेका छन्। ब्रुकिङ्स इन्स्टिच्युसनका फेलो जोन सिजिनका अनुसार अमेरिका मध्यपूर्वमा प्रत्यक्ष युद्धमा व्यस्त रहँदा इन्डो-प्यासिफिक क्षेत्रमा उसको सैन्य ध्यान र शक्ति हटेको छ।
सिजिनले भने, ‘अमेरिका मध्यपूर्वमा अल्झिनु बेइजिङका लागि आफ्नो शक्ति सुदृढ गर्ने एउटा ठुलो अवसर बनेको छ। अहिले चिनियाँहरू रणनीतिक रूपमा धेरै दबाबमा छैनन् र उनीहरू ‘सौरोनको नजर’ (कडा अमेरिकी निगरानी) बाट केही समयका लागि टाढा भएका छन्।’
विज्ञहरूका अनुसार चीनले यो द्वन्द्वलाई प्रयोगशालाको रूपमा नजिकबाट अध्ययन गरिरहेको छ। विशेषगरी अमेरिकी सैन्य प्रविधि र प्रत्यक्ष युद्धको कौशललाई हेरेर चीनले आफ्नो ताइवान रणनीतिलाई थप मजबुत बनाउन सक्ने अनुमान गरिएको छ।
ट्रम्पले हर्मुज जलमार्ग पुनः खोल्न चीनसँग सहयोग मागे पनि बेइजिङले अहिलेसम्म कुनै ठोस प्रतिक्रिया दिएको छैन। चीनले आफ्नो रणनीतिक तेल भण्डार पहिले नै सुरक्षित गरिसकेकाले उसलाई यस युद्धमा तत्काल संलग्न हुँदा कूटनीतिक फाइदा नहुने विज्ञ जुड ब्लान्चेट दाबी गर्छन्।
उनले थपे, ‘बेइजिङले अहिलेको चीन पहिलो ट्रम्प प्रशासनको समयको भन्दा फरक र शक्तिशाली रहेको सन्देश दिन खोजिरहेको छ।’
मे महिनामा हुने दुई दिने भ्रमणका क्रममा व्यापार, प्रविधि हस्तान्तरण, एआई सेमीकन्डक्टर र ताइवान जस्ता गम्भीर विषयमा छलफल हुने अपेक्षा गरिएको छ। कुनै ठुलो सम्झौता नभए पनि यो उच्चस्तरीय औपचारिक भ्रमण हुनु नै बेइजिङका लागि कूटनीतिक जित हुने विश्लेषण गरिएको छ।
ट्रम्पले यस वर्षको अन्त्यमा राष्ट्रपति सीलाई वासिङ्टनमा स्वागत गर्ने योजना समेत बनाएका छन्।
गत वर्ष डिसेम्बरमा दुई नेतबिच दक्षिण कोरियाको बुसानमा व्यापार तनाव कम गर्नका लागि भेट भएको थियो। एजेन्सीको सहयोगमा
प्रकाशित: १२ चैत्र २०८२ ११:३० बिहीबार





