अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा उनले यी सञ्चारमाध्यमले आफू र आफ्नो प्रशासनबारे लगातार ‘झुटा समाचार’ प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै तत्काल लागू हुने गरी प्रतिबन्ध लगाउने बताएका हुन्। उनले यस्तै कदम अन्य सञ्चारमाध्यममाथि पनि चाल्न सकिने संकेत गरेका छन्।
ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरू झुटा समाचार हुन्। तपाईं झुटा समाचार पढेर र हेरेर थाकिसक्नुभएको छ। सीएनएन हेर्नुहोस्, त्यहाँ झुटा समाचार मात्रै हुन्छ।’
पोलिटिकोले प्रकाशन गरेका समाचार पनि झुटा भएको दाबी गर्दै उनले देशमा इमानदार समाचार आवश्यक रहेको बताए। प्रतिबन्ध कसरी लागू गर्ने भन्नेबारे भने उनले कुनै थप विवरण दिएका छैनन्।
ट्रम्पको घोषणापछि पनि शुक्रबार अपराह्नसम्म सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरू ह्वाइट हाउस परिसरमै थिए। उनीहरूलाई त्यहाँबाट हटाइएको कुनै संकेत नदेखिएको एपीले जनाएको छ।
सीएनएनले ट्रम्पको घोषणाको विरोध गर्दै आफूले निष्पक्ष र तथ्यपूर्ण समाचार सम्प्रेषण गर्ने अधिकार संविधानले दिएको बताएको छ। प्रतिबन्ध कार्यान्वयन भएमा त्यसले संविधानले सुनिश्चित गरेको अधिकारमाथि गैरकानुनी हस्तक्षेप हुने सीएनएनले जनाएको छ।
पोलिटिकोले पनि ह्वाइट हाउस र आगामी प्रशासनबारे निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिरहने बताएको छ। उसले आफ्नो संवैधानिक अधिकार सीमित गर्ने प्रयासको विरोध गर्ने जनाएको छ। एमएस नाउले भने प्रतिबन्धबारे तत्काल प्रतिक्रिया दिएन।
ट्रम्प र सञ्चारमाध्यमबिचको यो पछिल्लो विवाद हो। यसअघि पनि उनले विभिन्न सञ्चारमाध्यमसँग ह्वाइट हाउसको पहुँच, समाचार सामग्री र कानुनी विषयमा विवाद गर्दै आएका छन्। गत वर्ष एसोसिएटेड प्रेसका पत्रकारलाई पनि ओभल अफिस, राष्ट्रपतिको विमान र अन्य कार्यक्रममा पहुँच रोकिएको थियो। त्यस विषयमा मुद्दा चलिरहेको छ।
सञ्चारमाध्यममाथि पछिल्लो घोषणालाई लिएर राष्ट्रिय प्रेस क्लबलगायत संस्थाहरूले पनि प्रश्न उठाएका छन्। सन् १९७७ को एक अदालती फैसलामा ह्वाइट हाउसले पत्रकारको समाचार सामग्रीका आधारमा प्रेस पहुँच रोक्न नसक्ने व्यवस्था गरिएको छ। एजेन्सी
प्रकाशित: ३ आश्विन २०८३ ०६:५७ शनिबार





