२० श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिल्टन होटल गोलीकाण्डपछि बाहिरिए ट्रम्प, ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै

ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोज आयोजना भइरहेको वासिङ्टन डिसीस्थित हिल्टन होटलभित्र गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन्।

सुरक्षा प्रोटोकलअनुसार कार्यक्रम स्थल खाली गराइएपछि उनले ३० मिनेटभित्र प्रेस ब्रिफिङ रुमबाट सम्बोधन गर्ने बताएका हुन्।

घटनालगत्तै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भने, ‘कानून प्रवर्तनले हामीलाई प्रोटोकल अनुसार परिसर छोड्न अनुरोध गरेको छ, जुन हामी तुरुन्तै गर्नेछौं। म ह्वाइट हाउसको प्रेस ब्रिफिङ कोठाबाट ३० मिनेटमा पत्रकार सम्मेलन गर्नेछु।’ उनले प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति र सबै मन्त्रिपरिषद् सदस्यहरू पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको जानकारी समेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले सुरक्षा कारणले स्थगित भएको वार्षिक प्रेस डिनर आगामी ३० दिनभित्र पुनः आयोजना गरिने बताए। उनले कार्यक्रमका जिम्मेवार प्रतिनिधिहरूसँग कुरा गरिसकेको र नयाँ तालिका छिट्टै तय गरिने उल्लेख गरे। यसअघि उनले संदिग्ध पक्राउ परेपछि कार्यक्रम जारी राख्न सिफारिस गरे पनि सुरक्षा निकायको सल्लाहमा भवन खाली गरिएको हो।

ट्रम्पले गोप्य सेवा (सेक्रेट सर्भिस) र कानून प्रवर्तन निकायहरूको सक्रियताको प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘डीसीको गोप्य सेवा र कानून प्रवर्तनले उत्कृष्ट काम गरे। उनीहरूले छिटो र साहसका साथ काम गरे।’

अमेरिकी गोप्य सेवाका सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले मेट्रोपोलिटन प्रहरी विभागसँगको समन्वयमा मुख्य स्क्रिनिङ क्षेत्र नजिकै भएको गोलीबारीको अनुसन्धान भइरहेको बताए। उनले राष्ट्रपति र प्रथम महिलासहित सबै संरक्षित व्यक्तिहरू सुरक्षित रहेको पुष्टि गरेका छन्।

अधिकारीहरूका अनुसार एक जना व्यक्ति हिरासतमा रहेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको सम्बोधन स्थानीय समय समयअनुसार राति १०:१५ बजे हुने जानकारी दिएकी छन्। सहभागीहरू र संलग्नहरूको विस्तृत अवस्थाबारे अनुसन्धान जारी रहेको सुरक्षा निकायले जनाएको छ। एजेन्सी

प्रकाशित: १३ वैशाख २०८३ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App