कतारको राजधानी दोहामा मंगलबार ठूलो विस्फोटसँगै इजरायली सेनाले हमासका वरिष्ठ नेताहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको घोषणा गरेको छ। हमासका प्रमुख खलील अल-हयालाई निशाना बनाइए पनि उनी बाँचेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणको ‘पूर्ण जिम्मेवारी’ इजरायलले लिएको बताउँदै यसलाई ‘पूर्ण रूपमा उचित’ ठहर गरेका छन्। उनका अनुसार निशाना बनाइएका नेताहरूले गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा प्रत्यक्ष संलग्नता जनाएका थिए।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा भएको आक्रमणलाई लिएर असन्तोष व्यक्त गरेका छन्। उनले भने, ‘म यसबाट धेरै खुसी छैन। यो राम्रो स्थिति होइन, तर हामी बन्धकहरूलाई रिहा गर्न चाहन्छौं।’ उनले मध्यपूर्वको घटनाबारे आफू कुनै पनि कुरामा आश्चर्यचकित नभएको टिप्पणी पनि गरे।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटका अनुसार आक्रमणअघि अमेरिकी प्रशासनलाई इजरायली सेनाले जानकारी गराएको थियो। आक्रमणपछि राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहू, कतारका अमिर र प्रधानमन्त्रीसँगै अमेरिकी विदेश मन्त्री मार्को रुबियो तथा विशेष दूत स्टिभ विटकोफसँग छलफल गरेका थिए।
हमासले भने आक्रमणलाई आफ्ना वरिष्ठ नेतामाथि भएको हत्या प्रयास असफल भएको भनेको छ। पाँच मृतकमध्ये खलील अल-हयाका छोरा हुमाम र उनका कार्यालयका निर्देशक जिहाद लाबाद पनि रहेका छन्। संगठनले अमेरिकालाई समेत इजरायलसँगै आक्रमणको लागि जिम्मेवार मानेको छ।
कतारले आक्रमणलाई ‘कायरतापूर्ण’ र ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ भन्दै कडा निन्दा गरेको छ। आक्रमणको समयमा हमासको वार्ता टोली गाजामा युद्धविरामको अमेरिकी प्रस्तावबारे छलफल गरिरहेको बताइएको छ। एजेन्सी
प्रकाशित: २५ भाद्र २०८२ १२:२६ बुधबार





