४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यी हुन् युक्रेन युद्धबारे ट्रम्प-जेलेन्स्की बैठकमा सहभागी हुने सात युरोपेली नेता

फाइल तस्बिर : एएफपी

युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टन भ्रमण गर्ने भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा सोमबार वासिङ्टनमा भेटवार्ता हुने कार्यक्रम छ। 

यो बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, नेटो महासचिव मार्क रुट, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयन सहभागी हुनेछन्।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत शुक्रबार अलास्कामा शिखर सम्मेलन गरेका थिए। उक्त बैठकले कुनै सम्झौतामा पुग्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम असम्भव देखिएको बताएका थिए। उनले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविरामका सम्झौताहरू अक्सर रोकिँदैनन्। रुस र युक्रेनबिचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय भनेको सीधै शान्ति सम्झौतामा जानु हो जसले युद्धको अन्त्य गर्नेछ।’

युक्रेन र यसका युरोपेली सहयोगीहरूले पुटिनको अडानलाई समय खर्च गर्ने तर रुसको युद्धभूमिको प्रगतिलाई अघि बढाउने नयाँ रणनीतिको रूपमा आलोचना गरेका छन्। जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमा लेखे, ‘यो परिवर्तनले परिस्थितिलाई जटिल बनाएको छ। यदि मस्कोमा आक्रमण रोक्नका लागि सरल आदेश जारी गर्ने इच्छाशक्ति छ भने रुसले दशकौंसम्म आफ्ना छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने धेरै प्रयास गर्न सक्छ।’

बेलायतका प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट युक्रेनबारे ट्रम्पसँग बृहत् छलफल गर्न र उनलाई युक्रेनको पक्षमा उभ्याउने माहोल सिर्जना गर्न वासिङ्टन पुग्नेछन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले जेलेन्स्कीलाई आइतबार ब्रसेल्समा हुने बैठकका लागि स्वागत गर्ने बताएकी छन्। इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब पनि वासिङ्टन जानेछन्।

जर्मन सरकारले मर्जको अमेरिका भ्रमण पुष्टि गर्दै जर्मनीले ‘युक्रेनमा द्रूत शान्ति सम्झौतामा चासो राख्ने’ प्रयास गर्ने बताएको छ। अलास्काबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई पुटिनसँगको छलफलबारे जानकारी गराउने बताइएको छ। युरोपेली नेताहरूले सुरुदेखि नै पुटिनसँग ट्रम्पको सम्पर्कप्रति असहजता व्यक्त गर्दै आएका छन्। एजेन्सी

प्रकाशित: १ भाद्र २०८२ २१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App