१७ आश्विन २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यी हुन् टिभी कार्यक्रम हेरेर फ्लाईदुबई विमानमा के गर्ने भनेर थाहा पाएका इजरायली यात्रु

विमान दुर्घटनासम्बन्धी टिभी कार्यक्रम हेरेका एक इजरायली यात्रुले फ्लाईदुबईको विमान उडानका क्रममा नाकतिरबाट तल झर्न थालेपछि त्यसलाई कसरी सम्हाल्ने भन्ने थाहा भएको बताएका छन्।

बुधबार फ्लाईदुबईको उडान एफजेड १०७३ मा सवार ५० वर्षीय यानिभ हयुनले विमानमा आक्रमण भएपछि को-पाइलट (हमाम अल-हमामी) लाई नियन्त्रणमा लिन अन्य यात्रुलाई सहयोग गरेका थिए। त्यसपछि उनले विमानको स्टेयरिङ नियन्त्रण तानेर विमानलाई स्थिर बनाउन सहयोग गरेका थिए। विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य थिए। घटनापछि विमानलाई साउदी अरबको ताबुकमा सुरक्षित अवतरण गराइएको थियो।

हयुन आफ्नी श्रीमती र दुई छोरीसँग यात्रा गरिरहेका थिए। उनका आफन्त असफ चेनले हयुनको ढल पम्पिङ कम्पनी रहेको बताए। साउदी अरबबाट इजरायलको बेन गुरियन विमानस्थल पुगेपछि हयुनले विमानभित्र भएको घटनाबारे बताएका हुन्।

‘एक महिलाले छुरा प्रहार भएको भन्दै चिच्याइन् र त्यसपछि विमान हल्लियो। त्यसपछि आक्रमण भएको थाहा भयो। म त्यही बेला ककपिटतिर दौडिएँ र विमान तलतिर झुक्न थाल्यो,’ उनले भने। हयुनका अनुसार घाइते क्याप्टेन (स्मित मच्छार) ले ढल्नुअघि ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि उनी र अन्य यात्रुले को-पाइलटलाई नियन्त्रणमा लिए।

‘एक जना पाइलट ढलिसकेका थिए र अर्को नियन्त्रणमा थिए। अर्को एक जना व्यक्ति पनि मसँगै ककपिटमा आए। मैले आक्रमणकारीलाई समातेर नियन्त्रणमा लिएँ र बाहिर निकालेँ,’ हयुनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा भने।

को-पाइलटलाई नियन्त्रणमा लिएपछि हयुन फेरि विमानको स्टेयरिङ नियन्त्रणतिर फर्किए। त्यतिबेला उनको शर्टमा झडपका क्रममा लागेको रगत देखिएको थियो। विमान नियन्त्रणमा लिनुअघि के गर्ने भन्ने कसरी थाहा भयो भनेर सोध्दा हयुनले नेतान्याहूलाई भने, ‘म हवाई दुर्घटना अनुसन्धानसम्बन्धी टिभी कार्यक्रम हेर्छु।’

दाबीअनुसार हयुन र अन्य तीन इजरायली यात्रुले को-पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। अर्का चालक दलका सदस्यले विमानको नियन्त्रण लिएर ताबुकमा सुरक्षित अवतरण गराएका थिए।

विमानमा रहेका अन्य यात्रुले पनि घटनाका क्रममा को-पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। इजरायली बैंकका कार्यरत ज्विका मानेसले को-पाइलटलाई बाँध्न विमान कम्पनीका इयरफोन प्रयोग गरिएको बताए।

घटनामा घाइते भएका भारतीय क्याप्टेन मच्छारको उपचार भइरहेको छ। विमानमा रहेका बाँकी यात्रु र चालक दलका सदस्यलाई अर्को उडानमार्फत इजरायल पुर्‍याइएको थियो।

घटनामा सहयोग गरेका अर्का यात्रु असफ राजुआनले आफूलाई नायक नठान्ने बताउँछन्। ‘म नायक होइन। आफ्नी छोरी, परिवार, श्रीमती र विमानमा रहेका सबैको ज्यान बचाउन दौडिनु त्यस्तो काम हो, जुन सोचेर गरिँदैन। तपाईं सोच्नुहुन्न, केवल काम गर्नुहुन्छ,’ उनले विमानस्थलमा भने।

को-पाइलटमाथि ‘आतंकवादी कार्य’को आरोप
यसैबिच, संयुक्त अरब इमिरेट्स (युएई) का महान्यायाधिवक्ता हमाद सैफ अल-शम्सीले फ्लाईदुबईका को-पाइलटले विमानमा ‘आतंकवादी कार्य’ गर्ने प्रयास गरेको बताएका छन्।

अधिकारीहरूका अनुसार को-पाइलट ओमानी नागरिक हुन्। उनले ककपिटमा आपत्कालीन बन्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गरेको र विमानको नियन्त्रण कब्जा गर्ने प्रयास गरेको युएईका महान्यायाधिवक्ताले बताएका छन्। घटनाको उद्देश्य र सम्भावित सम्बन्धबारे अनुसन्धान भइरहेको छ।

आक्रमणपछि विमान ३० सेकेन्डभन्दा केही बढी समयमा १६ हजार फिटभन्दा बढी तल झरेको थियो। घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र चालक दलका सदस्यले भित्र प्रवेश गरेर को-पाइलटलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि विमानमा रहेका अर्को चालक दलले नियन्त्रण लिएर ताबुकमा सुरक्षित अवतरण गराएका थिए।

साउदी अरबमा पक्राउ परेका को-पाइलटलाई पछि युएई लगिएको छ। अब युएई र इजरायली अधिकारीले घटनाबारे संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। इजरायली अधिकारीले पनि उनीसँग सोधपुछ गर्ने तयारी गरेका छन्। एजेन्सी

प्रकाशित: १७ आश्विन २०८३ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App