१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुज नखुले पनि इरान युद्ध अन्त्य गर्न ट्रम्प इच्छुक भएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान छिट्टै अन्त्य गर्न आफू इच्छुक रहेको बताएका छन्। 

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूसँग कुरा गर्दै स्ट्रेट अफ होर्मुज बन्द रहे पनि युद्ध रोक्न चाहेको संकेत गरेका छन्। उनले जलमार्ग पूर्ण रूपमा खोल्ने जटिल कार्य पछिका लागि छोड्ने सम्भावना देखाएका हुन्।

ट्रम्प प्रशासनले जलमार्ग पुनः खोल्ने अभियान चारदेखि छ हप्ताभन्दा बढी लम्बिन सक्ने निष्कर्ष निकालेको छ। कूटनीतिक दबाब दिनुअघि अमेरिकाले इरानको क्षेप्यास्त्र र जलसेनालाई ध्वस्त पार्ने रणनीति बनाएको थियो। इरानले होर्मुज मार्ग अवरुद्ध गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको छ। अमेरिकामा पनि इन्धनको मूल्य तीन वर्षयताकै उच्च भएको छ।

सोमबार युद्ध अन्त्यका लागि वार्तामा ‘ठूलो प्रगति’ भएको दाबी गरेका ट्रम्पले चेतावनी दिँदै भनेका थिए, ‘यदि सम्झौता भएन र स्ट्रेट अफ होर्मुज तुरुन्त व्यापारका लागि खुला भएन भने अमेरिकाले इरानका सबै बिजुली प्लान्ट, तेलका इनार र खर्ग टापु लाई पूर्ण रूपमा नष्ट गर्नेछ।’ 

यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विरुद्धको युद्धमा आधाभन्दा बढी लक्ष्य हासिल गरिसकेको बताएका छन्। उनले न्युजम्याक्ससँग कुरा गर्दै भने, ‘इजरायल र संयुक्त राज्य अमेरिका इरानको हतियार उद्योग, औद्योगिक आधार र आणविक कार्यक्रम सफाया गर्ने नजिक छन्।’ नेतान्याहुले इरानी शासन आन्तरिक रूपमै पतन हुने विश्वास समेत व्यक्त गरेका छन्।

इरानका कैयौँ शीर्ष नेताहरूको हत्याले वार्ता प्रक्रिया जटिल बनेको छ। अमेरिकी अधिकारीहरूका अनुसार नेतृत्व तहमा भएको क्षतिका कारण तेहरानको निर्णय गर्ने क्षमतामा बाधा पुगेको छ। राष्ट्रपति ट्रम्पले इरानमा ‘नयाँ र अधिक तार्किक’ नेतृत्वसँग वार्ता भइरहेको दाबी गरे पनि कट्टरपन्थी सभामुख मोहम्मद बाघर गालिबाफसँगको संवाद चुनौतीपूर्ण देखिएको छ। एजेन्सी

प्रकाशित: १७ चैत्र २०८२ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App